दैनिक २ करोड घाटामा नेपाल आयल निगमः अन्तराष्ट्रिय बजार अनुसार मुल्य नबढाउन निर्देशन

चार महिनामा ६० अर्ब मूल्यको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । दशैंअघिदेखि नै पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य अनुसार मूल्य समायोजन गर्न नसक्दा नेपाल आयल निगमलाई हाल दैनिक दुई करोड रुपैया घाटा परिरहेको उसले जनाएको छ।

जसमा सबैभन्दा धेरै घाटा खाना पकाउन प्रयोग गरिने एलपिजी ग्यासमा भएको अधिकारीहरूले बताएका छन्।

बर्सेनि एक खर्ब रुपैयाँ भन्दा धेरैको आयात गरिनुपर्ने पेट्रोलियम पदार्थको कारण पनि व्यापार घाटा चुलिँदै गएको छ।

चाडपर्वका बेला सर्वसाधारणलाई मारमा नपार्न भन्दै प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता संसदीय समितिले नेपाल आयल निगमलाई अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार इन्धनको मूल्य निर्धारण नगर्न निर्देशन दिएको थियो।

जसका कारण असोज २ गतेपछि निगमले इन्धनको मूल्यमा परिवर्तन गरेको छैन। त्यसकारण करोडौँ रुपैयाँको घाटा भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताए।

उनले भने-‘नोभेम्बर ३० सम्म हामीलाई दैनिक २ करोड रुपैयाँ भन्दा बढि घाटा भएको छ। अन्तर्राष्ट्रिय रुपमा एकदमै बढेको मूल्य अनुसारको हामीले बजार भाउ राख्न नपाएकोले पछिल्ला दुई महिनामा झण्डै ३ अर्ब जस्तो नोक्सान भएको छ। यस आर्थिक वर्षको साउन महिना देखि अहिलेसम्म निगमलाई करिब ४ अर्बको नोक्सान भएको छ।’

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपालमा मूल्य नघटाएको भन्ने टिप्पणी भइरहँदा निगमले आफ्नो त्यस्तो हालत दर्शाएको हो।

घाटा निगमभित्रै रहेको एउटा कोषबाट पूर्ति गर्न लागिएको भट्टराईको भनाइ छ-‘चाडपर्वका बेला भनेर हामीले अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य नबढाएका कारण भएको नोक्सान मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने मन्त्रालयसँग सहमति भएको छ। कोषमा केही रकम छ।’

यस आर्थिक वर्षको चार महिनामा झण्डै ६० अर्ब रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ। अघिल्लो वर्ष त्यसअवधिमा करिब ४० अर्ब रुपैयाँको आयात गरिएको थियो। पेट्रोलियम पदार्थ माथीको परनिर्भरता कम गर्नु पर्ने कतिपय जनाकारहरु बताउँछन्।

एक अर्थशास्त्री केशव आचार्य भन्छन-‘यति ठूलो सहरमा चल्ने सार्वजनिक यातायात मात्र विद्युतमा सार्‍यौँ भने पनि धेरै आयात नियन्त्रण गर्न सकिन्छ। यस्तै धेरै ऊर्जा खपत गर्ने उद्योगहरूलाई अलिकति बढि मूल्य लिएर भएपनि बिजुली दिन सक्यो भने उनीहरूले नचाहिँदो रुपमा डिजेलबाट विद्युत निकाल्नु पर्देनथ्यो। यस्तो काम गर्न ढिलो भइसक्यो।’

हरेक महिना पेट्रोल ४ करोड लिटर र डिजल झण्डै १३ करोड लिटर खपत हुने गरेको बताइन्छ। बीबीसीबाट