शहीद सप्ताहमा क्रान्तिकारी माओवादीद्धारा शहीद परिवारसँग भेटघाटः हत्या स्थल अवलोकन (भिडियोसहित)

क्रान्ति पुरा गर्ने प्रतिबद्धता: सामन्तवाद विरूद्ध अभियान

बारा । आफ्नो शरीरको प्रवाह नगरि देश र जनताको मुक्ति आन्दोलनमा मृत्युवरण गर्ने महान शहीदहरुको स्मरण गर्दै उनीहरुले देखाएको बाटोमा निरन्तर हिड्ने प्रतिवद्धतासहित नेकपा क्रान्तिकारी माओवादीले शहीद सप्ताह मनाएको छ ।

पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले देशभर सञ्चालन गरिरहेको मेची महाकाली जनजागरण तथा परिचालन अभियानसँगै क्रान्तिकारी माओवादीले शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु समेत गर्दै शहीद सप्ताह मनाइरहेको छ ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरीभक्त कडेंल प्रतिकले शहीदहरुले देखाएको बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धतासहित अभियानसँग सँगै ठाउँठाउँमा शहीदहरुको स्मरण गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन ।

मेची महाकाली अभियानको क्रममा हिजो नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता तथा मोर्चाका अध्यक्ष सीपी गजुरेल गौरव नेतृत्वको टिमले बारा जिल्लाका शहीद परिवारहरुसँग भेटघाट तथा छलफल गरेको छ ।

जिल्लाको यमुनामाई गाउँपालिकाको भिडियाही गाउँमा पुगेको अभियान टोलीले जनन्यायीक व्यवस्थाका लागि तत्कालीन माओवादीले शुरु गरेको जनयुद्धमा लागेको कारण राज्यले यातना दिएर हत्या गरेका शहीदको परिवारहरुसँग भेटघाट गरेको हो ।

अभियान टोलीले शहीद सप्ताहको क्रममा त्यहाँ शहीद परिवारका सदस्यहरुसँग समस्या, आन्दोलन र विकल्पका विषयमा कुराकानी गरेको हो ।

भेटघाटका क्रममा शहीद परिवारका सदस्यहरुले शहीदहरुले देखेको सपना पुरा नभएको र त्यसका लागि क्रान्तिकारी माओवादीले पहल गरोस भन्ने अपेक्षा गरेका थिए ।

उनीहरुले समाजमा अहिले पनि सामन्तवाद हावि रहेको र संघीयताको नाममा दलिय नेताहरुले त्यसको प्रतिनिधित्व गरिरहेको भन्दै दुखका अनुभुतिहरु सुनाएका थिए ।

अभियान टोलीको तर्फबाट क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले शहीद कैलाश पण्डित सरोजका बुवा, छोरा र परिवारका सदस्यहरुलाई क्रान्ति समाप्त नभएको भन्दै पार्टीको तर्फबाट प्रतिबद्धता सुनाएका थिए ।

उक्त टोलीले त्यहाँका शहीद परिवारका अन्य सदस्यहरुसँग समेत भेटघाट गरेको थियो । त्यस्तै त्यहाँ शहीद सरोजसँगै तत्कालिन सरकारद्धारा हत्या गरिएका रित बहादुर खड्काको घटना स्थलको अवलोकन समेत गर्यो ।

युद्धकालमा बाराको उक्त एरियाको सेक्रेटरीको जिम्मेवारीमा रहेका सरोज र पार्टीको केन्द्रीय जिम्मेवारीमा रहेका रितबहादुरको त्यहाँ हत्या गरिएको पुराना माओावादी नेताहरु बताउँछन ।

पार्टीको आन्तरिक बैठक सकेर फर्कने क्रममा सीमावर्ति क्षेत्रभन्दा करिब २५ किलोमिटरको दुरीमा पर्ने हालको दुर्गाभवानी १, पिपरा नजिक उनीहरुको हत्या गरिएको बताइन्छ ।

स्थानीयहरुका अनुसार रित कुमारलाई लखेटेर लायब गरि हत्या गरिएको थियो भने सरोजलाई समातेर त्यहाँ नजिक (नर्सरीमा) रहेको रुखमा बाँधेर निर्घात कुटपिट गरी अमानबिय ढंगले हत्या गरिएको थियो ।

उक्त हत्या गरिएको क्षेत्रको क्रान्तिकारी माओवादीका नेताहरु, कार्यकर्ताहरुले अवलोकन गरेका थिए । दर्जनौको सख्यामा रहेका क्रान्तिकारी माओवादीका नेता, कार्यकर्ताहरुले भावुक हुँदै निरन्तर क्रान्तिको बाटोमा हिड्ने प्रतिबद्धता जनाए ।

क्रान्तिकारी माओवादी निकटको देजमो बाराका संयोजक खड्ग शाहले घटनाको विषयमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा नेता गजुरेलका साथै पार्टीका पोलटव्यूरो सदस्य तथा देजमोका प्रदेश संयोजक कमल चौधरी, पार्टीका जिल्ला सेक्रेटरी प्रलाद शाह, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी लगायत अन्य संगठनका नेता, कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।