वर्षभरि रिस नउठोस् भनेर तराईका जिल्लामा अनौठो पर्व मनाइँदै

वर्षको एक दिन चुल्होलाई आराम गर्न दिने संस्कार

विराटनगर । नव वर्षको आगमनसँगै आज तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ । यस पर्वका अवसरमा आज बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ ।

वर्षभरि दिमाग ठण्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको पालना होस् भनेर टाउकामाथि जल छम्काएर आशीर्वाद दिने गरिएको हो । सोही कारणले यस पर्वलाई ‘जुडशीतलपर्व’ पर्व पनि भन्ने गरिन्छ ।

यसका साथै प्रत्येक परिवारले आआफ्ना खेतबारीमा रहेका रुखको जरामा पानी हाल्ने, सडक सफा गर्ने तथा कुलो र इनारको सफाइ गर्छन् । सोही क्रममा उनीहरु हिलो पनि खेल्छन् ।

घरका अग्रजले देवीदेवताको पूजा गरी सानो प्वाल पारी कुश राखिएको गाग्रामा जल भर्छन् । सो ग्रागामा पसाइएको कुशबाट जल थोपा थोपा गरी तुलसीको बोटमाथि झर्छ ।

प्रत्येक दिन पूजापाठ गरी गाग्रोमा जल भर्ने गरिन्छ । यो प्रक्रिया एक महिनासम्म चल्छ । चैत महिनाको गर्मीमा तुलसीको बोट नसुकोस् भन्ने यसको उद्देश्य रहेको देखिन्छ ।

यस पर्वका अवसरमा गए राति नयाँ माटाको भाँडामा पकाइएको भात अर्थात् ‘बासीभात’बाट देवीदेवताको पूजा गरिन्छ । सो प्रसाद घरको प्रत्येक चौखटमा राखेर जल अर्पण गरिन्छ ।

आज बिहान खाना पकाइएपछि चुलो पूजा गरिन्छ । राति खाना पकाइँदैन । चुल्होलाई वर्षको एक दिन आराम गर्न दिनुपर्ने धार्मिक मान्यता छ ।

यो पर्व मैथिल समुदायका साथै थारु, राजवंशी, गनगाई, ताजपुरियालगायतले आआफ्ना धार्मिक एवम् सांस्कृतिक महत्वका साथ मनाउने गर्छन् । पर्वमा आँपको टिकिलाको चटनी, सोहीजन, दही, मिठाइ अनिवार्य रुपमा खाने गरिन्छ । थारु र राजवंशीलगायत जातिमा मासु खाने चलन छ ।

सरकारले यो पर्व मनाउनका लागि आज झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सार्वजनिक बिदा दिँदै आएको छ । रासस