भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गर्ने तयारीमा
मिङ्मा शेर्पाको नेतृत्वमा सगरमाथा जाने
प्रकासित मिति : २०७३ चैत्र २१, सोमबार प्रकासित समय : २१:१८
काठमाडौँ । भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । सो टोलीले आज नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएको हो ।
सो अवसरमा आरोहण टोलीका संयोजक सञ्जयकुमार कुलकर्नीले २४ जनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिए । उनले भने– ‘हामीहरु सागरदेखि सगरमाथा भन्ने मूल नाराका साथ सगरमाथा चढ्न लागेका हौँ ।’
उनले मङ्गलबार काठमाडौँदेखि जिरी सवारीसाधनमा जाने र त्यहाँबाट पैदल हुँदै सगरमाथा बेसक्याम्प जाने बताए ।
नेपाली पर्यटकीय पदयात्री मिङ्मा शेर्पाको नेतृत्वमा उनीहरु सगरमाथा जान लागेका हुन् । यसभन्दा पहिले सन् १९६५ र सन् २००४ मा भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गरेका थिए । उनीहरुलाई नेपालस्थित भारतीय दूतावासले आजै बिदाइसमेत गरेको छ । रासस