बलात्कार आरोपीलाई थुनामा राख्न उच्च अदालतले यस्तो आदेश दियोः जिल्लाको आदेश त्रुटिपूर्ण

बलात्कारपछि बेच्ने प्रयास

काठमाडौं । जिल्ला अदालत दोलखाले बलात्कार मुद्दाका अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालत पाटनले थुनामा राखेर मुद्दा चलाउन आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीश राजकुमार बम र नातिबाबु लामिछानेको संयुक्त इजलासले १६ वर्षकी किशोरी बलात्कारको मुद्दामा धरौटीमा छुटेका इराज गिरीलाई पुनः थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

दोलखाकी १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका इराज गिरीलाई जिल्ला अदालतले ६५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलासले २७ वैशाख ०७५ मा गरेको आदेश उच्च अदालतले बदर गरिदिएको हो ।

छुटेपछि गाउँमा अबिरजात्रा र भोज

जिल्ला अदालतको आदेशपछि किशोरी गाउँ जान सकिनन् । आदेशपछि उनी दिदीको घर काठमाडौंमा छिन् । अभियुक्तलाई धरौटीमा छाड्ने आदेश भएपछि उनी सिन्दुरजात्रा गर्दै गाउँ गए । जिल्ला अदालत दोलखाको आदेशले सामान्य धरौटीमा छुटेपछि इराजले गाउँमा दुईवटा खसी काटेर गाउँलेलाई भोजसमेत खुवाएका थिए । पञ्चेबाजा बजाएर घरभित्रै अबिरजात्रा गरेर गाउँ पसे । तर, बलात्कारको मुद्दामा जिल्ला अदालतबाट पीडित बनेपछि किशोरी भने घर जान सकेकी छैनन् ।

बलात्कारपछि बेच्ने प्रयास

अभियुक्त गिरीले ३ फागुन ०७४ मा गोठबाट फर्कंदै गर्दा १६ वर्षकी किशोरीलाई बलात्कार गरेका थिए । बलात्कारको सिकार भएकी किशोरीले महिनावारी रोकिएपछि अभियुक्त गिरीलाई बताइन् । अभियुक्त गिरीले उपचारका लागि काठमाडौं जाऔँ भनेर भारततर्फ लैजाँदै गर्दा काँकडभित्ता पुर्‍याएपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्त गिरीसहित किशोरीलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याइयो । प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले इराजविरुद्ध दुईवटा मुद्दामा सजाय माग गरे । बलात्कार मुद्दामा पीडितको उमेर १६ वर्ष मात्रै भएकाले ८ वर्षसम्मको कैद र किशोरीलाई शोषण गरेको अभियोगमा २ वर्ष कैद सजाय माग गरे । सीमानजिकबाट पक्राउ परेका उनलाई मानव बेचबिखन मुद्दामा २० वर्ष सजाय माग हुनुपर्नेमा शोषण मात्रै गरेको भनी २ वर्ष मात्रै सजाय माग गरियो ।

जिल्ला न्यायाधीश विष्टले घटनालाई सामान्य रूपमा लिएर सामान्य धरौटीमा छाड्ने आदेश दिए । जिल्ला अदालतमा भएको बलात्कारको मुद्दाको सुनुवाइका क्रममा अभियुक्त इराजले आफूहरूको प्रेम सम्बन्ध रहेको र उनकै योजनामा भारत जान लागेको बयान दिए ।

इराजकै बयानका आधारमा उनलाई ६५ हजार धरौटीमा छाड्न आदेश दिइएको थियो । यो समाचार निराजन पौडेलले आजको नयाँ पत्रिकामा लेखेका छन ।