गायिका रीता बुढाथोकीको जीवनः लोक संगीतको नशामा झुमेर बाँच्ने मन

भन्छिन–‘वास्तविक प्रेम त विवाह पछि मात्र हुदोरैछ’

हरपल नेपाल डटकम । स्कुल पढ्दैदेखि साँस्कृतिक कार्यक्रमहरुमा भाग लिएर सानै उमेरमा समेत मंञ्च तताउने, स्वरकी धनी एक त्यस्तो कलाकार,जस्को जीवन नै लोक संगितसँग जोडिएको छ, उनी हुन दाङकी चेली रिता बुढाथोकी । स्कुलको प्राङ्गढमा गित गाउँदा गाउँदै लोक गीतको नसाले छोएपछि स्कुलको पढाई छाडेर काठमाडौं पुगेकी रिता, अहिले आफ्नो गायन कलामा सफलताको यात्रा हिडिरहेकी छन । सोल्टीनीलाई बैना मारौ’ जस्ता गितबाट गायिकाको सूचिमा दर्शकको मन जित्न सफल भएकी रिताले पछिल्लो चरणमा ‘बाँबियोको रसिबाट’ नेपाली संगित प्रेमि मनहरुलाई अझ सशक्त रुपमा बाँध्ने कोसिस गरेकी छन । त्यसो त नेपाली मौलिक शब्द,लय र संगितमा सुमधुर स्वरले जोडेपछि उनका गितहरु सबैले मन पराउने नै भए, आज हामीले दाङ शान्तिनगर ९, कि ति गायिका सँग कुराकानी गरेका छौ, जस्को बारेमा जति चर्चा गरेनि अपूर्ण नै हुन्छ ।

हरपल नेपालसँगको कुराकानीको क्रममा उनले आफुलाई दाङबाट काठमाडौंसम्म ल्याएर साँगीतिक यात्रामा आजसम्म हौसला दिने गुरु खड्क बुढा र अङकल दण्डपानी पाण्डे अनि आफ्नो जीवन साथीको सहयोगलाई कहिल्यै बिर्सन नसक्ने बताइन । हामीले हरपल नेपाल डटकमको एक फरक स्तम्भः मेरो जीवनमा उहाँको जीवनका विभिन्न पाँटाहरुलाई केलाउने प्रयत्न गरेका छौ । प्रस्तुत छ, उनीको जीवनका तमाम पक्षहरु…..

मेरो रुचि

गायक– मलाई सनैदेखि गायक पुरुषोत्तम न्यौपाने र अहिलेका चर्चित गायक पशुपति शर्माको गायन कला मन पर्छ त्यसो त अरु पनि धेरै कलाकारहरु हुनुहुन्छ,उहाँहरुले पनि राम्रो गीत नेपाली श्रोताहरु माझ पस्किनु भएको छ । मलाई सबै खाले गायक,गायिकाहरु मन पर्छन । हामीले आफ्ना अग्रज र पुरानो पुस्ताका कलाकारहरुबाट सिक्दै अगाडि बढ्नुपर्छ । अहिले पशुपति शर्मा दाईले धेरै राम्रो सिर्जना गर्नु भएको छ,यसबाट म अत्यन्त प्रभावित छु ।

गायिका–मलाई मन पर्ने गायिका हरिदेवी,बिमाकुमारी दिदी लगाएत रहेका छन । उहाँहरुको गीतको प्रभावले नै म यहाँसम्म आएकी हुँ । आज म जुन स्थानमा पुगेकी छु, यो सब उहाँहरुको गीतबाटै प्रभावित भएर मलाई पनि गाउन उर्जा मिलेको कारणले सम्भव भएको हो भन्ने मलाई लाग्दछ ।

मन पर्ने गीत– मलाई लोकगीत मात्र नभएर आधुनिक र अरु सबै खाले गीत मन पर्छ । मलाई तारा,बिमा दिदीका गीतहरु धेरै मन पर्छन । वास्तवमा उहाँहरुको गीत गाउने शैली र शब्दले मेरो मन पनि छोएको छ ।

मेरो यात्रा– मैले जतिपनि देश विदेशको यात्रा गर्न पाए,त्यो सबै नेपाली लोक संगित प्रेमिहरुले मेरो आवाजलाई रुचाइएकाले आएको अवसर हो भन्ने मैले बुझेकी छु । मैले गित संगितका विभिन्न कार्यक्रमहरुको दौडानमा देशका ७१ वटा जिल्लाहरुमा जाने र त्यहाँका दर्शक,श्रोताहरुलाई भेट्ने मौका पाए, सबै ठाउँबाट उहाँहरुको अत्यन्त माया पाइयो । त्यसै गरी मैले युरोपका केही ठाउँमा पनि आफ्नो प्रस्तुति लिएर गएकि छु ।

अविस्मरणीय क्षणः एक कार्यक्रमको लागि दिल्ली जाने बेला म पहिलो पटक जहाज चढेकी थिए, त्यो क्षण मेरोलागि अत्यन्त यादगर रहेको छ । गाउँतिर पहिले पहिले भन्ने गरिन्थ्यो नि, यात्रा गर्दा गाडी, प्लेनमा कसैले देको खानु हुदैन । त्यसबेला मलाई प्लेनमा चक्लेट दिइयो, तर मेरो मनमा भने खाने कि नखाने भन्ने चिन्ताले सतायो । त्यो खाएपछि बेहोस बनाएर मलाई दिल्लीमा बेच्ने होकि जस्तो लाग्यो । यो क्षण म कहिल्यै बिर्सन सक्दीन ।

त्यस्तै एक पटक दोहोरी गाउँदा ‘तिमीसँग विवाह गर्छु है’ भनेको त त्यहाँको आमाहरुले चाहिँ यसले मेरो छोरासँग विवाह नै गर्छु भनी भनेर उनीहरुले साच्चिकै विहेको तयारी गर्न लागेका थिए । उहाँहरु गीतलाई साँच्चीकै सम्झेर रागाँ,बोका खसी काट्ने तयारी गर्न थाले अनि मलाई त्यो कुराले साहरुै नराम्रो महसूस भयो । त्यहाँ त विवाहको ठूलो चहल पहल भयो । एक जना मगर्नी आमाले नानी यता दोहोरी भनेको साँच्चिकै मान्छन सम्झाएपछि बल्ल मैले थाहा पाएँ र राति ४ बजे गाडी चढेर फर्किएको थिए । मलाई अहिले पनि त्यो क्षण सम्झेर असाध्यै हाँसो लाग्छ ।

मेरो परिवार- मेरो अहिलेको परिवार सोनो छ । विवाहपछि हामी काठमाडौंमा नै बस्छौ । घरमा सासु, ससुरा, ३ जना छोरा छोरी र म अनि श्रीमान लगाएत ७ जना छौँ । घरमा राम्रो मेलमिलापको वातावरण छ।
मेरो विवाह-मेरो विवाह मागेर भएको हो । मलाई दिदीले ढिडो खान भनेर आफ्नो घरमा बोलाउनु भएको थियो । मैले पहिलो पटक उहाँलाई त्यही देखेको हो । मलाई त्यहाँ विहेको कुरा हुदैछ भन्ने पनि थाहा थिएन, ढिडो खान बोलाएर मेरो उहासँग विहेको कुरा छिन्ने योजना बनेको रहेछ, पछिमात्र थाहा भो मलाई । उहाँलाई त्यतिबेला मैले भन्दा पनि दाई र दिदीले मन पराएका थिए, उहाँहरुले मेरो विहेको लागि पक्का गरे,मैले त्यसमा नाइ भन्न पनि सकिन, किनकी हाम्रो परिवारमा त्यस्तै चलन रहेको थियो । यसरी पहिलो पटकको भेटमै हाम्रो विहेको तयारी भएको थियो । आपसी माया त विहेपछि मात्र महसूस गरे ।
वास्तवमा उहाँले त्यतिबेला मलाई आफ्नो जीवनको दुखत घटना सुनाउनु भएकाले त्यो प्रस्ताव नाइ भन्न सकिन ।

उहाँको पहिलो विवाह पछि (दिदीको स्वर्गवास) त्यो घटना भएको रहेछ । उहाँले आफ्नो सबै पिडाहरु सुनाउदा मनमा अनेक कुराहरु आएका थिए, अनि हाम्रो विहे भयो र त्यसपछि मात्र प्रेमको अनुभूति गरे । विवाह भएको करिब दुई बर्ष पुगेको छ, अहिलेसम्म हामी सबै परिवार खुशी छौ ।
म भन्दा पहिले मेरो दिदी (उहाँको पहिलो श्रीमती) ले हाम्रो लागि तिनै जना छोरा छोरीको जन्म दिनुभएको थियो । तर छोराछोरीको कर्म दिने आमा म बन्न पुगें । छोरा छोरीहरु पनि असाध्यै माया गर्छन, परीवारमा सबैले सबैको सम्मान गर्ने संस्कार रहेको छ । सायद त्यसैले होला, मलाई आफुले सन्तान जन्माउने इच्छा जागेन । तीन जना छोराछोरी र परिवारको माया पाउँदा त्यसमै खुशी छु ।

मेरो कमाई – (हाँस्दै..) मेरो खर्च र आम्दानी बराबर नै हुन्छ । कार्यक्रम चल्ने सिजनमा कहिले काही एक,डेढ लाख सम्म पनि हुन्छ,तर सधैभरी कार्यक्रम पनि चल्दैनन । यति हो कि आफ्नो कमाइले आफ्नो खर्च चलेको छ ।

मेरो घर– विहेपछि हामी काठमाडौंमा नै बस्छौ । घर असन, काठमाडौंमा छ । हामी आफ्नै घरमा बस्छौँ । घरबाट पनि अलि आम्दानी हुन्छ ।

मेरो पढाई– मैले गित संगितको नसा लागेर पढाईलाई निरन्तरता भने दिन सकिन । पहिले स्कुल पढ्दा पढ्दै छाडियो,अहिले स्कुल जान गाह्रो । त्यही स्कुल स्तरको पढाईले पनि जीवनमा धेरै सहजता बनाएको छ । मैले पढाईलाई निरन्तरता दिन नसकेपनि अहिले भने अनामनगर स्थित आँलाप रेकडिङ स्टुडियोमा रेकडिङको काम सिकि रहेकी छु । गित,संगितलाई नै मुख्य पेशा बनाउने योजनामा रहेकी छु ।

फुर्सदको पल – म घरमा फुर्सदको समयमा हार्मोनियम बजाउँछु । मलाई बाजा बजाउन पनि रहर लाग्छ । अहिले विज्ञान र प्रविधिका कारण इन्टरनेटदेखि टाढा रहेर जीवन धान्न गाह्रो हुन्छ जस्तो लाग्छ । कहिले काही फेसबुक पनि चलाउछु । साथीहरु र आफ्न्तसँग च्याटमा कुरा हुन्छ ।

मेरो खाना – मलाई सबै प्रकारको खाना मन पर्छ । विशेष गरेर ढिडो र गुन्द्रुक मन पर्छ । छोरा छोरी आलु र दाल बाहेक अन्य तरकारी मन पराउदैनन् । हामी परिवारमा सबैलाई मिल्ने गरी खाना बनाउँछौ । हामी बाहिरको खाना खादैनौ घरमा पकाएर नै खाने गर्छौ ।

मेरो पोशाक– मलाई बिशेष गरेर कुर्ता सलवार नै मन पर्छ । कहिले काही कार्यक्रममा जादाँ मगर डे«स र सारीको प्रयोग पनि गर्छु । अरुले कस्तो लगाउँछन त्यो कुरासँग मेरो चासो हुदैँन । छोटो कपडा र केही हाइफाई गरेर मंञ्चमा प्रस्तुत हुदा मात्र दर्शकको लोकप्रियता पाइन्छ भन्ने मलाई लाग्दैन । राम्रो गित र संगितले नै दर्शकहरुको मन जित्न सकिन्छ भन्ने मलाई लाग्छ ।

मेरो स्वास्थ्यम अहिले निरोगी छु । मलाई दिर्घकालिन रोग छैन । म विशेषत खानपिन र आराममा ध्यान दिन्छु । शारिरीक व्याम भने गरेकी छैन । बिहान चाडै उठ्छु, घरको काम हुन्छ,त्यसमै समय बित्छ । पहिला भने नियमित योगा गर्थे, अहिले भने छोडेकी छु । योगा गर्दा र नगर्दामा धेरै फरक छ । योगाले मन र शरीर दुबैको ब्याम हुन्छ, एक खालको सन्तुष्टिको महसूस प्राप्त हुन्छ ।

मेरो मोबाइल– (हाँस्दै…) मैले सबै भन्दा सुरुमा नोकियाको ११०० मोडेल प्रयोग गरेको थिए । अहिले स्यामसुङ मोबाइल छ । मलाई मोबाइल फेर्न रहर छैन । म एउटा मोबाइल नबिग्रे सम्म वा त्यो चलिरहदासम्म सितिमित अर्को किन्ने गर्दिन । अहिलेको मोबाईलबाट नेट,फेसबुक चलाउन मिल्छ,त्यतिभए पुग्छ ।

मेरो सञ्चार माध्यम– मलाई छापा सञ्चारमा कान्तिपुर,नागरिक मन पर्छ । अनि यो अनलाइन पनि हेर्छु । म सञ्चारमाध्यममा मुख्य गरेर कलाकारमा को आयो,कस्को बारेमा के लेखियो भन्ने विषय हेर्छु । त्यसपनि देश,विदेशका समाचारहरु पनि हेर्ने गर्छु ।

मेरो नशा- (खुशी हुदै..) वास्तवमा भनौ भने मलाई गीत संगीतको तिब्र नशा छ । यसकै नशाको मातले गर्दा स्कुलको पढाई छोडेर काठमाडौं आएकी हुँ । अहिलेसम्म यहि क्षेत्रमा लागेकी छु, अझै यसको नशा मेरो जीवनको अन्त्यसम्म लिएर जीउने ठूलो ईच्छा रहेको छ । साँच्चै भन्नु भने लोक संगित नै मेरो जिवनको प्यास हो,जीवनको अर्को नाम हो । यस्तो लाग्छ, मलाई यो नशाले छोड्दैन होला । म रहुन्जेलसम्म । त्यसैले त प्रण गरेकी छु, जीवनको अन्तिमसम्म पनि गित गाउँछु भनेर ।

मेरो राम्रो बानी– (हाँस्दै हास्दै….) सबैले भन्छन, म धेरै सोजी छु रे । मैले आफुले गर्ने काम इमान्दारीका साथ पुरा गर्छु रे । म सहयोगी छु । अनि मेरो बोलीले सबैलाई प्रभाव पार्छ रे, यहि भनेर फुर्क्याउछन आफन्तहरु ।

मेरो नराम्रो बानी– मेरो कमजोरी नै नराम्रा बानी हुन भन्ने लाग्छ । सबैले मेरो सोजोपनको फाइदा लिन्छन । म घर होस वा बाहिर जहाँ पनि कसैले सानो गल्ती गरे पछि एकदम चाडो रिसाउँछु । गल्ती सहने मेरो बानी छैन ।

मेरो लक्ष्य– मैले आजसम्म सिकेको र मैले जानेको गीत संगीत मात्र हो । मैले यसबाट नै केहि गर्ने सोचेकी छु । म अहिले जुन क्षेत्रमा छु यसमा सफल हुदै जीवनको अन्तिमसम्म यसमै निरन्तरता दिने मेरो अन्तिम लक्ष्य छ ।