शिव श्रेष्ठ नेवा राष्ट्रिय मुक्ति मोर्चाको महासचिवमा चयनः जनपरिचालनदेखि आमहडतालसम्मका कार्यक्रम सार्वजनिक

मोर्चाको राष्ट्रिय भेला बैशाख अन्तिम हप्तामा गर्ने निर्णय

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकटको नेवा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय महासचिवमा शिव श्रेष्ठ र उपाध्यक्षमा सुरेश श्रेष्ठ चयन भएका छन । समितिको बैठकले आदिवासी जनजातिका साझाँ मुद्धामा आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बुद्धनगरमा मंगलबार सम्पन्न नेवा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पूर्ण वैठकले श्रेष्ठलाई महासचिवमा चयन गरेको हो ।

महासचिवमा चयन भएसँगै श्रेष्ठले सरकारका गलत हर्कतका विरुद्ध नेवा मुक्ति मोर्चा संघर्षको मैदानमा उत्रिने बताए ।

मोर्चाको महासचिव भएका श्रेष्ठले बैठकमा आफ्नो परिचय र नेवाः मोर्चामा आबद्ध हुनुका कारणसहित मन्तव्य राख्दै आदिवासी नेवाः जाति सबैभन्दा ठूलो जातीय उत्पीडनमा परेको भन्दै जातिय अधिकारका लागि संघर्षमा उत्रिनुको विकल्प नभएको दोहोर्याए ।

महासचिव श्रेष्ठले नेवाः जाति लोप हुने अवस्थामा त पुग्ने होइन भन्ने गम्भीर चिन्ता लागेको भन्दै त्यसका लागि सबै ठाउँमा छरिएर रहेका नेताः जनजातिहरुलाई क्रान्तिकारी माओवादीले लिएको राजनैतिक बाटो मार्फत संघर्षमा आउँन आह्वान समेत गरे ।

मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकसँगै विभिन्न समूक छाडि क्रान्तिकारी माओवादी निकटको उक्त मोर्चामा ध्रुवीकरणको कार्यक्रम राखिएको थियो । शिव श्रेष्ठ, नरेन्द्रमान श्रेष्ठ र दशराज शाक्यलाई मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले स्वागत गरेका थिए ।

वैठकमा मोर्चाका अध्यक्ष पवलमानले शुरुको बैठकदेखि अहिलेसम्मको संक्षिप्त रुपमा रिपोर्ट पेस गरेकाथिए भने बैठकमा उपस्थित केन्द्रीय समिति सदस्यहरुले अनुभुतिसहितको आआफ्नो कार्यक्षत्रको संक्षिप्त रिपोर्ट पेस गरे ।

मोर्चाका अध्यक्षले बैठकमा पेश गरेको ‘तात्कालिक राजनैतिक तथा सांगठनिक प्रस्ताव᾽ पाश भएसँगै मोर्चाले संघर्षका कार्यक्रमको तयारी बारे छलफल चलाएको थियो ।

उक्त रिपोर्टमा ओली नेतृत्वको सरकार बदनाम र असफल भएको, मुलुकमा वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय र सामुदायिक उत्पीडन यथावत कायम रहेको, भारतीय विस्तारवादका कारणले आन्तरिक राष्ट्रियता गंभीर संकटमा रहेको उल्लेख गरिएको छ ।

रिपोर्टमा भनिएको छ–‘वर्तमान संविधान र ब्राह्मणवादी ओली नेतृत्वको सरकारका कारण आन्तरिक राष्ट्रियता पनि गंभीर समस्यामा रहेको छ, त्यसका विरुद्ध आन्दोलन गर्नुको विकल्प छैन ।’

आकाशिंदो महंगी, भ्रष्टाचार, तस्करी, महिला हिंसा, बलात्कार र हत्या जस्ता कुराहरु बढ्न गई संघीयता र कम्युनिष्ट पार्टीलाई बदनाम गराउने खेल चलिरहेको मोर्चाको ठहर छ ।

आदिवासी, जनजाति र नेवाः जातिको आन्दोलन क्रान्तिकारी शक्ति शक्तिशाली नभएको कारणले गर्दा केही सुस्ताएको भएपनि आन्दोलनको सहि कार्यदिशा, नेवाः आन्दोलनका आधारहरु र नेवाः आन्दोलनका मुद्दाहरुलाई प्राथमिकताका साथ उठान गर्दै अघि बढनु आवश्यक भएको मोर्चाको निष्कर्ष छ ।

मोर्चाको बैठकले संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ । वैठकले लिएका निर्णयहरुबारे मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ र महासचिव शिव श्रेष्ठद्धारा हस्ताक्षरीत एक विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

उक्त विज्ञप्तिमा जनाए अनुसार मोर्चाले सरकारका गलत काम कार्यको विरोध गर्नेदेखि ज्ञापनपत्र बुझाउने, व्यापक जनपरिचालन गर्ने र आमहडतालसम्म जाने खालका संघर्षका कार्यक्रम तय गरेको छ ।

ध्रुवीकरणलाई प्रधान बनाएर आवश्यकता अनुसार संयुक्त मोर्चा र कार्यगत एकता गरी संघर्ष उठान गर्ने र आगामी काममा वैचारिक, राजनैतिक काम, संगठनात्म काम, संघर्ष र प्रचारप्रसार आदिलाई सशक्त रुपमा अघि बढाउने कुरामा मोर्चाको जोड छ ।

त्यसैगरी स्थानीय तह, जिल्ला र प्रदेशको भेला तथा सम्मेलनमा ध्यान दिदैँ मोर्चाको मोर्चाको राष्ट्रिय भेला आउँदो बैशाख अन्तिम हप्तामा गर्ने निर्णय बैठकले गरेको छ ।