क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश संयोजकमा अवस्थी निर्वाचित

जनपक्षीय पत्रकारीतामा जोडः संषर्घका कार्यक्रम तय

कैलाली । क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिम प्रदेश समिति संयोजकमा धनन्जय अवस्थी निर्वाचित भएका छन् । कैलालीको अत्तरीयामा आज सम्पन्न भेलाबाट अवस्थी निर्वाचित भएका हुन् ।

भेलाबाट नौं सदस्यीय (दुई सदस्य पछि थप्ने गरी) प्रदेश समिति निर्वाचित भएको बताइएको छ । निर्वाचित समितिको सदस्यमा धनन्जय अवस्थी कञ्चनपुर, भुवन भट्ट कञ्चनपुर, अंकिता भट्ट कञ्चनपुर, भिमबहादुर बिक कैलाली, प्रेम बोहोरा डडेल्धुरा, दशरथ साउद बझाङ, भानुभक्त ढकाल अछाम रहेका छन ।

वर्गदृष्टि साप्ताहिक, मूलबाटो डटकम, हरपल नेपाल डटकम, रेडियो कोशेली एफएम वौनियाँ, महाकाली एफएम कञ्चनपुर, अमंरगढी एफएम, रेडियो झलारी एफएम कञ्चनपुर लगाएत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उक्त कमिटिमा निर्वाचित भएका छन ।

भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यता तथा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य एवं सुदुरपश्चिम प्रदेश सेक्रेटरी चन्द्रहरी सुवेदी अटलको विशेष आतिथ्यतामा रहेको थियो ।

त्यस्तै भेलामा पार्टीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज रामबहादुर केसी, कञ्चनपुर इन्चार्ज गोविन्द पौडेल छितिज, कैलाली पार्टी सेक्रेटरी रुद्ध कडेंल, कञ्चनपुर पार्टी सेक्रेटरी हरी सुवेदी, अछाम पार्टी सेक्रेटरी कैलाश जैसी, अखिल क्रान्तिकारीका नेता रामबहादुर, केशव साउँद, पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश पाँच र सातका इन्चार्ज लोकराज जैसी लगायतको आतिथ्यता तथा करिब दुई दर्जन बढी प्रतिनिधि प्रवेक्षकहरुको सहभागिता रहेको थियो ।

भेलापछि बसेको नव निर्वाचित कमिटिको पहिलो बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा देखिएका समस्याबारे पत्रकारीता मार्फत जनआवाजहरु बुलन्द पार्ने, साना लगानीका मिडियाको हक, हित, संरक्षणका लागि सम्बद्ध निकायहरुसँग छलफल गर्ने, माग पत्र सहित संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने, पेशागत सुरक्षा, श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन लगायतका मुद्धाहरु उठाउँने लगाएतका विषयमा महत्वपूर्ण निर्णय समेत गरेको छ ।

उक्त बैठकले नव निर्वाचित प्रदेश समिति सदस्यहरुको कार्य विभाजन समेत गरेको छ । कार्य विभाजन अनुसार दार्चुला कार्यालय, कैलाली भिम बिक, डोटी डढेल्धुरा र वैतडी प्रेम बोहोरा, बाजुरा र अछाम भानुभक्त ढकाल, बझाङ दशरथ साउँदलाई जिम्मेवारी तोकेको छ ।

पछिल्लो समयमा क्रान्तिकारी पत्रकार महासंघ देशव्यापी रुपमा संगठन निर्माण तथा भेला, प्रशिक्षणको तयारीमा जुटेको छ । यस अघि प्रदेश नम्बर चारको भेला पोखरामा सम्पन्न गरेको महासंघले यसपछि अन्य प्रदेशहरुमा समेत तयारी गरिरहेको जनाएको छ ।

प्रदेश तथा जिल्ला स्तरका भेला, प्रशिक्षणहरु माघ अन्तिमसम्म सक्दै फागुनको अन्तिमसम्म संगठनको राष्ट्रिय सम्मेलन गर्ने व्यापक तयारीमा क्रान्तिकारी पत्रकार महासंघ जुटेको छ ।