हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने तयारी पुरा

बाँके ।   राप्तीसोनारी गाउँपालिकामा हात्तीपाईले रोग निवारण अभियानको तयारी पुरा भएको छ । 
यही फागुन १५ गते देखी राप्तीसोनारी गाउँपालिका लगायत जिल्लाका विभिन्न ठाउँमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईने भएको हो । 
गाउँपालिकाको वडा नम्बर १ देखी ९ सम्मका ५९ हजार जना अर्थात ६४ प्रतिशतलाई यस पटक हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउन लागिएको जनाए । 
राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद चुडालीका अनुसार उक्त अभियानकालागि दैनिक ४३ जना स्वास्थ्यकर्मी तथा १ सय १० जना महिला स्वास्थ्य स्वयं सेविका खटाएने बताए । 
उक्त गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी छन् । गाउँपालिकाको विभिन्न वडामा स्थापना भएका बुथमा औषधी खुवाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख चुडालीले बताए । 
सबै बुथमा औषधी पुग्ने गरी औषधी प्याक गरेर पठाईसकेका छौं, हाम्रो तयारी लगभग पुरा भईसकेको प्रमुख चुडालीले बताए ।
 यसपटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाउने कार्यक्रम रहेको बताए साथै सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत यस अघि ८ औं पटक हात्ती पाईले रोग विरुद्धको औषधी खुवाइएको थियो । 
रोग नियन्त्रणमा नआउँदा हरेक वर्ष सरकारले औषधी खुवाउने गरेको हो । पहिलो दिन फागुन १५ गते प्रत्येक बुथमा औषधी खुवाईसके पछि भोलीपल्टबाट छुटेका ब्यक्तिलाई घर–घरमा पुगेर औषधी खुवाइने स्वास्थ्य शाखा प्रमुख चुडालीले जनाए एक जना स्वास्थ्यकर्मीलाई ५० घरको जिम्मा दिईन्छ, औषधी खुवाउने कार्यक्रम पाँच दिनसम्म संचालन हुने प्र्रमुख चुडालीले बताए ।
      औषधी खुवाउन वडास्तरका जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधीले पनि सहजीकरण गर्ने भएका छन् । गाउँपालिकाले यसअघि हात्तीपाईले रोग निवारण कार्यक्रमका लागि वडा र गाउँपालिका स्तरमा अन्तरक्रिया, अभिमुखीकरण लगायतका कार्यक्रम गरि सकेको छ ।