भिडियोमा हेर्नुहोस्, गुलरिया–बारबर्दिया जोड्ने जब्दिघाट पुल निर्माणबारे छलफलः काम चाडै शुरु हुने

नदि व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन

बर्दिया । बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट बारबर्दिया नगरपालिका जोड्ने बाटोमा रहेको जब्दिघाट पुल भत्किएका कारण जनताले सास्ती भोग्नु परेको भन्दै प्रदेश सभा सदस्य तिलकराम शर्मा ‘हिमाल’ ले उक्त पुल निर्माणका लागि पहल भैरहेको बताएका छन् ।

बर्दिया क्षेत्र नम्बर एक, ख बाट निर्वाचित शर्माले हरपल नेपालसँगको कुराकानीका क्रममा उक्त पुलको निर्माणका विषयमा भौतिक निर्माणमन्त्रालयसँग छलफल भएको जनाउँदै त्यस्तो बताएका हुन ।

प्रदेश सदस्य शर्मा लगायतको एक टोलिले हिजो (बुधबार) जब्दिघाट पुल र हुलाकी सडकको निर्माणको विषयमा हिजो भौतिक पूर्वाधारमन्त्री रघुबिर महासेटसँग छलफल गरेको छ ।

मन्त्रीसँगको भेटघाटका क्रममा पुलको निर्माणका विषयमा भएको कुराकानीबारे बताउँदै शर्माले भने–‘जब्दिघाट पुलको निर्माणका विषयमा हामीले कुरा गर्यौ, मन्त्रीज्युले यहीँ २४ गते बर्दिया पुगेर प्रत्यक्ष निरिक्षण गरेपछि अल्पकालिन र दृर्घकालिन रुपमा के के गर्न सकिन्छ, गरौंला भन्दै सकारात्मक प्रतिकृया दिनुभयो, मलाई लागछ त्यो पुल निर्माणको काम चाडैं शुरु हुन्छ ।’

मन्त्रीसँगको भेटमा आफुले जब्दिघाट पुलको समस्या र त्यसको समाधानको लागि दुई वटा विकल्प राखेको उनले बताए ।

शर्माका अनुसार जब्दिघाटमा तत्काल अस्थायी व्यवस्थाको लागि बेलिब्रिजको बनाउँने र दिर्घकालिन व्यवस्थाको लागि पुरानो पुलको जगनै काम नलाग्ने देखिएकाले त्यसको ठाउँमा अर्को नयाँ पुल निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारीएको छ ।

सडक निर्माणको क्रममा पुल बनाउँदा नदिको सबै भन्दा साँघुरो ठाउँ हेरेर बनाउने गरिएकाले बर्षातमा पानीको बहावसँगै पुलको छेउँछाउँबाट कटान भएकाले समस्या देखिने गरेको भन्दै उनले दिगो र टिकाउ हुने ढंगले पुल निर्माणमा आफ्नो जोड रहेको बताए ।

नदिको कटान र बाढीका कारण बर्दियाको जिल्ला धेरै सम्भावना भएपनि अपेक्षित गतिमा विकास प्रकृया अघि नबढेको भन्दै उनले जिल्लाका विभिन्न स्थानमा नदि व्यवस्थापन र पुलको निर्माणको कार्यक्रम सञ्चालन भैरहेको बताए ।

बर्दियाको राजापुरबाट कैलाली टिकापुर जोड्ने सतिघाटपुल, कोठियाघाटको पुल सम्पन्न भएपनि त्यसमा समेत केही संरचना थप्नुपर्ने अवस्था रहको र सतिघाटको पुलमा एउटा स्पात थप्नै पर्ने भएकाले त्यो विषयमा समेत मन्त्रालयमा छलफल भएको उनले बताए ।

पुल भत्किएपछि नदि पारीका क्षेत्रहरुमा यातायात सुचारुमा समस्या रहेको र विद्यालय पढ्न जाने विद्यार्थी, बालबालिकालार्य अत्यन्त गाह्रो भएको भन्दै उनले त्यसको निर्माण चाडै सम्पन्न गर्नका लागि आफ्नो जोड रहेको उनको भनाई छ ।

पप्पुकन्ट्रक्सनको ठेक्कामा निर्माण भएको गुलरिया बारबर्दिया जोड्ने उक्त जब्दिघाट पुलको औपचारिक उद्घाटन नहुँदै भत्किएपछि बर्षातमा त्यहाँ आवागमनमा समस्या हुने गरेको छ ।