यस्तो छ प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण (कार्यतालिका सहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका क्रममा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन् ।

आकस्मिक रूपमा भ्रमण तय भएका कारण राष्ट्रपति सीसँग १५ मिनेट मात्रै औपचारिक कार्यक्रम तय भएको चिनियाँ दूतावासले प्रधानमन्त्रीलाई जानकारी दिएको छ ।

‘पूर्वनिर्धारितभन्दा पनि आकस्मिक रूपमा प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तय भएको हो । चिनियाँ राष्ट्रपतिले पूर्वनिर्धारित कार्यक्रम सच्याएर प्रधानमन्त्रीसँग भेटको समय तय गर्नुलाई चीनले हामीलाई दिएको महत्व मान्नुपर्छ ।’

स्रोतका अनुसार १५ मिनेटको समयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डले आधा दर्जन एजेन्डामा छलफल गर्ने तय भएको छ ।

प्रधानमन्त्रीका समकक्षी ली खछियाङ र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका समकक्षी वाङ यी चीनबाहिर हुने भएकाले सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम छैन ।

१० चैत हाइनानका लागि ग्वानजाओ प्रस्थान ११ चैत आराम

१२ चैतमा बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन १३ चैतमा बेइजिङ प्रस्थान

१४ चैतमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ग्रेट हल अफ द पिपुलमा भेटवार्ता

१५ चैतमा तिब्बतको ल्हासा आउने र त्यहीँ बस्ने १६ चैतमा स्वदेश फिर्ता

आधा दर्जन एजेन्डामा छलफल हुने, सम्झौतामा हस्ताक्षर नहुने