हेर्नुहोस्, मन्त्रिपरिषद् बैठकले गरेका आठ निर्णयहरु यस्ता छन्

सुरक्षा निकायका २८०७ जना शहीद घोषणा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले मन्त्रिपरिषद्ले गरेका विभिन्न निर्णयहरुको बारेमा जानकारी गराएका छन् ।

आज सिंहदरबारमा आयोजित कार्यक्रमबीच सञ्चार प्रविधिमन्त्री बास्कोटाले त्यस्तो जानकारी दिएका हुन ।

यहि माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु यस प्रकार रहेका छन ।

१) नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नाम सहित छुट्टै कम्पनीका रुपमा रुपान्तरण गर्ने आवश्यक प्रकृया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिइएको छ ।

२) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

३) राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्ने निर्णय गरिएको छ ।

४) विगतका जनआन्दोलन, सशस्त्र द्धन्द र मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना (१०१८), नेपाल प्रहरी (१४४८), सशस्त्र प्रहरी बल नेपाल (३१८) र राष्ट्रिय अनुसन्धान विभाग (२३) का गरी २८०७ जना राष्ट्रसेवकलाई शहीद घोषणा गरी सबैको नाम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

५) पर्सा जिल्लाको ठोरी गाउँपालिका केन्द्र र बोगटान गाउँपालिकाको नाम परिवर्तन गरिएको छ ।

६) कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृत गरिएको छ ।

७) सुरक्षण मुद्रण सम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गरिएको छ ।

८) देहायबमोजिमका विकास समितिहरु संघअन्तर्गत यथावत रहने गरी कायम गरिएको छ ।

  • क) बिपी कोइराला राष्टिय श्वास प्रश्वास उपचार केन्द्र विकास समिति (गठन) आदेश, २०७० बमोजिम गठित उपचार केन्द्र, दुलेगौंडा, तनहुँ ।
  • ख) सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७३ बमोजिम गठित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँके ।