निर्माता नवल खडकाको जीवनः चलचित्र नै जीवनको मूख्य नशा

भन्छन–‘हाम्रो देश जस्तो सुन्दर अर्को कुनै राष्ट छैन’

वि.स.२०३२ साल असाढ ३ गते खोटाङ जिल्लाको सिमपानी गाविसमा जन्मएर काठमाडौंलाई आफ्नो कर्मथालो बनाएका नेपाली चलचित्र जगतका एक होनहार प्रतिभा,जो नायक,निर्माता,निर्देशक सबैको प्रायवाची जस्तै लाग्दछन,आजको मेरो जीवन स्तम्भमा हामीले त्यस्तो व्यक्तिको छनोट गरेका छौ । कानुनमा बिएल गरे पनि कलाकारीतालाई जीवनको मुख्य पेशा बनाएका कलाकार नवल खड्काको जीवनका विविध पाटाहरु हामीले खोतल्ने प्रयाश गरेका छौ । २०५३ सालमा सर्वउत्कृष्ट नायकको रुपमा अवार्ड पाएका खड्काले करिब २५ वटा नेपाली चलचित्रमा अभिनय गरेका छन भने चार वटा चलचित्रहरु (माया बसेछ, आवाज,दशगजा, भिमदत्त)मा निर्माता,निर्देशन समेत गरेका छन । चलचित्र कलाकार संघको अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी समेत निर्वाह गरिसकेका खड्का कलाकार मात्र भने नभएको दाबी गर्छन । उनी आफुलाई एक,कर्मयोगी र समाजसेवी मानीस भन्न पनि चाउछन । अत्यन्त सरल व्यक्तित्वका धनी,सरल व्यवहार र उदार भावना भएका खड्काले सिनामंगलमा आफ्नै ‘ग्रिन टि’ को बिक्रि वितरण गर्ने कम्पनी पनि चलाएका छन । उनकी जीवन संगिनी गायिका सत्यकाला राई र दुई छोरीहरु समेत उक्त सेलिब्रेटि ग्रिन टि सपमा बस्ने गर्दछन । प्रस्तुत छ,उहाँको जीवनका विविध पाटाहरु….

मेरो रुचि- मलाई चलचित्र क्षेत्रमै केही बर्ष काम गर्न मन छ । त्यसपछि समाज सेवामा संलग्न हुने र राजनीतिमा आउने पनि मैले सोच बनाएको छ । नयाँ नयाँ ठाउँको भ्रमण र नयाँ विषयको अध्ययन गर्ने कुरामा मेरो रुचि रहेको छ ।

मेरो परिवार – मेरो संयुक्त परिवारमा बुबा,आमा,दाइ,दिदी र म थियौं । अहिले हामी काठमाडौंमा बस्छौ । मेरो परिवारमा म,श्रीमती र दुई छोरी गरी चार जना रहेका छौ । परिवार सानो छ,घरमा शान्ति छ,मनमा प्रसन्नता छ । हामी खुशी छौ ।

मेरो खाना- मेरो घरमा सामान्य नेपालीहरुको घरमा पाक्ने खाना नै पाक्छ । मलाई खानामा जे भएपनि हुन्छ, खानामा यहि नै चाहिन्छ भन्ने मेरो बानी छैन । विशेष त ढिडो,मकैको च्याक्ला,साँग,सिस्नु,गुन्द्रुक मलाई मन पर्छ । देश विदेश जानु पर्ने भएकाले र साथिहरुसँग कहिले काही बाहिरको खाना पनि खान्छु । अल्कोहल मेरो कल्पना भन्दा बाहिरको बिषय हो,मैले अहिले सम्म स्वाद पनि लिएको छैन । मलाई अमिलो,पिरो खाने कुराहरु मन पर्दछ तर मेरो परिवार गायिका भएकोले अमिलो,पिरो खानु हुदैन, उहाँ यस्ता कुरामा विशेष ध्यान दिनुहुन्छ ।

मेरो पोसाक- म पोसाकमा त्यति सारो सोखीन छैन । सफा जुन सुकै लुगा भएपनि लगाउँछु । प्राय कामको हतार हुने र फुुुर्सद नहुँदा भएकाले जे भेट्छु,जे अगाडी देख्छु त्यहि लगाउँने गर्दछु । कहिले काहिँ साथिहरुसँग कार्यक्रममा जादा भने टाई सुट लगाएर जान्छु । मेरो परिवारले अलि चिटिक्क भएर हिँडनु पर्छ,सेलिब्रेटी जस्तो मान्छे भन्नु हुन्छ तर म सामाजिक कार्यक्रममा अलि बढि चासो राख्ने भएकाले बेस्तताका कारण लुगा तिर खासै ध्यान दिने गर्दिन ।

मेरो स्वाथ्य- मलाई बिचमा अलि कति सुगरको समस्या देखियो तर अहिले ठिक भएको छ । म पहिला पहिला जिम पनि जाने गर्थे, तर अहिले भने समय नहँुदा जार्दैन । कहिले काहिँ (फुर्सद भएपछि) बिहानमा शारिरीक व्याम गर्ने गर्दछु । बढी पानी पिउने र नियमित शारिरीक व्याम गर्ने मानिस वास्तवमा निरोगी हुन सक्छन् भन्ने मेरो धारणा रहेको छ ।

मेरो शिक्षा – मैले सिमपानी माध्यामिक विद्यालयबाट एसएलसी पाश गरेको हुँ । अनि नेपाल ल क्याम्पस भृकुटीमण्डपबाट बिएल गरे । त्यसका साथै मलाई अग्रेजि सिक्न मन लागेपछि बागबजारमा भाषा पनि सिके । वास्तवमा कानुनको अध्ययनबाट मैले समाज के हो र कसरी बाच्नु पर्दछ भन्ने कुरा राम्ररी बुझ्न पाए । मैले औपचारीक अध्ययन ‘ल’ बिषयमा गरेको भएता पनि मेरो रुचि भने चलचित्र क्षेत्रमै बढि थियो । सायद चलचित्र क्षेत्रको नसाले नै होला मैले त्यो भन्दा अगाडि पढ्न सकिन । तर चलचित्र क्षेत्रमा भने एक पछि अर्को काममा बेस्त हुदै यहाँसम्म पुगेको छु ।

मेरो पेशा- चलचित्र जगतमा विशेषगरी अभिनेता र निर्माताको रुपमा काम गरेको छु । मैले मेरो जीवनको लामो समय यही क्षेत्रमा मै खर्चेको छु,यसैबाट कमाउँन सिके, तसर्थ चलचित्र क्षेत्र नै मेरो मुख्य पेशा हो । समाज सेवाका कार्यहरुमा पनि मेरो रुचि रहेको छ । बाग्मती सफाई अभियान,सेलिब्रेटी टेड मार्क र हाम्रा उत्पादन जस्तै चिया,कफि,घिउ,मह,चामल आदि लाई पनि बजारमा ल्याउनु पर्छ भन्ने अभियानमा म सक्रिय रहेको छु ।

मेरो भ्रमण- मैले करिब २५ भन्दा बढि देशहरु घुमेको छु । विकासको हिसाबले हाम्रो देश धेरै पछाडि छ । तर हाम्रो देशको आफ्नै खालको बिशेषता छ । देश विदेश घुमेर नयाँ कुरा अवलोकन गरी देशको विकास गर्ने भावना पनि मेरो मनमा जाग्ने गर्दछ तर यहाँको राजनीति अस्थिर हुनाले जनताहरु पनि पिडित छन । यदि राजनीतीक अस्थिरता कम हुने हो भने हाम्रो देश जस्तो सुन्दर अर्को कुनै राष्ट्र छैन ।

मेरो फुर्सदको पल- मलाई समय निकाल्न धेरै गाह्रो हुन्छ । मेरो समाज सेवामा रुचि भएकोले आफन्त,चिनेका मानिस बिरामी भएर काठमाण्डौँ आउने जाने गर्दा मलाई नै बोलाउँनु हुन्छ, म सहयोगको लागि कहिले काही त राति पनि बाहिर जाने गर्छु । यसरी व्यस्त भएता पनि परिवारलाई समय दिएको छु । कहिले काही फुर्सद भयो भने, अनलाइन संचारमाध्यम र फेसबुक पनि उतिकै चलाउँछु । अनलाइनमा समाचार मुलक सामाग्रीहरु हेर्ने गर्छु,मोबाइलमै समाचार हेर्न पाएपछि धेरै सजिलो बनाएको महसूस गर्ने गरेको छु । वास्तवमै मसँग अरु सब छ, समय छैन ।

मेरो फिल्म- म सँग समय नहुदा त्यति फिल्म हेर्न पाएको छैन । मैले हेरेको पहिलो फिल्म माया प्रिति हो । मलाई पहिला निर्माण भएका केहि फिल्म बलिदान,दर्पण छायाँ,आगो र आफुले निर्माण गरेका फिल्महरु मन पर्छन ।

मेरो साहित्य- म सानैमा पनि साहित्यमा अलि रुचि राख्ने गर्दथ्य । मैले चलचित्रको कथाहरु आफैले लेखेको छु । अब नयाँ विषयको खोजीमा रहेको छु,नयाँ कथा लेख्ने तयारीमा रहेको छु । दशगजा,आवाज चलचित्रको कथावस्तु मैले नै लेखेको हुँ । मैले केहि कविता पनि लेखेको छु ।

मेरो नशा- वास्तवमा चलचित्र क्षेत्र नै मेरो मुख्य नशाको रुपमा रहेको छ । यसका साथै सामाजिक कार्यमा पनि ध्यान दिने गर्दछु । अरु त्यस्तो कुनैपनि नसा मैले लिने गरेको छैन ।

मेरो घर- मैले आफैले घर भने बनाएको छैन । पुख्यौलि घर पहाड (खोटाङ) मा अझै छ,त्यस्तै गरी कोटेश्वरमा पनि पुख्यौलि सम्पतिमा बनेको घर छ तर मैले आफैले कमाएर घर बनाएको छैन । हामी भाडाँको घरमा नै बस्ने गर्दछौ अब आफ्नै घर बनाउने सोचमा छु ।

मेरो विवाह- मैले लभ म्यारीज भएको हो । हाम्रो अन्तर जातिय विवाह पनि हो । मेरो श्रीमती गायिका सत्यकला राई हुनुहुन्छ,उहाँसँग मनमा पलाएको मायाले जीवन संगिनीको सम्बन्धसम्म पुर्यायो । हाम्रो प्रेमको सुरुवातको समयमा उहाँ एकल महिला हुनुहुन्थ्यो, उहाँको पहिलेको सम्बन्ध बिग्रेको थियो । मनले चाहेपनि समाज र अरुसँग मतलब नहुने रहेछ, मैले उहाँसँग नै विहे गर्ने योजना बनाए र हामीले एक अर्कालाई जीवन साथीको रुपमा सम्बन्धलाई अगाडि बढाएका हौ । यस सम्बन्धले मलाई परिवारमा विद्रोही पनि बनायो । तर बिस्तारै सबै ठिक हुदै गयो,हामी खुशी छौ । आजसम्म पनि हामीबीचको आपसि प्रेम उस्तै छ ।

मेरो मोबाइल– म सँग सामसुङ मोबाइल छ (देखाउँदै..) । यसको रकम करिब चालिस हजार जति पर्छ । मोबाइल प्राय मलाई उपहार नै आउने गर्दछ । म मोबाइलको खासै सोखिन पनि छैन् । मेरो मोबाइल हराए,बिग्रिए,फुटेमा मात्र नयाँ सेट लिने गरेको छु । एउटै सेट लामो समयसम्म चलाउने गर्दछु ।

मेरो राम्रो बानी- म कुनै काममा लागेपछि त्यो पुरा नभए सम्म नितान्त लागि रहने गर्छु,जस्ले मलाई सफलतासम्म पुर्याएको छ । समाज सेवाको भाव भएकाले गरिव,बिरामी,दुःखि,बालबालिकालाई माया गर्ने हुँदा सबैको नजरमा राम्रो बनेको छु । सबैले त्यही भनेर फुर्क्याउनु हुन्छ । काममा लागेको बेला मलाई कसैले डिस्टर्ब गरेको मन पर्दैन, सायद यो नराम्रो बानी होला ।

मेरो लक्ष्य- सर्वप्रथम त म समाजलाई जनचेतनामूलक चलचित्र बनाएर केही नयाँपन दिने उदेश्यमा रहेको छु । चलचित्र क्षेत्रलाई म जीवनको अन्त्यसम्म पनि निरन्तरता दिने छु । म संख्यात्मक भन्दा पनि गुणस्तरीय र नेपाली माटोको आवाज बोल्ने खालका फिल्म बनाउने गर्दछु,त्यसैलाई निरन्तरता दिने सोच रहेको छ । कुनै पनि राजनीति पार्टीहरुले देश बचाउने र राष्ट्रियताको लागि काम गर्छन भने त्यसमा मेरो सहमति छ । समयको माग सँगै मेरो आवश्यकता भएको खण्डमा जुन पार्टीमा असल सोच र बिचार भएका व्यक्तिहरु छन्,त्यसमा प्रत्यक्ष रुपमा संलग्न भएर राजनीति मार्फत समाज सेवा गर्ने योजना पनि रहेको छ ।