मुस्ताङको माथिल्लो भेगबाट पोखरा झरेका घुम्ती विद्यालयहरुः गर्मीमा लेक, जाडोमा बेँसी

निकालियो विद्यालयलाई बेँसी झार्ने उपाय

मुस्ताङ । उपल्लो मुस्ताङबाट बसाइ सरी पोखरा झरेको एक घुम्ती विद्यालयका बालबालिकाहरू पोखराको न्यानोमा अध्ययनमा रमाउने गर्छन् ।

जाडो याम लागेयता उपल्लो मुस्ताङकी १० कक्षाकी छात्रा पेम्वाल्हामो गुरुङ पोखरा झरेकी छन्। उनको विद्यालय पनि पोखरा सरेपछि उनलाई अध्ययन पूरा गर्न पोखरा झर्नै पर्यो।

उनी भन्छिन्, यता पढाइ राम्रो हुन्छ। उता मुस्ताङमा जाडोमा विद्यालय खुलेपछि निकै कम विद्यार्थी मात्र पढ्न आउँछन्।एउटा प्रचलित नेपाली बालगीतमा भनिए झैँ वास्तवमा उनीहरू लेकका केटाकेटी हुन्।

उनीहरूको स्कूल कुहिरो भित्र रहन्छ। हिमपात सुरु भएपछि त अझ ती स्कूल हिउँले ढाकिन्छन्। वास्तवमै उनीहरूलाई पढ्न र लेख्न मुस्किल हुने गर्दछ।

त्यसैले त पूरै विद्यालयलाई लेकबेँसी गराउनु पर्नु बाध्यता आइपर्‍यो।

उपल्लो मुस्ताङका विद्यालय घुम्ती विद्यालयमा परिणत गरिएपछि त्यस्ता विद्यालयको अवधारणा एक हिमालपारिको जिल्लाबाट अर्को हिमालपारिको जिल्लामा क्रमश फैलिने क्रम सुरु हुन लागिसकेको छ।

माथिल्लो मुस्ताङका प्राय सबै विद्यालय अहिले विद्यार्थी सहित पोखरा झरेका छन्। मुस्ताङ र मनाङलाई हिमालपारिका जिल्ला पनि भनिन्छ।

खासगरी उपल्लो मुस्ताङका विद्यार्थीहरू आफ्नो पठनपाठन अघि बढाउन आज पनि घुमन्ते अवस्थामै रहन बाध्य भएका छन् भन्दा पत्यार नलाग्न सक्छ। तर यो वास्तविकता हो।

केही समययता त्यस क्षेत्रका विद्यालयहरू जाडो छल्नकै लागि पोखरा झार्न थालिएको छ। जाडोभरि पोखरामा सञ्चालन गरिने विद्यालयलाई घुम्ती विद्यालय नामाकरण गरिएको छ।

गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्टले सबभन्दा पहिला घुम्ती विद्यालयको अवधारणा अघि सारेका थिए। उनी आफैँ उपल्लो मुस्ताङबासी भएकाले त्यताका बालबालिका र अभिभावकको मर्का बुझ्ने नै भए।

सभासद् बिष्ट कुनै बेला राष्ट्रिय निम्न माध्यमिक विद्यालयको अध्यक्ष थिए। त्यतिबेला शिक्षाको स्तर किन कमजोर भयो भनेर अध्ययन गर्दा उनले दुई तीन वटा कारण पत्ता लगाए। त्यही क्रममा उनले शिक्षाको गुणस्तर सुधार्ने गर्ने एउटा उपाए पहिल्याए। त्यो थियो घुम्ती विद्यालयहरूको स्थापना गर्नु।

उनका अनुसार हिमाली क्षेत्रका विद्यालयको शिक्षाको गुणस्तर राम्रो नहुने अर्को कारण हो स्थानीय शिक्षक नहुनु। मुस्ताङका सबैजसो शिक्षकहरु दक्षिणतिरका कास्की, पर्वत र अन्य जिल्लाका हुन्छन्। उनीहरू दशैँ लागेपछि घर जान्छन्।

तिहारसँगै जाडो सुरु हुने हुँदा मुस्ताङका विद्यालयहरू असोजदेखि फागुनसम्म पठनपाठन बन्द गर्न बाध्य भए। बिष्टले त्यही समस्याको हल गर्न २०६१ सालमा घुम्ती विद्यालयको रूपमा राष्ट्रिय निमाविलाई पहिलो पटक पोखरामा अस्थायी स्थानान्तरण गराए।

उपल्लो मुस्ताङका तीन गाउँपालिका, लोमन्थाङ, लोघेकर, दामोदर कुण्डका अतिरिक्त वारागुङ मुक्तिनाथका विद्यार्थीहरूको जाडो महिनाको पढाइ पोखरामा हुने परम्परा नै बसिसकेको छ।

हाल पोखराका विभिन्न ठाउँमा २० वटा सामुदायिक विद्यालय, २ वटा संस्थागत विद्यालय र ६ वटा गुम्बा विद्यालयका करीब ७०० विद्यार्थी घुम्ती विद्यालयहरूमा अध्ययनरत रहेको शिक्षा एकाइका प्रमुख मतिलाल चपाइले बताए।

बालबालिकाहरू मात्र होइन त्यस क्षेत्रका अभिभावक पनि जाडो छल्ने र व्यापार पनि गर्ने उद्देश्य लिएर तुलनात्मक रूपमा न्यानो पोखरा उपत्यका झर्दछन्। हिमाली भेगका मानिसहरू जाडो छल्न र व्यापार गर्न नेपालका विभिन्न जिल्लाका अतिरिक्त सीमापारि भारत सम्मै पुग्ने चलन पुरानै हो।

उनीहरू हिमाली भेगबाट बेँसीतिर आउँदा जिम्बु जस्ता हिमाली जडिबुटी ल्याएर बिक्री गर्दछन्। फर्किँदा उनीहरू नेपाल वा पारि भारतबाट स्वेटर र तयारी पोशाक तथा अन्य सामान लिएर जान्छन्।

मुस्ताङको छुसाङमा सञ्चालित जननर्मल आधारभूत विद्यालयको घुम्ती विद्यालय पोखरा महानगरपालिका २६ जलधारेमा छ। दशैँलगत्तै ल्याइएको विद्यालय फागुनको अन्तिमसम्म चलाएपछि चैतको छुट्टी दिएर वैशाखदेखि माथि सञ्चालन गर्ने गरिएको जानकारी प्रधानाध्यापक लेखनाथ ढुङ्गानाले दिए।

घुम्ती विद्यालय सञ्चालनबाट विद्यार्थीको सिकाइको स्तरमा वृद्धि हुनुका साथै शिक्षाको समग्र गुणस्तरमा सुधार भएको शिक्षा एकाइका प्रमुख चपाइको अनुभव छ।

घुम्ती विद्यालय सञ्चालनका लागि नेपाल सरकारले प्रत्येक विद्यालयलाई ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउँछ। नपुग रकम स्थानीय जनसमुदायले पनि जुटाउँछन्। धेरैजसो विद्यालय भाडाको घरमा बसेका छन्।

केही विद्यालयले पोखरामा पनि आफ्नै भवन निर्माण गरिसकेका छन्। उपल्लो मुस्ताङका सबै गाउँमा बल्लतल्ल विद्युत पुग्न लागेको अवस्था छ।

त्यहाँ पर्याप्त उज्यालो र न्यानोको व्यवस्था गर्ने भौतिक पूर्वाधार नभएसम्म उपल्लो मुस्ताङका विद्यालयहरूले घुम्ती विद्यालयहरू सञ्चालन गरिरहने बाध्यता हट्ने छैन।

प्रदेशसभा सभासद् इन्द्रधारा बिष्ट भन्छन्, विद्युतको पर्याप्त व्यवस्था भएर विद्यालयहरुमा न्यानोको व्यवस्था हुनसके र अभिभावकहरू पनि गाउँमै अडिने वातावरण बनाउन सकेमात्र यो अवस्थाको अन्त्य हुन सक्छ।

जाडोमा गाउँ कुरेर बस्ने मानिसहरू निकै कष्ट सहन बाध्य हुन्छन्। जाडोमा विद्यालय सार्नु उपल्लो मुस्ताङबासीको रहर होइन बाध्यता हो।

त्यो भेगमा पर्याप्त ऊर्जा उत्पादन र विस्तार नहुन्जेलसम्म अहिलेको अस्थायी बसाइ सराइको रीति कायमै रहने निश्चित छ। बीबीसीबाट