सडक आन्दोलनको प्रस्ताव जनताबाट अनुमोदित भयो, अब संघर्षमा जान्छौंः सीपी गजुरेल (भिडियोसहित)

जनगणतनत्र स्थापना गर्नुपर्नेमा जोड

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले मोर्चाले सञ्चालन गरेको १५ दिने मेची महाकाली अभियानको क्रममा जनताले वर्तमान व्यवास्थका विरुद्ध सडक आन्दोलनको प्रस्तावलाई अनुमोदन गरेको भन्दै थप संघर्षको गर्ने बताएका छन ।

मोर्चाले अभियानका क्रममा वर्तमान व्यवस्था र ओली नेतृत्वको सरकारले तमाम राष्ट्रघाती, जनघाती कामहरु गरेको र त्यो सामाजिक फाँसिवादतर्फ उन्मुख रहेको भन्दै त्यसको विकल्पमा सडक आन्दोलनको प्रस्ताव जनतामाझ पेश गरेको थियो ।

जनताले वर्तमान सत्ताको विकल्पमा जनआन्दोलन गर्ने प्रस्तावमा समर्थन गरेको भन्दै उनले भने–‘हामी यो व्यवस्था पनि मान्दैनौं, कानुन पनि मान्दैनौं, त्यसको खारेजी गरेर जनताको व्यवस्था स्थापना गर्न चाहन्छौं ।’

इतिहासमा जनताले सडक आन्दोलनबाट धेरै ठूलो परिवर्तन ल्याएको भन्दै उनले भने–‘राजतन्त्रात्मक व्यवस्था पनि जनताकै आन्दोलनले फाल्यो, अब संसदीय व्यवस्था पनि सम्भव छ । जनआन्दोलनबाट ओली सरकार खारेज हुन्छ ।’

ओली सरकार दुई तिहाईको उन्मादमा जनघाती काममा लागेको भन्दै उनले भने–‘हामीले सडक आन्दोलनको ओली सरकारको अन्त्यका लागि मात्र होइन, व्यवस्था बदल्नका लागि गर्ने कुरा गरिरहेका छौं । यहि व्यवस्थामा पात्र बदलेर जनताको हक अधिकारको ग्यारेन्टी हुँदैन, त्यसैले हामी जनगणतन्त्र ल्याउन चाहन्छौ ।’

गजुरेलले सडक आन्दोलनबाटै यो सरकार, व्यवस्था र संविधान फालिने उद्घोष गरे । देशका ३० वटा भन्दा बढी जिल्लामा सयभन्दा बढी विभिन्न कार्यक्रम सम्पन्न गरेको अभियान सफल रहेको चर्चा गर्दै अध्यक्ष गजुरेलले अभियानको क्रममा जनताले सडक आन्दोलनका लागि मोर्चालाई म्याण्डेट दिएको समेत दावी गरे ।

अध्यक्ष गजुरेलले क्रान्ति आवश्यक छ, सम्भव छ र हुन्छ भन्दै त्यसका लागि परिवर्तनकामी आम जनतालाई आव्हान समेत गरे ।

राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरु विकराल बन्दै गएको चर्चा गर्दै उनले वर्तमान सरकार, व्यवस्था र संविधान रहेसम्म मुलुकले दुर्दसा व्यहोरिरहनु पर्ने समेत टिप्पणी गरे ।