अधिकारी नेतृत्वको प्यानलबाट क्रान्तिकारी पत्रकार महासंघ बाहिरियो

जैसीको नेतृत्वमा निर्वाचनमा भाग लिने

काठमाडौं । पत्रकार महासंघ काठमाडौं शाखाको निर्वाचनका लागि प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका रामकृष्ण अधिकारीले नेतृत्व गरेको संयुक्त प्यानलबाट क्रान्तिकारी पत्रकार महासंघ बाहिरिएको छ ।

आज एक विज्ञप्ति मार्फत पहिले आफुसँग गरिएका सहमति अनुसार ठूला संगठनहरु नचलेको जनाउँदै क्रान्तिकारी पत्रकार महासंघले उक्त प्यानललाई दिएको आफ्नो समर्थन फिर्ता लिएको जनाएको छ ।

क्रान्तिकारी पत्रकार महासंघले काठमाडौं शाखामा हुन गइरहेको निर्वाचनमा पुरानो प्यानलबाट पहिलेको सहमति अनुसार निर्वाचनमा भाग नलिने जनाएको छ । क्रान्तिकारी पत्रकारले अब लोकराज जैसीको नेतृत्वमा काठमाडौं शााखाको चुनावमा भाग लिने भएको हो ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले हरपल नेपालसँग कुरा गर्दै भने–‘ हामीले बनाएको पुरानो गठवन्धन तोडियो, अब हामी नयाँ ढङले बढ्छाै ।’

अध्यक्ष रावतले संगठनका सबैँ सदस्यहरुलाई पुरानो गठवन्धनमा मतदान नगर्न र स्वतन्त्र  रूपमा खुलातर्फको सह सचिब पदमा उम्मेदवारी दिएका लोकराज जैसीको नेतृत्वको टीमलाई मतदान गर्न सबै  सदस्यहरुलाई आग्रह समेत गरेका छन ।