अझै फुकेन कांग्रेस भित्रको आन्तरिक विवादः केन्द्रीय समितिको बैठक शुरु नहुँदै स्थगित

नेताहरुको आ–आफ्नै अडानः बैठक भोलि ९ बजेका लागि फेरी डाकियो

काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन प्रस्तावबारे छलफलका लागि बोलाईएको केन्द्रीय समितिको बैठक आन्तरिक विवाद मिलाउन नसकेपछि स्थगित भएको छ ।

आन्तरिक सहमति जुटाउन आज बोलाइएको बैठकमा केही नेताहरुले पार्टी पदाधिकारी चयन समावेशी हुनुपर्ने लगायतका मागमा बढि समय खर्च गरेसँगै स्थगित भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने नेताहरु महेन्द्र यादव, वीरबहादुर बलायर, सीता गुरुङ, मोहन बहादुर बस्नेत लगायतले पदाधिकारीमा आरक्षणको कोटा (समावेशी) हुनुपर्ने माग उठाउँदै आएका छन् ।

स्थगित भएको बैठक बिहीबार (भोली) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सल्लाह भएको कांग्रेस नेताहरुले जनाएका छन ।

आजको बैठक साढे ६ बजेको लागि संसदीय दलको कार्यालयमा राखिएको भएपनि दुई घण्टा ढिला गरी साढे आठ बजे मात्र नेताहरु जुटेका थिए । तर केही शीर्ष नेताहरू बैठकस्थलबाट बाहिर थिए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, वरिष्ट नेता रामचन्द्र पौडेल लगायतका नेता उपस्थित भएपनि नेताहरू प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला भने अनुपस्थित थिए ।