क्रान्तिकारी पत्रकार महासंघले बुझायो प्रदेश तीनका मुख्य मन्त्रीलाई ज्ञापन पत्र (पत्रसहित)

माग पुरा नगरे आन्दोलनमा उत्रिने चेतावनी

मकवानपुर । क्रान्तिकारी पत्रकार महासंघले आज प्रदेश नम्बर तीनका मुख्य मन्त्री डोरमणि पौंडेललाई पत्रकारको हक, हित र अधिकार बारे १३ बुदें मागसहरु सहितको ज्ञापन पत्र बुझाएको छ ।

क्रान्तिकारी पत्रकार महासंघको तीन नम्बर प्रदेशको आयोजनामा उक्त ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझाउन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी, प्रदेश संयोजक रनसुर महतरा, केन्द्रीय सदस्य सागर श्रेष्ठ, पार्टी डिसिएस सागर, अमित योञ्जन लगायतको टोलि त्यहाँ गएको थियो ।

क्रान्तिकारी पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पौडेंलले मागका विषयमा सकारात्म रहेको र त्यसलाई कार्यान्वयनमा लिने विश्वास व्यक्त गरेका थिए ।

उनले पत्रकारको पेशागत मर्यादालाई ख्याल गर्दै पत्रकारीता गर्नुपर्ने बताए । उनले समानुपातिक विज्ञापन प्रणालि लागु गर्नेदेखि धेरै मागहरु पुरा गर्न आफु तयार रहेको बताए ।

मागपत्र यस्तो रहेको थियो ।

क्रान्तिकारी पत्रकार महासंघ
तीन नम्बर प्रदेश समिति

                                                                                       मितिः २०७५/१०/०६
श्री माननीय मुख्यमन्त्री ज्यू्
प्रदेश नम्बर तीन, मकवानपुर ।

                                                  विषयः ज्ञापन पत्र
‘क्रान्तिकारी पत्रकार महासंघ’ श्रमजीवि पत्रकारहरुको नेतृत्वदायी संगठन हो । स्थापनाकालदेखि नै यस महासंघले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र संवद्र्धन, श्रमजीवि पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध, मिडियाका कन्टेन्टको समावेशिकरण, निष्पक्ष, मर्यादित, जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारिताएलगायतको पक्षमा वकालत गर्दै त्यसका लागि संघर्षलाई समेत संगठित गर्दै आएको छ ।
हाम्रो महासंघ ‘नेपाल पत्रकार महासंघ’लाई छाता संगठन मान्दछ । र, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुको पक्षमा आफूलाई उभ्याउँदै उच्च दायित्वबोधका साथ आफ्नो भूमिकालाई प्रभावकारी रुपमा सम्पादन गर्दै आएको छ । हाम्रो संगठनको यही मिति २०७५ साल माघ २ गते बुद्धनगर काठमाडौंमा प्रथम प्रदेश भेला सम्पन्न गरी नयाँ कार्य समिति चयन गरेको छ । उक्त कमिटिको प्रथम बैठकले विभिन्न विषयहरुमाथी व्यापक छलफल गर्दै पत्रकारीता क्षेत्रको विकासका लागि तपशिलका मुद्धाहरुमा राज्यको ध्यानाकर्षण गराउँने निष्कर्ष निकालेको छ । हाम्रो प्रदेश नम्बर तीनको समिति प्रदेश सरकारसंग हाम्रो संगठनले पत्रकारीता क्षेत्रमा देखिएका समस्याहरु दर्शाउँदै अघिसारेका मागहरु अविलम्ब पुरा गर्न माग गर्दछौं । साथै हाम्रा मागहरुप्रति वेवस्ता गरि आलटाल गर्न खोजिए हामी बाध्य भएर संघर्षका कदमहरु चाल्ने विषय समेत जानकारी गराउँदछौं । स्मरण रहोस्, हामीलाई संघर्षमा होमिन बाध्य पानेृ स्थिति नदेखियोस, हामी यहि ज्ञापन पत्र मार्फत राज्यलाई सचेत गराउँन चाहन्छौं।
                                                 हाम्रा मागहरु
१) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी मुलुकी संहिता खारेज गर्न गराउन प्रदेश सरकारको तर्फबाट ठोस कदम अगाडि बढाओस् । प्रदेश स्तरमा भइरहेका प्रेस विरोधी ऐन कानून निर्माण प्रक्रिया अविलम्ब बन्द गर्न जोडदार माग गर्दछौं ।
२) यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा प्रकाशित तथा प्रसारित इलेक्ट्रोनिक तथा छापा मिडिया खासगरी जनपक्षीय पत्रकारिताको भूमिका निर्वाह गरिरहेका साना लगानी तथा स्वरोजगारमुखी मिडियाहरुको संरक्षण र सम्बद्र्धनका लागि ठोस योजना तर्जुमा गरियोस् ।
३) सञ्चार माद्यममाथिको दोहोरो तेहोर कर प्रणाली तत्काल खारेज गरियोस् ।
४) मिडियाहरुको निश्पक्ष वर्गीकरण गरी श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन गरियोस् ।
५)यस प्रदेश अन्तर्गतका सरकारी सूचना तथा विज्ञापनहरु प्रदेशभित्र सञ्चालित मिडियाहरुलाई पहिलो प्राथमिकतामा राखी समानुपातिक ढंगले वितरण गर्ने निर्णय गरियोस् ।
६) पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गरियोस् ।
७) केन्द्र तथा प्रदेश सरकारका सम्बन्धित निकायहरुमा एउटै पत्रकार परिचय पत्र लागू गर्ने निर्णय गरियोस् ।
८) समाचार लेखेकै कारण विद्युतिय कारोवार ऐन लगाएर पत्रारलाई हतकडी लगाउने कार्य अविलम्ब बन्द गरियोस् ।
९) बरिष्ठ पत्रकारहरुको सम्मान तथा स्वास्थ्य उपचार लगायत भइपरी आउने समस्याको लागि विशेष कोषको स्थापना गरियोस् ।
१०) सञ्चार माद्यमहरुलाई सरकारी सूचना सहज रुपमा उपलव्ध गराइयोस् ।
११) आस्थाको आधारमा पत्रकार र मिडियामाथि विभेद नगरियोस् । ठूलालाई पोस्ने सानालाई सोस्ने नीति र प्रवृत्ति हटाइयोस् ।
१२) प्रदेशभित्रका सरकारी कार्यालयभित्र राखिएका नक्कली नक्सा (नेपाली भूमि गायब पारिएको) हटाई नेपालको वास्तविक नक्सा प्रयोग गरियोस्।
१३) स्थानीय स्तरबाट सञ्चालन हुने सञ्चारमाध्यमहरुको दर्ता तथा सञ्चालन अनुमति प्रकृयालाई स्थानीय स्तरबाटै सहज रुपमा काम गर्ने व्यवस्था मिलाइयोस् ।

प्रदेश संयोजक
रनसुर महतरा