ओली सरकार देश र जनताको भविष्य अन्धकार बनाउँदै छः सीपी गजुरेल (भिडियोसहित)

जनतालाई क्रान्तिको लागि तयार गर्नुपर्नेमा जोड

सुनसरी । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता सीपी गजुरेल गौंरवले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनतालार्ई अन्धकार भविष्यतिर डोर्याएको आरोप लगाएका छन ।

देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले हिजो सुनसरीको धरान बजार स्थित भानुचोकमा आयोजना गरेको एक कोण सभाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन ।

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले गत सात गदेखि देशव्याप रुपमा थालेको मेची महाकाली जनजागरण अभियान अन्तरगर्त यतिबेला उक्त अभियान चलिरहेको छ । गजुरेल उक्त मोर्चाका केन्द्रीय अध्यक्ष समेत हुन ।

मुलुकको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा थुप्रै समस्याहरु देखिएको बताउँदै नेता गजुरेलले त्यसको कारण वर्तमान संसदीय व्यवस्था भएको औल्याएका छन ।

उनले जनजागरण अभियान किन सञ्चालन गरियो ? जनजागरण अभियान मार्फत जनतालाई दिन खोजेको संन्देश के हो ? भन्ने जस्ता विषयमा खुलस्त विषय वस्तु पस्केका थिए ।

नेपाली जनताले ठूला ठूला संघर्ष र बलिदानी गरेको भएपनि त्यसको उपलब्धि भने केही पनि प्राप्त नभएको उनको दावी छ ।

उनले भने–‘२००७ सालमा आन्दोलन भयो, त्यसपछि पञ्चायतका विरुद्ध आन्दोलन भयो, त्यसपछि बहुदलिय व्यवस्था आयो, त्यसपछि फेरी जनताले आन्दोलन गरे, रगतको खोलो बग्यो, दशौं हजारले बलिदानी गरें, तर अहिले आएर त्यो सबैको हिसाब गर्दाखेरी जनताहरुले केही पनि पाएको देखिन्न । किन यस्तो भयो ? यो विषय निक्कै महत्वपूर्ण छ ।’

मुलुकलाई अन्धकार भविष्यतर्फ उन्मुख गराइएको भन्दै उनले भने–‘नेपालमा अहिले तुवालो लागेजस्तो देखिन्छ । मतलब मुलुकको भविष्य अन्यौलतामा छ, अगाडि केही पनि देखिदैँनन् । किन भने ठूलो बलिदानबाट यहाँसम्म पुग्दा समेत कुनै समस्या समाधान भएनन् ।’

सरकारप्रति गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै उनले भने–‘यहाँ मजदुर, किसान, मध्यमवर्ग, कर्मचाचारी, महिला, दलित तथा उत्पीडित वर्ग समुदायका कुनैपनि समस्याहरु समाधान भएको देखिन्न, अनि सरकार कस्को पक्षमा के काम गर्दैछ ? यो प्रश्न चिन्ह उसको अगाडि खडा भएको छ ।’

अभियानको उद्देश्यका विषयमा बताउँदै उनले भने–‘त्यत्रो रगत बगेको थियो, त्यसको मूल्य खै ? सत्ताँमा रहेकाहरुले राजनीतिक समस्याहरुको हल भैसकेको भन्दै अब मुलुक आर्थिक संवृद्धि र विकासको बाटोमा बढ्छ भन्दै जनतामा भ्रम छर्दै गएका छन, हामी त्यो सबै कर्तुतहको भण्डाफोर गर्नका लागि समेत यो मेची महाकाली जनजागरण अभियान देशव्यापी रुपमा सञ्चालन गरिरहेका छौं ।’

सत्ताँ टिकाउनका लागि नेपाल कम्युनिस्ट पार्टीले जनताको भोटलाई विभिन्न बाहनानामा दुरुपयोग गरेको उनले बताए । आन्दोलनपछि मुलुकको व्यवस्थामा सुधार आएको देखिएपनि जनयुद्धपछिको अवस्थामा भने त्यस्तो नदेखिएको भन्दै उनले भने–‘जनताको जनजीवन र जनतन्त्रमा अपेक्षाकृत सुधार आउँन सकेन ।

उनले सत्ताँरुढ कथित कम्युनिस्ट सरकारले विभिन्न समयमा देश र जनताको पक्षमा आवाजहरु बुलन्द गर्नुपर्नेमा जोड दिए । उनले नक्कली कम्युनिस्टहरुले जनतामाथि झुट, कपट र बेइमानिपूर्ण राजनीति गरिरहेको बताए ।

‘ओली सरकारको एक बर्षसम्म जनताले प्रतिक्षा गरे तर सरकारले देश र जनताको पक्षमा कुनैपनि काम गरेको देखिन्न, त्यसबाट यतिबेला आम नागरिकहरु चुनावमा भोट हालेर उनीहरुलाई जिताएर निक्कै ठूलो गल्ति गरिएछ भन्दै पछुतो गरिरहेको देखिन्छ ।’–उनले भने ।

मुलुकको राष्ट्रियतामाथि चारैतिरबाट हस्तक्षेप बढेको भन्दै उनले सत्ताँका मालिकहरु विदेशीका दलाल, विस्तारवादी, साम्राज्यवादी नीतिको एजेन्टको रुपमा काम गरिरहेको समेत दावी गरे ।

उनले भने–‘हामी लामो युद्धको अवस्थाबाट आएका छौं, धेरैका मनका घाउँहरु अझै पुरिएका छैनन, त्यसैले हामी अहिले नै युद्धको कुरा गरिरहेका छैनौं । तर यो अहिले पनि जनताको हक, अधिकार प्राप्त नहुनेले भने अर्को संघर्षको माग गरिरहेको छ, त्यसको तयारी गर्नुको विकल्प छैन ।’

उनले अहिले आफ्नो पार्टीले जनआन्दोलनको कार्यक्रममा जोड दिएको भन्दै जनयुद्ध वा कुनै प्रकारको क्रान्ति अहिले नै नहुने बताए । वर्गिय समाजमा सत्ताँ, व्यवस्था र त्यसका हरेक प्रकृयामा त्यसको प्रभाव पर्ने भएकाले जनता विस्तारै विद्राहका लागि तयार भएपछि मात्र त्यो सम्भव हुने उनको भनाई थियो ।

विश्व र नेपालको परिवेशमा सामाजिक वस्तुस्थिति धेरै बदलिएको भन्दै उनले यतिबेला जनयुद्धका लागि जनताको समर्थन नभएकाले त्यसको तयारीमा आफ्नो पार्टी विभिन्न कार्यक्रम लिएर, जनतालाई बुझाउने प्रकृयामा जोडिएको समेत बताए ।

उक्त कोणसभामा नेकपा (क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरीभक्त कडेंल प्रतिक, पोलिटव्यूरो सदस्य बालबहादुर, पार्टीका केन्द्रीय सदस्यहरु, क्रान्तिकारी पत्रकार महासंघका लोकराज जैसी, क्रान्तिकारी युवा लिगका गगा लगाएतको आतिथ्यता रहेको थियो ।