माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यद्धारा राजिनामाः हस्ताक्षर सहित पार्टी नेतृत्वलाई पत्र बुझाए

‘वादल गुट आएपछि माओवादी केन्द्रमा चौतर्फि समस्या’

काठमाडौं, माघ १९ । गत माघ १२ गते सिन्धुपाल्चोकको सदरमुकाम चौतारामामा आयोजित माओवादी केन्द्रको प्रथम जिल्ला एकता भेलामा उपस्थित केन्द्रका ७० जना केन्द्रीय सदस्यद्धारा पार्टीबाट राजिनामा दिने भनि हस्ताक्षर गरिएको पत्र मंगलबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बुझाएका छन ।

पार्टीमा सबै नेता जस्तो मात्र देखिने र तल्लो तहको संगठनमा सक्रिय कार्यकर्ताहरु नहुने अवस्था देखिएको भन्दै नेतृत्वलाई पार्टी सुधार्न चेतावनी स्वरुप जिल्ला भेलाको निर्णय अनुसार ७० जना केन्द्रिय सदस्यहरुले संयुक्तरुपमा राजिनामा दिएका हुन ।

उनिहरुले पार्टी,संगठन र मोर्चाहरुको निमार्ण र संचालन विधी अनुरप गर्नु पर्ने,पार्टीलाई चुस्त बनाउने र सक्रिय पार्ने लगाएतका माग सहित पार्टी नेतृत्वलाई कडा चुनौति दिएका छन ।

पार्टीको आकार हेर्दा ठूलो देखिने र वास्तवमा त्यसको प्रभाव खासै नभएको भन्दै उनीहरुले ठूलो आकारको केन्द्रिय समितिलाई छोटो र सक्रिय बनाउनु पर्ने धारणा पार्टी समक्ष राखेका छन ।

माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला संयोजक दावा तामाङले भने–‘अहिले पार्टी समिति अत्यन्त भद्दा छ, हामीले पटक पटक पार्टीलाई चुस्त बनाउन नेतृत्वसँग माग गर्यौ तर सुनुवाई भएन । त्यसैले पार्टीलाई चुस्त बनाउदै प्रकृयाको आधारमा पार्टी निर्माणको साझा वहस बनाउने सोचले सामुहिक राजिनामा दिएका हौ । यसलाई पार्टी नेतृत्वले जिम्मेवार रुपले बुझ्नु पर्दछ ।’

उनले आगामी स्थानीय निर्वाचनमा १ नम्बरको पार्र्टी बनाउनका लागि पार्टी सुधारको वहस आफुहरुले सिर्जना गर्न खोजेको र यसलाई सकारात्मक रुपमा बुझ्नुपर्ने समेत बताए ।

माओवादी केन्द्रका दावा तामाङ, झमक प्रसाद पराजुली,राजकुमार श्रेष्ठ,कृष्ण प्रसाद सापकोटा,युवराज दुलाल,केशव नेपाल,माधव सापकोटा,अमृता नेपाल लगायतका ७० जना केन्द्रीय सदस्यहरुले नेतृत्वलाई पार्टी सुधार्न माग गर्दै राजिनामा दिएका छन ।

वादल गुट आएपछि माओवादी केन्द्रमा चौतर्फि समस्या

मोहन बैद्य किरणले नेतृत्व गरेको माओवादी पार्टी छाडेर वादल गुट प्रचण्ड माओवादीमा मिसिन आएपछि माओवादी केन्द्रमा चौतर्फि रुपमा संगठनात्मक समस्याहरु देखिएको पार्टीकै नेता कार्यकर्ताहरुले बताउने गरेका छन ।

प्रचण्डले सत्ता र सदनको राजनीति रोजेको भन्दै क्रान्तिको निम्ती तत्कालिन प्रचण्ड नेतृत्वको माओवादीबाट अगल भएर बैद्यको नेतृत्वमा पार्टी बनाउन गएका राम बहादुर थापा वादल समुहले फेरी पुरानै ठाउँमा जानुलाई राजनीतिमा त्यसको विभिन्न रुपमा चर्चा समेत भएको थियो ।

वादल समुह आएपछि बनेको माओवादी केन्द्रमा अहिले विभिन्न संगठन,मोर्चा र पार्टी समितिको एकता भेलामा मुलत कस्को नेतृत्व हुने भन्ने विषयमा विवादहरु देखिएका छन । वाइसिएलको एकता भेलामा समेत नेतृत्वको विषयमा निकै लामो विवाद भएको थियो । मुलत युवाको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा त्यहाँ विवाद थियो ।

सबै देखिएका समस्यालाई छलफल गर्दै मंगलबार बसेको वाइसिएलको बैठकले आगामि वैशाख ९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको भएको छ । वाइसिएलले अन्तत नेपबहादुर कुँवरको संयोजकत्वमा ३९९ सदस्यीय आयोजक समिति गठन गरेर हाललाई आन्तरिक विवाद टारेको छ ।

त्यसैगरि अन्य संगठनमा समेत एकताबाट आएका वादल गुटका नेताहरुले नेतृत्व लिने वा पुरानैले भन्ने खालको विवाद पार्टी र संगठनहरु भित्र भित्रै व्यापक चुलिएको र अन्तरबिरोध बढिरहेको नाम नखोल्ने सर्तमा एक नेताले बताए । वादल गुट आएर माओवादी केन्द्र बनेपछि पार्टीलाई मिलाउने बाहानामा नेतृत्वले धेरै ठूलो आकारको केन्द्रीय समिति बनाउनु परेको र त्यसले पार्टीलाई भद्दा बनाएको पार्टी सम्वद्ध नेताले हरपल नेपालसँग बताएका छन ।

‘वादल गुटको व्यवस्थापनकै लागि पार्टीमा अन्तरविरोध समेत चुलिएको र लामो समय सम्म पार्टीमा अनुसासित रुपमा काम गर्दै आएका इमान्दार नेता कार्यकर्ताहरुले पार्टी छाड्नु पर्ने बाध्यात्मक अवस्था आउन लागको छ’–उनले चिन्ता व्यक्त गरे ।