नेता सीपी गजुरेलको प्रश्नः कता हरायो हाम्रो दश हजार १९ वर्ग किलोमिटर जमिन ? (भिडियोसहित)

सरकार असफल, जनगणतन्त्रको लागि जनआन्दोलन

सर्लाही । मुलुकमा राष्ट्रियताको अवस्था विकराल बन्दै गएको बेला त्यसप्रति राज्य मौन देखिनुले आफुलाई आश्चार्य लागेको एक जना माओवादी नेताले सर्लाहीको एक कार्यक्रममा बताए ।

उनले मुलुकको राष्ट्रियता दिन प्रतिदिन कमजोर बन्दै गएको र सीमा क्षेत्रमा भारतीय पक्षबाट अतिक्रमणको प्रयास भैरहेको भन्दै चिन्ता व्यक्त गरे ।

आधा महिना लामो अवधीको लागि मेची महाकाली जनजागरण तथा परिचालन अभियान लिएर मुलुकका चार स्थानहरुबाट एकै साथ अघि बढेको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले हिजो सर्लाहीको बर्दिवासमा आयोजित सनसभामा त्यस्तो चिन्ता गरेका हुन ।

नेता गजुरेलले अभियानको अवधीमा विभिन्न सीमावर्ती क्षेत्रमा आफुले अनुगमन, निरिक्षण र स्थानीयसँग छलफल गर्दा अधिकांश क्षेत्रमा नेपाली भूभागमा भारतीय अतिक्रमण भएको देखिएको बताए ।

उनले कतिपय स्थानमा दश गजा क्षेत्र मिचिर भारतीय पक्षबाट सरकारी कार्यालय नै राखेको भेटिएको भएपनि त्यसप्रति नेपाल सरकार मौन हुनुले धेरै खालका प्रश्नहरु उब्जेको बताए ।

उनले भारतीय पक्षबाट दशगजा क्षेत्र मिचेर बस्ती बसाएको, एकपक्षिय रुपमा बाटो बनाएको, नेपालतर्फ आएर नागरिकहरुलाई आतंकित पार्ने खालका कामहरु गर्ने गरेको अनुगमन तथा निरिक्षणको क्रममा देखिएको बताए ।

काठमाडौंमा बसेर राष्ट्रियताका सवालमा सरकारी वहस भएपनि सीमा क्षेत्रको सुरक्षाका लागि तराईका मधेशी समूदायले लड्नु परेको भन्दै उनले तराईका नागरिकहरु नै सबैभन्दा राष्ट्रवादी भएको तर्क गरे ।

सीमा क्षेत्रमा हुने आक्रमण र त्रासका बेलामा समेत ज्यानको प्रर्वाह नगरि तराईका नागरिकहरुले मुलुकको स्वाधीनताका लागि लडेका घटनाहरुको स्मरण गर्दै उनले भने–‘मधेशी नागरिकहरुमा वास्तविक राष्ट्र प्रेम छ, ओलीको जस्तो भाषणमा सिमित राष्ट्रिवादको के काम, सीमा मिचिएको छ, आँखा चिम्लेर बस्ने कस्तो सरकार ?’

उनले मुलुकमा कथित कम्युनिस्टको सरकार आएको भनिएपनि त्यसले जनताको गाँस, बाँस, कपास र शिक्षा, स्वास्थ्य र रोजगारको समस्या हल गर्न नसकेको औल्याउँदै त्यसलाई नामधारी कम्युनिस्ट सरकारको रुपमा परिभाषित गरे ।

उनले भने–‘यो सरकार दलाल, तस्कर, माफीया र राष्ट्रघातीहरुको संरक्षका पक्षमा छ, यहाँबाट देश र जनताको पक्षमा हुनेवाला केही छैन, दिनदिनै समस्याहरु विकराल बन्दै गएका छन, महंगी, कालाकजारीले सीमा नाघेंको छ, के यस्तै हुन्छ कम्युनिस्ट व्यवस्था ?’

उनले नेपालको वृहत नेपालको क्षेत्र खोजी गर्नुको सटो ओली सरकारले भएको क्षेत्रफल समेत पछिल्लो पटक प्रदेशको नक्साबाट गायब गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सात प्रदेशको कुल क्षेत्रफल जोड्दा १० हजार १९ वर्ग किलोमिटर जमिन ओली सरकारले नक्साबाट गायब गरेको बताए ।

उनले प्रश्न गर्दै भने–‘कता गयो हाम्रो १० हजार १९ वर्ग किमि जमिन ? यसको जवाफ दिनु पर्दैन । अब जनताले यस्ता जनघाती, राष्ट्रघाती व्यवस्थालाई सडक आन्दोलनको बलमा खारेज गर्नुको विकल्प छैन, यसले हामी कसैको भलाई गर्र्दैन ।’

उनले दुई तीहाइको सरकारलाई देश र जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने भन्दै भने–‘संसदीय व्यवस्थामा दुई तिहाइको सरकार सार्वभौम हुन्छ, मन लागेमा सबै काम गर्न सक्छ, मात्र एउटा काम गर्न सक्दैन, त्यो भनेको महिलालाई पुरुष र पुरुषलाई महिला बनाउँन सक्दैन बाँकी त सबै गर्न सक्छ ।’

निर्वाचनको बेलामा विकास र संवृद्धीको सपना देखाएर जनतासँग झुट बोलेका नताहरु यतिबेला जनताको अगाडि राम्ररी बोल्न पनि डराउँनु पर्ने स्थिति भएको उनले भने ।

उनले भने–‘मुलुकमा संवृद्धि आउँछ र सबै समस्याको समाधान हुन्छ भनेर भोट हालेका जनताहरु कहिले आउँछ संवृद्धि भनेर कुरेर बसिरहेका छन, तर सरकारले भने संवृद्धिको नाममा कर, महंगी, दलाली, भ्रष्टाचारी बढाएको छ, हत्यारा, बलात्कारीलाई संरक्षण दिएको छ, अब के भन्ने यसलाई ?’

उनले स्केल गएका छोरा छोरी साँझ घर आउने नआउने चिन्ता अभिभावकले लिएको र मुलुकमा सिक्किमिकरण बढ्ने खतरा आम राष्ट्रवादी नागरिकमा जागेको भन्दै भने–‘अब यस्तो व्यवस्थाको हामीले विकल्प खोज्नै पर्छ, जनताको हक, हित र अधिकारको लागि संघीय जनगणतन्त्रको स्थापना गर्नको विकल्प छैन, हामी यो विषयमा छलफल गर्न तपाईहरु सँग आएका छौ, यसको लागि सडक संर्घमा जुटौं ।’

जनताको संरक्षण गर्नुपर्नेमा सरकारले अपराधीहरुको संरक्षण गरेको भन्दै उनले प्रश्न गरे–‘यो कस्तो गणतन्त्र हो ? यो कस्तो व्यवस्था हो ? के हामीले यहि मागेका थियो ?’ उनले अहिलेको लोकतान्त्रीक गणतन्त्र सामन्त, दलाल, पूजिवादीहरुको सड्यन्त्रका रुपमा आएको भन्दै त्यो जनयुद्धमा आफुहरुले नमागेको तर्क गरे ।

उनले शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा राज्यले माफीयाकरण गरेको र त्यसमा व्यापार भएको भन्दै त्यसको विरोध गरे ।

उनले संसदीय व्यवस्था मुलुकमा रहेसम्म समस्याको हल नहुने भन्दै राष्ट्रिय स्वाधिनताका लागि पुर्न अर्को जनआन्दोलन गर्नुपर्नेमा जोड दिए । उनले सडक आन्दोलनका लागि तयार रहन समेत सबै नागरिकहरुमा आह्वान गरे ।

उक्त जनसभामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरीभक्त कडेल प्रतिक, पोलिटवयूरो तथा प्रदेश दुईका देजमो संयोजक कमल थारु, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरेन्द्र यादव लगाएतको उपस्थिति रहेको थियो ।

देजमो सर्लाहीका अध्यक्ष प्रेम भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय बुद्धिजिवी, नागरिक, पत्रकार गरी ३०० जतिको उपस्थिति रहेको थियो । गजुरेलले त्यस लगत्तै इश्वरपुरको रामनगरमा आयोजित कोण सभामा समेत सम्बोधन गरेका थिए ।