सहिदको बलिदानले मलुकमा आमूल परिवर्तन आयोः प्रचण्ड

गाउँ गाउँसम्म विकास पुर्याउन सुझाव

म्याग्दी । सत्ताँरुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका निम्ती महान सहिदहरुको बलिदानी र योगदानका कारण आज मुलुकमा आमूल परिवर्तन आएको बताएका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–२, सिमलचौर स्थित तत्कालीन जनयुद्धका कमाण्डर समेत रहेकी सहिद परिवारकी सदस्य गुमा कुमारी खड्कासँगको भेटका क्रममा आज प्रचण्डले त्यस्तो बताएका हुन् ।

सहित परिवारसँगको भेटका क्रममा कुराकानी गर्दै प्रचण्डले लामो संघर्ष र बलिदानीले मात्रै स्थानीय, प्रदेश र संघीय तहको सरकारको परिकल्पनाले सार्थक पाएको बताए । प्रचण्डले सहिदको सपना खेर नजाने भन्दै उनलाई विश्वस्त पारे ।

नेताहरुसँगको भेटका क्रममा जनयुद्धमा परिवारको दुई सदस्य गुमाएकी ५५ वर्षीय खड्काले विकासका योजना गाउँ गाउँमा पुर्याउनु पर्ने भन्दै विगतको स्मरण समेत गरिन ।

उनले भनिन–‘जनयुद्धमा परिवार गुमायौँ, अहिले मुलुकमा परिवर्तन आएको छ, अब विकास हुनुपर्छ ।’ उनले आफ्नै घरमा नेताहरुलाई भेट्न पाउँदा खुशी समेत व्यक्त गरिन ।

नेकपाका संस्थापक पार्टी सदस्य नन्द बहादुर (गुमाका पति) लाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँमा र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते तत्कालीन राज्य पक्षले शिखमा गिरप्तार हत्या गरेको थियो ।

प्रचण्ड पत्नी सिता दाहालको नसासम्बन्धी उपचारका लागि तातोपानी कुण्ड जाने क्रममा साथमै गएका गृहमन्त्री रामबहादुर थापा सहितले सहिद परिवारसँगको भेट गरेका हुन् ।