कांग्रेसलाई प्रचण्डको चेतावनीः हिन्दु राज्यको मुद्धा बोके कांग्रेस समाप्त हुन्छ

हिन्दु राज्यको वकालत खतरनान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको राजधानीमा जारी महासमिति बैठकमा हिन्दु राज्यको मुद्धामा बहस भएको विषय उचित नभएको तर्क गर्दै त्यसले कांग्रेसको इतिहास समाप्त हुने चेतावनी दिएका छन ।

राजधानीमा आज आयोजित एक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको वकालत गर्नु भनेको समाप्तीको बाटो भन्दै त्यस्तो चेतावनी दिएका हुन ।

उनले संघर्ष र बलिदानीबाट प्राप्त भएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको विरुद्धमा हिड्नु भनेको संविधान र जनभावना विरुद्ध भएको भन्दै कांग्रेसलाई बाटो नबिराउँन सुझाव समेत दिए ।

कांग्रेसमा हिन्दु राज्यको वहस चल्नु भनेको तत्कालीन सभापति शुशिल कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न जस्तै भएको भन्दै प्रचण्डले त्यसो गरेम इतिहासमा कांग्रेस नामेट हुने बताए ।

जिम्मेवार पार्टीले धर्मको पक्षमा मात्रै वकालत गर्नु निक्कै खतरनाक हुने तर्क गर्दै उनले भने–‘धर्मनिरपेक्षता अहिलेको संविधानको जग हो, त्यसलाई हल्लाएर सिङ्गै घर भत्काउने दुस्साहस नगरेको राम्रो ।’