अख्तियारको फन्दामा पूर्व गर्भनर रावलसहित तीन जनाः १० रुपैयाँको नोट छपाईमा करोडौंको भ्रष्टाचार

विशेष अदालतमा मुद्दा दायरः २ करोड ७३ लाखको बिगो कायम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गर्भनर तिलक रावलसहित तीन जना विरुद्ध पोलिमार नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालतमा मुद्दा हालेको छ ।

अख्तियारले रावल गर्भनर भएको बेला १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाइका क्रममा आर्थिक अनियमितता भएको भन्दै उनीहरु विरुद्ध अदालतमा मुद्धा हालेको हो ।

अख्तियारले पूर्वगभर्नर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र अष्ट्रेलियन स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले उनीहरुले जनही ९१ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अदालत समक्ष बिगो कायम गरेर मुद्धा दायर गरेको हो ।

उक्त नोट छपाईका क्रममा नेपाल राष्ट्र बैंकले अष्ट्रेलियन एजेन्टमार्फत् आर्थिक लेनदेन गरी गुणस्तरहीन नोट छपाइ गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले नोट छपाईका लागि बोलपत्र आह्वानपूर्व अष्ट्रेलियासँग बोलपत्रको मस्यौदा लिएको, संचालक समितिको निर्णय चुहाएको, जर्मन कम्पनीको नोट छाप्ने साँचो अष्ट्रेलियालाई हस्तान्तरण गरेको अनुसन्धानका क्रममा खुल्न आएको अख्तियारको दावी रहेको छ ।

अख्तियारका सहसचि एवं प्रवक्ता रामेश्वर दंगालको आरोपपत्रमा भनिएको छ–‘छापिएका नोटको कमजोरी भेटिएका छन । त्यस्तै बोलपत्रका क्रममा अष्ट्रेलियन स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियत देखिएको छ । छपाईको मूल्य प्रति हजार ६८ अस्ट्रेलियन डलरबाट ४ अस्ट्रेलियन डलर बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी बैंकलाई अस्वभाविक मूल्य तिराई आफू समेतलाई फाइदा पुग्ने गरी कसुर गरेको स–प्रमाण पुष्टी हुन आएको छ ।’