’लमजुङको एउटा फलफूल बगौंचा जहाँ, चार करोडको स्याउ उत्पादन हुन्छ’

सार्क राष्ट्रकै सबैभन्दा ठूलो बगैँचा भएको दावी

लमजुङ । मनाङको एउटा बगैँचामा चार करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । यो स्याउ बगैँचा सार्क राष्ट्रकै सबैभन्दा ठूलो भएको दाबी गरिएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङमा एग्रो मनाङ प्रालिले ४५० रोपनी जग्गामा चार सय मेट्रिक टन स्याउ फलाएको छ ।

प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा गाला, गोल्डेन, फुजी जातका स्याउ लगाइएको छ ।

गाला प्रतिकिलो १४० रुपियाँ, गोल्डेन प्रतिकिलो एक सय रुपियाँ र फुजी प्रतिकिलो १७० रुपियाँमा होलसेल बिक्री भइरहेको उनले बताए ।

त्यहाँ स्याउ औसतमा प्रतिकिलो ११० रुपियाँदेखि १३० रुपियाँमा बिक्री हुन्छ । चार सय मेट्रिक टन स्याउ औसत प्रतिकिलो १२० रुपियाँका दरले बिक्री गर्दा चार करोड ८० लाख हुन्छ ।

यसमा ५० मेट्रिक टन जति बिग्रने, बाँकी रहनेलगायत समस्या हुनसक्छ । ३५० मेट्रिक टन स्याउ बजारमा पु¥याउँदा चार करोड २० लाख आम्दानी हुन आउँछ,गुरुङले भने ।

उत्पादित स्याउ बजारमा ६० प्रतिशत बिक्री भइसकेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार मनाङ, लमजुङको बेँसीसहर र काठमाडौँमा कोल्ड स्टोर छ ।

मनाङबाट काठमाडौँ र बेँसीसहरमा लगिएको र बिक्री गर्ने क्रममा रहेको छ । हाम्रो स्याउ नेपालभर बिक्री हुन्छ । यस वर्षदेखि पूर्वपश्चिमसम्म पुग्न थालेको छ, उनले बताए । बेलिना थापा/रासस