सकियो क्रान्तिकारी पत्रकारहरुको प्रदेश भेलाः महतराको नेतृत्वमा २१ सदस्यीय समिति निर्वाचित

माघ ७ गते पेशागत अधिकारबारे अन्र्तक्रिया गर्ने निर्णय

काठमाडौं । काठमाडौंमा आयोजित प्रदेश नम्बर तीनका पत्रकारहरुको एक भेलाले विभिन्न विषयहरुमाथि छलफल गर्दै रनसुर महतराको नेतृत्वमा २१ सदस्यीय क्रान्तिकारी पत्रकार महासंघको प्रदेश स्तरिय समिति निर्वाचित गरेको छ ।

बुद्धनगरमा आज सम्पन्न भएको भेलाबाट उक्त समिति निर्वाचित भएको हो । उक्त भेलाले पाँच सदस्य पछि थप्नेगरी २१ सदस्यीत समिति निर्वाचित गरेको छ ।

उक्त भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समितिका सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा रहेको थियो ।

त्यसैगरी भेलामा क्रान्तिकारी माओवादीका पिविएम तथा ३ नं. प्रदेश सेक्रेटरी दिनेश शर्मा, संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउत, पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, संगठनका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

निर्वाचित समितिको सदस्यहरुमा सागर श्रेष्ठ, कुमार भट्टराई, विष्णु आले, गोपालदास श्रेष्ठ, भागवतनरसिंह प्रधान, निर्मला रेग्मी, प्रदीप श्रेष्ठ, पदम मोक्तान, दीपक पोखरेल, सुजा पुडासैनी, नविन वाइवा, जय दाहाल, रामशरण नेपाली, वालकृष्ण थापा, विधुर ढकाललगायत रहेका छन् ।

निर्वाचित समितिका सदस्यहरु वर्गदृष्टि साप्ताहिक, मुलबाटो डटकम, हरपल नेपाल डटकम, हरपल टिभि, न्युज कोसेलि, नेवारी भाषा पत्रिका, न्यूज अभियान लगायतका सञ्चारमाध्यमहरुमा कार्यरत रहेका छन ।

निर्वाति समितिको पहिलो बैठकले गरेको निर्णयहरुको विषयमा नव निर्वाचित समितिका संयोजक रनसुर महतराले एक विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन ।

उक्त विज्ञप्तीमा संगठनको राष्ट्रिय सम्मेलनलाई लक्षित गरी फागुनको पहिलो हप्ताभित्र प्रदेशका सबै जिल्लामा जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यस्तै संगठनको बैठकले पेशागत हकहितका विषय, प्रेस स्वतन्त्रता, श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन लगायतका विषयमा तीन नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र यहि माघ ७ गते पत्रकारका पेशागत मुद्दामा केन्द्रीत रहेर काठमाडौंमा वृहत् अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यसै गरी बैठकले सात सदस्यीय सचिवालय गठन गदैँ जिल्लागत कार्यविभाजन समेत गरेको छ ।

प्रत्यक जिल्लाको जिम्मेवारी निर्वाचित प्रदेश सदस्यले गर्ने र सचिवालयले सहजिकरण गर्ने ढंगले कार्य विभाजन गरिएको जनाइएको छ ।