माओले देखाएको बाटोमा निरन्तर अघि बढ्न क्रान्तिकारी माओवादीको आह्वान

संशोधनवादका विरुद्ध संघर्षमा जोड

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओले देखाएको बाटोमा निरन्तर अघि बढ्न आह्वान गरेको छ ।

आज १२६ औं माओदिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले त्यस्तो आह्वान गरेका हुन् ।

महासचिव किरणले माओदिवसको सन्दर्भमा विज्ञप्ती मार्फत साम्राज्यवाद, विस्तारवाद तथा नवप्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादका विरुद्ध निरन्तर संघर्ष जारी राख्न नेपाली सर्वहारा वर्ग, जनसमुदाय र संपूर्ण सुभेच्छुकहरुमा अपिल गरेका छन् ।

महासचिव किरणले भनेका छन ‘माओ विश्व–सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका एक महान् नेता तथा सुयोग्य शिक्षक हुनुहुन्थ्यो, सर्वहारा वर्गका एक महान् नेताको व्यक्तित्व र योगदानको स्मरणको यस महत्वपूर्ण ‘ऐतिहासिक अवसरमा विश्व तथा नेपाली सर्र्वहारा वर्ग, जनसमुदाय तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हामी लाल सलाम अर्पण गर्दछौं ।’

माओको योगदानको चर्चा गर्दै उनले भनेका छन ‘मार्क्सवादका तीन संघटक अंग अर्थात् दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेका विकास सार्वभौम रहेका छन । यसले ‘सबैखाले प्रतिक्रियावाद, साम्राज्यवाद र संशोधनवादका विरुद्ध भीषण संघर्ष चलाउने निश्चित छ ।’

माओ दिवसले विश्व सर्वहारा वर्गलाई संघर्षको लागि निर्देशन र प्रेरणा दुवै दिइरहेको कुरामा उनले जोड दिइएका छन । माओले चीनको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक, भूअवस्थिति तथा आन्तरिक–बाह्य विशिष्टतामा तात्कालीन माक्र्सवाद अर्थात् ‘मार्क्सवाद–लेनिनवादलाई अर्को नयाँ उचाइमा विकसित तुल्याउन र त्यो माक्सर्वाद–लेनिनवाद–माओवादका रुपमा एक अखण्ड सिद्धान्त बन्न गएको भन्दै बैद्यले चर्चा गरेका छन ।

‘अहिले विश्व र नेपालमा पनि संशोधनवादले जबर्जस्त रुपमा टाउको उठाएको र त्यसको प्रतिक्रियावादमा पतन हुन पुगेको’ भन्दै नेपालको वर्तमान अवस्थामा ‘साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवम् हस्तक्षेप बढ्दै गएको र त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादले साथ दिइरहेकाले’ त्यसका विरुद्ध देशव्यापी संघर्ष उठाउनुपर्ने कुरामा उनले जोड दिएका छन ।

माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्वको बारेमा चर्चा गर्दै उनले भनेका छन– ‘यो बेलामा संशोधनवादको धज्जी उडाउँदै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादविरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ अगाडि बढ्नका लागि माओका अविस्मरणीय योगदानहरुको सम्मान गर्नुपर्छ ।’

बैद्यले केन्द्रीय समितिको तर्फबाट सबै पार्टी र कमिटिलाई माखो दिवसलाई विशेष उत्सवका रुपमा मनाउन र माओले देखाएको बाटोमा निरन्तर लागिरहन निर्देशन गरेका छन ।