अखिल क्रान्तिकारी चितवनको बैठक सम्पन्न: शैक्षिक विकृति विरुद्ध संघर्षमा होमिने निर्णय

प्रत्येक स्कुल, कलेजमा संगठन निर्माण गर्न निर्देशन

चितवन । विशेष राष्ट्रिय भेला सम्पन्न भएको महिना दिन नहुँदै अखिल क्रान्तिकारीका नेताहरु देश दौडाहमा जुटेका देखिन्छन ।

संगठनको पदाधिकारी बैठकबाट जिम्मेवारी बाँडफाँड भए लगत्तै प्रदेश नम्बर तीनको चितवनमा आज अखिल क्रान्तिकारीको बैठक बसेको छ । 

अखिल क्रान्तिकारी चितवनका अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा  उक्त बैठक बसेको हो ।

चितवनको सप्तडण्डकी कलेजमा बसेको उक्त बैठकले संगठनको केन्द्रीय योजना, कार्यक्रम र जिल्लागत अन्य विषयहरुमाथि व्यापक छलफल गरेको बताइएको छ ।

बैठकले संगठनको केन्द्रीय योजना अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई राज्यको विकृत शिक्षा नीति तथा सबै प्रकारका शैक्षिक दलाल, माफीयाहरुको व्यापक भण्डाफोर सहित संगठित शैक्षिक आन्दोलनको उठान गर्नका लागि क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी उक्त बैठकले आन्दोलनका लागि संगठनमा ध्यान दिनुपर्ने ठहर गर्दै जिल्लाका प्रत्यक स्कुल, कलेजमा अखिल क्रान्तिकारीको संगठन गठन गर्न मातहतका नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत गरेको बताइएको छ ।

बैठकमा संगठनका उपाध्यक्ष तथा प्रदेश नम्बर तीनका संयोजक शिलु न्यौपानेको प्रमुख आतिथ्यता तथा संगठनका जिल्ला फ्याक्सन इन्चार्ज अमृत चापागाईं, संगठनका केन्द्रीय सदस्य अमित सापकोटा, दिपक पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।

पछिल्लो समय अखिल क्रान्तिकारी शिक्षाको अवसरबाट बञ्चित भएका, निजि क्षेत्रको महंगो शिक्षामा पहुँच नभएका तथा आम आधारभूत वर्ग समुदायका विद्यार्थीहरुको हक, अधिकारको विषयलाई संगठन निर्माणको प्रकृयासँगै घनिभूत रुपमा उडान गर्ने योजनामा साथ जुटिरहेको देखिन्छ ।

अखिल क्रान्तिकारीको उपाध्यक्ष न्यौपानेले शिक्षामा राज्यले अंगिकार गरेको असमान नीतिका विरुद्ध आफ्नो संगठनले नेतृत्वदायी शैक्षिक आन्दोलनको उठान गर्न देशव्यापी रुपमा हरेक स्कुल कलेजमा अखिल क्रान्तिकारीको कार्यक्रम लिएर अघि बढेको बैठकपछि हरपलसँगको कुराकानीका क्रममा बताइन ।

उपाध्यक्ष न्यौपानेले शैक्षिक संगठनको नाम राखेका कतिपय संगठनहरु विद्यार्थीको समस्या, पठन-पाठको स्थिति, राज्यको शिक्षा नीतिले निम्न वर्गिय विद्यार्थीमा पारेको प्रभावका विषयमा संघर्षमा जुट्नुको साँटो कमिसन, दलाली, ठेक्कापट्टा, सरुवा बढुवाको लागि फाईल बोक्दै अहिले सिंहदरबार धाउँने गरको भन्दै तिब्र आक्रोश व्यक्त गरिन ।

उनले अहिलेको स्थितिमा समग्र शैक्षिक आन्दोलनका मुद्धाहरु उठाउँदै आफ्नो संगठनले आम विद्यार्थीहरुसँग देशैभरीका स्कुल, कलेजहरुमा छलफल, वहस, संघर्ष जस्ता कार्यक्रम लिएर अघि बढेको जनाइन ।

उनले सबै विद्यार्थीहरुलाई शिक्षामा एक रुपताको नीति लागु गर्नका लागि, बढ्दो शैक्षिक दलालिकरण, माफीयाकरणका विरुद्ध संघर्ष गर्नका लागि, शिक्षालाई हरेक नागरिकको नसर्गिक अधिकारको रुपमा लागु गर्नका लागि, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा राज्यलाई जिम्मेवार बनाउँनका लागि आफ्नो संगठन कुनै पनि अवस्थामा पछि नपर्ने भन्दै सबै विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीसँग सहकार्यमा जोडिन आह्वान समेत गरिन ।