ओली सरकार भ्रष्ट र दलालहरुको सेवामा जुटेको छ, यसबाट जनअपेक्षा सम्भव छैनः सीपी गजुरेल (भिडियोसहित)

जनअधिकारका लागि व्यवस्था परिवर्तनको संघर्षमा जोड

काठमाडौं । सडक संर्घषको तयारीमा जुटेको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध संघ, संगठनका नेताहरु अहिलेको सरकार इतिहासमा सबैभन्दा नालायक र भ्रष्ट सरकार भएको आरोप लगााउँदै जनताको व्यवस्था ल्याउन थप आन्दोलन आवश्यक रहेको बताउँदै आएका छन् ।

पछिल्लो चरणमा संगठन संघर्ष र फेरी संगठनको नीति अनुसरण गर्दै सबै पार्टी नेताहरुलाई गाउँ गाउँ खटाएको उक्त पार्टीले राजधानी काठमाडौं लगाएत प्रदेश राजधानी तथा केही स्थानीय स्तरमा केन्द्रीत जनसंघर्षका कार्यक्रमहरुको तयारी गरिरहेको बुझिन्छ ।

क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल गौरवले राजधानीमा हालै आयोयिजत एक कार्यक्रममा वर्तमान ओली नेतृत्वको सरकारले दलाल र भ्रष्टहरुको सेवा गरिरहेको आरोप लगाएका छन ।

मोर्चाले सोमबार (हिजो) प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले त्यस्तो आरोप लगाएका हुन । उनले वर्तमान ओली नेतृत्वको सरकार दलाल भएको बताए ।

अध्यक्ष गजुरेलले भने–‘मुलुकमा दलालहरुको सरकार छ, त्यसले दलाल तथा नोकरशाही पुँजीवादी तथा साम्राज्यवादीहरुको नै सेवा गर्दछ, अहिले देश र जनताको लागि काम भइरहेको देखिन्न ।’

नेता गजुरेलले वर्तमान शासन व्यवस्था दलाल संसदीय व्यवस्था भएको किटानी गर्दै भने–‘यहाँबाट जनताको सेवा हुने सम्भावना छैन । तसर्थ यो सरकारका साथै सिंगो शासन व्यवस्थाको विकल्प खोज्नु जरुरी छ ।’

व्यवसथा परिवर्तनको विकल्पको विषयमा बोल्दै उनले भने–‘त्यो विकल्प भनेको संघर्षबाट खोजिनु पर्छ, त्यो भनेको जनआन्दोलनको विकल्प हो । नयाँ व्यवस्था वा जनवादी गणतन्त्र स्थापनाको विकल्प हो । त्यसमा सबै जनताको आवाज लिएर जानु पर्छ ।’

‘अग्रामी विकल्पको तयारी गरौं’ भन्ने शीर्षकमा एक कार्यपत्र प्रस्तुत गर्दै उनले भने–‘देशमा दुईतिहाई बहुमत प्राप्त ओली सरकार एकवर्ष पनि नपुग्दै निकै बदनाम भएको छ । यसको विकल्प देश र जनताले खोजिरहेका छन । त्यसका लागि राज्यसत्ता परिवर्तनको संघर्षमा केन्द्रीत हुनु जरुरी छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरु विकराल बन्दै गएको प्रसंग कोट्याउँदै उनले भने–‘देशको सिमाना बहुमतको ओली सरकारले यसरी बेचेर खाने हो भने, अबको ५ वर्ष कुर्दा यो देश कहाँ खोज्न जाने ?’

उनको जोड सिंगो राज्यको विकल्पको खोजीमा ढिलाइ नगरी सडक संघर्षमा उत्रिनु पर्नेमा थियो । उनले त्यसका लागि आफ्नो पार्टी र मोर्चाले तयारी गरेको बताए । मोर्चाले आउँदो चैत्र २४ गते राजधानीमा विशाल जनप्रदर्शन गर्न लागेको बताइएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै सीमाविद तथा नापी विभागका पूर्व महानिर्देशक बद्धिनारायण श्रेष्ठले देश, देशभक्ति, राष्ट्रियता र राष्ट्रको अवस्था छिल्लो अवस्थामा खस्किदै गएको र त्यसमा सबैको ध्यान पुग्नुपर्ने बताए ।

उनले देशघाती, जनघाती तथा जनतामारा प्रवृतिका विरुद्ध बिरोध गर्नु आवश्यक रहेको भन्दै मुलुकको सीमा सुरक्षामा सरकारले उचित कदम चाल्नुपर्ने औल्याए । उनले जनताहरुले खोजेको परिवर्तनका पक्षमा आफु सहमत रहेको भन्दै प्रतिवद्धता समेत जनाए ।

मोर्चाका केन्द्रीय सचिव परी थापाले सञ्चालन गरेको उक्त अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रबारे बोल्ने क्रममा प्राध्यापक डा. सुरेन्द्र केसीले पनि ओली नेतृत्वको सरकार सबैभन्दा नाकामे सरकरा भएको दोेहोर्याए ।

उनले कम्युनिस्ट नेतृत्वको सरकार मुलुकमा भएको भनिए पनि त्यसले देश र जनताका लागि भलो हुने कुनै पनि काम गर्न नसक्ने ठोकुवा गरे । उनले जनताको परिवर्तनको चाहना अनुसार व्यवस्थामा परिवर्तन नआएको औल्याए ।

उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, युवा, समाजसेवी, पत्रकार तथा स्वतन्त्र नागरिक समेत गरी करिब एक सय जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरुले कार्यपत्रबारे महत्वपूर्ण सुझाव, सल्लाह र टिप्पणी समेत गरेका थिए ।