वानेश्वरबाट नेविसंघका अध्यक्षसहित दर्जन बढि नेताहरू पक्राउ

सरकारले कार्यकर्ताहरुमाथि मुद्धा चलाएको भन्दै विरोध

काठमाडौं । पोखरामा विरोध कार्यक्रमको क्रममा सरकारी गाडी जलाएको आरोपमा सरकारले आफ्ना नेताहरुमाथि मुद्धा चलाएको भन्दै आज काठमाडौंको वानेश्वरमा गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका अध्यक्ष नैनसिंह महरसहित एक दर्जन भन्दा बढि नेताहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विरोधमा उत्रिएका नेविसंघका नेताहरुलाई नयाँ वानेश्वरबाट पक्राउ गरिएको हो । उनीहरुले सिडियो कार्यालय घेराउन गर्ने योजनाका साथ अघि बढेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ रहेको छ ।

गत शनिवार नेविसंघले पोखराका प्रमुख शिक्षा अधिकारीको सरकारी गाडीमा आगजनी गरेका थिए, उक्त घटनामा संलग्नहरुमाथि सरकारले कारबाही चलाइरहेको बेला नेविसंघले विरोध गरेको हो ।

विरोधका क्रममा सरकारी गाडी जलाउँनु उचित नभएको कांग्रेसका नेता गगन थापा लगायत अन्यले बताएपनि त्यसको पक्षमा पार्टीका शिर्षर्थ नेताहरु देखिन्छन, यो विषयमा कांग्रेसभित्र वहस चलेको बुझिएको छ ।

उनीहरुलाई तत्काल छाड्ने वा कारबाहीका लागि थप राख्ने भन्ने विषय माथिको निर्देशनमा भरपर्ने एक प्रहरी अफिसरले हरपल नेपालसँग बताएका छन ।