सडक पीडितहरुको प्रश्नः सरकार स्थानीयवासीको उठिबासँ गराएर कस्का लागि सडक विस्तार गर्दैछ? (भिडियोसहित)

राज्यको अराजकताका विरुद्ध प्रतिरोध गर्ने चेतावनी

काठमाडौं । सरकारले सडक विस्तार योजनाका कामहरु सञ्चालन गर्ने क्रममा घर, निजि सम्पत्ति, बाटो, सार्वजनिक स्थल तथा प्राकृतिक साँस्कृतिक सम्पदाहरु नोक्सान भएको भन्दै काठमाडौमा विरोध प्रदर्शन गरिएको छ ।

उपत्यकका भित्रका विभिन्न क्षेत्रमा सरकारले सडक विस्तारको नाममा नागरिकको घर तथा निजि संरचना भत्काएको र त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै उक्त योजनाबाट पीडित भएकाहरुले हिजो दिउँस काठमाडौंको माईतिघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन ।

साँस्कृतिक पहिचान झल्कने पोशाक तथा बाँजागाजा सहित सयौंको संख्यामा माइतिघर मण्डलामा जम्मा भएका उनीहरुले सरकारले गैह्र न्यायीक रुपमा सडक विस्तार योजना चलाएका कारण आफुहरु पीडित बन्न पुगेको भन्दै सरकारको कडा विरोध गरे ।

उनीहरुले सरकारले स्थानीय नागरिकको उठिबाँस गराएर कस्को उपयोगको लागि सडक विस्तार गर्दैछ, भन्दै प्रश्न समेत गरे । सरकार विरोधी चर्का चर्का नाराहरु लगाउँदै उनीहरुले आफ्नो पीडा, समस्या आलटाल गर्न खोजेमा कडा प्रतिरोध गरिने भन्दै चुनौति समेत व्यक्त गरे।

उनीहरुले पहिले सडक विस्तारका कारण विस्थापित भएकाहरुको व्यवस्थापन गर्नु पर्ने माग सरकारसँग राखेका छन । सडक विस्तारका क्रममा काठमाडौं, भक्तपुर, ललिलतपुरका विभिन्न क्षेत्रमा स्थानीयवासीको घर भत्किएपछि पटक पटक विरोध हुँदैं आएको छ ।

सडक विस्तार योजनाबाट पीडितहरुले संघर्ष गर्नका लागि जिल्लागत र उपत्यकका स्तरमा संघर्ष समिति समेत बनाएका छन । उक्त विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सडक विस्तार योजनाबाट पीडित उपत्यकका स्तरिय संघर्ष समितिका अध्यक्ष सुमन सायमीले आन्दोलनका लागि तयार रहन आह्वान गरे ।

उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सायमीले सरकारले गैर न्यायीक रुपमा नागरिकको उठिबास लगाएको कारण त्यसको विषयमा खबदारी गर्नका लागि आफुहरु माइतिघर मण्डलामा आउनुपरेको बताए ।

सायमीले जनताको बलले सत्ताँ, व्यवस्था र सरकार फेरीएका उदाहरण प्रस्तुत गर्दै भने–‘जनताले उठाएको मागहरु उचित छन । सरकारको सडक विस्तार योजनाबाट विस्थापीत बनेका नागरिकहरुको नै अन्त्यमा जित हुनेछ । त्यो कुरा सरकारले चाँडै बुझोस भन्ने हाम्रो आग्रह हो ।’

विकास गर्नेले त्यहाँको समस्या र त्यसको व्यवस्थापनको जिम्मा लिनुपर्ने भन्दै उनले उपत्यककाका मुलवासीलाई विस्थापन गर्न खोजेमा त्यहाँको पहिचान मेटिने र नेपालनै नरहने बताए ।

उनले सरकारलाई चुनौति दिदै भने–‘हामी विकासको विरोधी होइनौ, तर जनताको सहमति बिना जबरजस्त विकासको नाममा स्थानीयको उठिबास लगाउने काम गरिन्छ भने हामी हक र अधिकारको लागि संघर्षमा उत्रिन बाध्य हुन्छौ । हामी सरकारसँग लड्न पनि तयार हुनेछौं । यो कुरा सरकारले समयमै बुझोस ।’

सरकारले विकासको नाममा हाइटेन्सन लाइन, स्मार्ट सिटि, फास्ट ट्याक लगायत ल्याएको योजनाले उपत्यकका स्थानीयवासिलाई विस्थापन गर्ने भएकाले आफुहरुले त्यसलाई नस्विकारर्ने बताए उनले बताए ।

सरकारले जनतामा विभिन्न खालका भ्रमहरु फैलाएर अराजकता लादेको भन्दै उनले राज्यको अराजकताका विरुद्धमा एकजुट भएर प्रतिरोधमा उत्रिन सबैसँग आग्रह समेत गरे । उनले आन्दोलन नरोकिएको भन्दै पहिलो चरणमा आफुहरुले सरकारको ध्यानआकर्षण गराउन चाहेको बताए ।

उक्त विरोध कार्यक्रम विद्या श्रेष्ठले सञ्चालन गरेकी थिइन । कार्यक्रममा स्थानीय बुद्धीजिवि, काठमाडौंका स्थानीय नागरिक तथा विभिन्न स्थानबाट सडक योजनाले पीडित बनेका मानिसहरु उपस्थित रहेका थिए ।