श्रमजीवि तथा उत्पीडित समुदायको समस्या र देजमो प्रदेश पाँचको सम्मेलनबारे

जनगणतन्त्रका लागि सडक आन्दोलन

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नम्बर पाँचको प्रथम प्रदेश सम्मेलन मिति २०७५ चैत्र ५ र ६ गतेका दिन नेपालगञ्ज नगरीमा हुनगर्यरहेको सूचित गर्न पाउँदा हर्षित छौं ।  सम्मेलन सफलताका निम्ति हरतरहले सहयोग र समर्थन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । नेपाली राष्ट एकातिर दलाल, नोकरशाही पूजिँपति र सामन्त वर्ग तथा अर्कातिर साम्राज्यवाद, विस्तारवादको दोहोरो शोषण र उत्पीडनको शिकार भैरहेको छ । नेपाल राष्ट्रलाई स्वाधीन, स्वतन्त्र, सार्वभौमिक सत्ताँ सम्पन्न र समृद्ध बनाउन नेपाली समाजको विद्यमान आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक अवस्थामा आमूल परिवर्तन हुनु अनिवार्य छ । अर्ध सामन्ती, अर्ध औपनिवेशिक र नव औपनिवेशिक राज्यसत्ताको चरित्रमा आमूल परिवर्तन सर्वहारा वर्गको नेतृत्व र देशभक्त जनगणतान्त्रि शक्तिहरुको संलग्नतामा सम्पन्न हुने पुँजिवादी जनवादी क्रान्तिले मात्र गर्न सक्दछ । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मात्र समाजवादी व्यवस्था स्थापनाका लागि मार्ग प्रशस्त हुनेछ । यही उद्देश्यमा सहयोग पुर्याउन र राष्ट्र र राष्ट्रियताका अगाडि उभिएका समस्याहरुको समाधानका निम्ति संघर्ष गर्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको स्थापना गरिएको हो ।

यतिबेला नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न गम्भीर बनेको छ । नेपाल राष्ट्र साँचो अर्थमा स्वाधिन छैन । शासनसत्तामा दलाल र नोकरशाही पूँजिवादी तथा सामन्तहरुको बोलवाल छ । त्यसकारण स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सकिरहेको छैन । त्यसको दुष्परिणाम् आर्थिक परनिर्भरता, अर्थतन्त्रमा वैदेशिक नियन्त्रण, नित्तिय पूँजिको प्रधानता र बेरोजगारी मौलाएको छ । यो अवस्थामा नेपालमा विद्यमान राष्ट्रिय स्वाधिनता, जनजीविका र आर्थिक विकास तथा जनगणतन्त्रको स्थापनाको पक्षमा रहेका नेपाली जनताका बीचमा क्रान्तिकारी संयुक्त मोर्चा बनाउनु अत्यावश्यक छ । यसो गरेर मात्र हामीले जनताको अपराजित शक्ति निर्माण गर्न सक्ने छौं ।

अहिले देशमा कथित बाम सरकार बनेको छ । त्यसको प्रधानमन्त्रीदेखि सांसदहश्र समेतले भनिरहेका छन, ‘सवृद्ध नेपाल’ । तर जनताका सामान्य आधारभूत समस्याहरु समाधान गर्ने दिशामा अग्रसर हुने त परैजावस उल्टै महंगी, भ्रष्टाचार, कालाबजारी, घुसखोरी, हरेक कुरामा विचौलिया र दलाली, आदीले जनतालाई आक्रान्त बनाएको छ । प्रधानमन्त्री वलीले हरेक भाषणमा भनिरहेका छन् ‘भ्रष्टाचार पनि गर्दिन र हुन पनि दिन्न’ तर भ्रष्टाचारको जालो दिनप्रतिदिन फैलदै गएको छ । रोजगारीको खोजीमा दैनिक सयकडौं युवाहरु विदेशिन बाध्य हुनेक्रम बढ्दोछ ।

सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरुले लादेको विदेशी दासता र त्यसले उब्जाएका आर्थिक, राजनीतिक र सामाजिक समस्याहहरुले नेपाली जनताका जनजीवनमा गम्भीर नकारात्मक असरहरु पार्दै आइरहेको छ । दिन दहाडै हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु बढीरहेका छन् । सामाजिक विसंगति र विकृतिहरुका रुपमा रहेका छुवाछुत र बोक्सीका आरोपमा दलित समुदाय तथा गरीब निमुखा महिलाहरु प्रताडित भैरहेका छन् । तर सत्ताँधारी पार्टीका नेता र सरकारका प्रतिनिधिहरु फलाकी रहेका छन्, शान्त, संम्वृद्ध र सम्पन्न् नेपाल ।

अन्त्यमा, नेपाली जनताले राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र तथा शान्ति र सम्वृद्धिका निम्ति विद्यमान दलाल र नोकरशाह पूँजिपति तथा सामन्तहरुको राज्यसत्ताँलाई अपदस्त गरेर जनताको जनगणतन्त्र स्थापनाको कुनै विकल्प छैन । त्यसका लागि सच्चा क्रान्तिकारी कम्युनिष्ट, देशभक्त जनगणतान्त्रीक, अग्रगामी शक्तिहरु एकजुट भएर सचेत र संगठित आन्दोलन गर्नु आजको ऐतिहासिक आवश्यकता हो । यही अभिभारा पुरा गर्ने क्रममा हुन गैरहेको देजमो नेपाल प्रदेश नम्बर पाँचको प्रथम प्रदेश सम्मेलन सफलताको लागि मजदुर, किसान, शिक्षक, कर्मचारी, व्यापारी, उद्योगी, युवा, आदिवासी जनजाती, मधेशी, महिला, विद्यार्थी, बुद्धिजीवि एवं सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पाँच नम्बर प्रदेश संगठन समिति

तथा संयोजक केशरबहादुर गुरुङ