२४ औं जनयुद्ध दिवसमा यस्तो छ, क्रान्तिकारी माओवादीको देशव्यापी कार्यक्रमको तयारी

मुख्य सडकमा रातो मार्चपासः केही स्थानमा गोष्ठि र मसाल जुलुस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले देशव्यापी रुपमा फागुन १ गते २४ औं जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । जनयुद्ध दिवसको अवसरमा क्रान्तिकारी माओवादीले देशैभर ‘रेड मार्चपास’ गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) संघर्षको उठान गर्ने हिसावे जनयुद्ध दिवस मनाउँने तयारी गरेको छ । देशव्यापी रुपमा ‘रेड मार्चपास’ गर्न क्रान्तिकारी माओवादीले तल्ला कमिटीहरुमा सर्कुलर गरेको छ ।

त्यस्तै क्रान्तिकारी माओवादीको १ नम्बर प्रदेशले मशाल जुलुस, र्याली र रेड मार्चपासको तयारी गरेको छ । मोरङको विराटनगर, सुनसरीको इटहरी, उदयपुरको गाईघाट, ओखलढुंगा, खोटाङ, तेह«थुम लगायतका जिल्लामा प्रदर्शन गर्ने तयारी भएको बताइएको छ ।

त्यसैगरी २ नम्बर प्रदेशले सिरहाको लहान, रौतहटको चपुर र महोत्तरीको बर्दिबासमा रेड मार्चपासको तयारी गरेको छ । अन्य जिल्लाहरुमा पनि विकेन्द्रित रुपमा मार्चपास प्रदर्शनको तयारी भइरहेको बुझिएको छ ।

जनयुद्ध दिवसको तयारीमा क्रान्तिकारी माओवादी प्रदेश नम्बर ३ को आयोजनामा उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरंलाई केन्द्रित गरी काठमाडौंको रत्नपार्कबाट रेडमार्चपासको तयारी गरेको बुझिएको छ ।

त्यस्तै उपत्यका चितवन, काभ्रे, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोटलगायतका जिल्लामा पनि रेड मार्चपासको तयारी गरिएको छ । मकवानपुरमा भने रेडमार्चपासहित पार्टी जिल्लाको भेलासमेत राखिएको । त्यस्तै सिन्धुपाल्चोकमा पनि पार्टीको बैठक राखिएको छ ।

त्यस्तै प्रदेश नम्बर चारले मार्चपास गर्ने भएको छ । त्यहाँ चलिरहेको प्रदेश स्तरीय युवाहरुको वैचारिक तथा राजनीतिक प्रशिक्षणको जनयुद्ध दिवसकै दिन समापन गरिदैँछ । त्यस्तै कास्की, नवलपुर, तनहुँ, गोरखा, बाग्लुङ, पर्वतलगायतका जिल्लामा पनि रेडमार्चपासको तयारी गरिएको बुझिएको छ ।

प्रदेश नम्बर ५ को मा पनि कार्यक्रमको तयारी भैरहेको बताइएको छ । बर्दिया, बाँके, दाङ, कपिलवस्तु, गुल्मी, नवलपरासी, रुपन्देही, लगायतका जिल्लामा ‘जनयुद्ध जिन्दावाद’ लेखिएको रातो फेटासहित मुख्य सडकहरुमा रेड मार्चपास गर्ने तयारी भएको छ । भने रोल्पा, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा गोष्ठी, छलफलको आयोजना गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ६ मा पनि सुर्खेतमा भव्य कार्यक्रमको तयारी गरेको बुझिएको छ । कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लामा मार्चपासहित देशभक्त जनगणतान्त्रिक मोर्चाको जिल्ला सम्मेलनको तयारी भैरहको छ । उक्त अवसरमा त्यहाँ जनयुद्धका सहिद तथा वेपत्ता परिवार, घाइते अपाङ्ग लागतलाई सम्मान गर्ने समेत कार्यक्रम तय गरिएको छ ।

सुदुरपश्चिममा पनि त्यहि ढंगको तयारी गरिएको बुझिएको छ । प्रदेश सातका विभिन्न जिल्लाहरुबाट धनगढीमा केन्द्रित भएर भव्य कार्यक्रमको तयारी गरिएको बताइएको छ । त्यस्तै अन्य जिल्लाहरुमा भने सदरमुकाम तथा मुख्य सहरहरुमा रेड मार्चपास गर्ने तयारी गरिरहेका छन ।

केन्द्रीकृत सामान्ती राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध शुरुवात गरेको सम्झनामा माओवादी संवद्ध विभिन्न पार्टी, संघ संगठनहरुले फागुन १ गतेलाई संघर्षको दिनका रुपमा मनाउने गर्दछन ।

तत्कालीन नेतृत्वहरुले गद्दारी गरेका कारण जनयुद्धले धक्का खान पुगेको र अझै पनि समाजमा दलाल, सामन्ती तथा पूजिँपति वर्गकै हालिमुहाली रहेको भन्दै त्यसको संरक्षणमा रहेको संसदीय व्यवस्थाका विरुद्ध संधर्ष गर्नुपर्नेमा क्रान्तिकारी माओवादीको जोड देखिन्छ ।

संसदीय व्यवस्थको अन्त्य गरेर जनताको संघीय जनगणतन्त्र स्थापना गर्नका लागि अर्को आन्दोलनको तयारीमा क्रान्तिकारी माओवादीले जनतासँग अपिल गर्दै आघि बढेको देखिन्छ ।

जनयुद्ध दिवसमा सत्ताँरुढ नेकपा, विप्लव निकटको नेकपा लगायतका अन्य पार्टीहरुले समेत विविध कार्यक्रम गरी मनाउँने भएका छन ।