Live update: ७१ प्रतिशतले मतदान गरे,शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो–प्रमुख आयुक्त यादव(भिडियो)

‘मतगणना कार्य केही स्थानमा आजै सुरु गरिने’–बक्तब्यको पूर्ण पाठसहित हेर्नुहोस्

काठमाडौं । दुई दशकदेखि जन प्रतिनिधि बिहीन भएको स्थानीय निकायले अब भने जनता आफैले मतदानबाट चुनेका प्रतिनिधि पाउने भएको छ । आज भएको स्थानीय तहको पहिलो चरणको मतदान प्रकृयामा करिब ७१ प्रतिशत मतदाताहरुले भाग लिएको निर्वाचन आयोगले बताएको छ ।

आइतबार साझँ निर्वाचन आयोगद्धारा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको सन्र्दभमा कुरा राख्दै निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादबले त्यस्तो बताएका हुन ।
प्रमुख आयुक्त यादबले पहिलो चरणका लागि तोकिएका सम्पूर्ण क्षेत्रमा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको भन्दै निर्वाचनमा सहयोग पुर्याउने सबैलाई धन्यबाद प्रदान गरे ।

उनले भने–‘एक दुई निर्वाचन केन्द्रमा केही राजनीतिक दलहरुको आपसी झडपका कारण वातावरण असन्तुलित भएकाले निर्वाचन स्थगित भएको छ । अन्य सबै स्थानहरुमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो ।’

उनले निर्वाचनको मतगणना स्थानीय क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै केही स्थानमा आजै सुरु गरिने भएको जानकारी दिए । उनले अन्य स्थानको मतगणना कार्य भोलि हुने बताएका छन ।

हेर्नुहोस् प्रमुख निर्वाचन आयुक्त यादबले मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा दिएको बक्तब्यको पूर्ण पाठः–

LOADING...

२०७४ बैशाख ३१ गते १४ मे, २०१७
सम्पन्न भएको ‘स्थानीय तह निर्वाचन’ को विषयमा माननीय प्रमुख निर्वाचन आयुक्त डा.
अयोधीप्रसाद यादवले २०७४ वैशाख ३१ गते आइतबार मिडिया सेन्टरमा आयोजित विशेष समारोहमा दिनुभएको वक्तव्य )
आदरणीय मतदाता बुवा, आमा, दिदी बहिनी तथा दाजुभाइहरू,

१. स्थानीय तहको पहिलो चरणअन्तर्गत आज वैशाख ३१ गते आइतबार तीन प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । मतदाता महानुभावहरूले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको यस व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन
गर्दछ ।

२. २८३ स्थानीय तहका लागि भएको मतदान कार्य अन्तर्गत आज २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारपू गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेको जानकारी गराउँदछु । आज सम्पन्न मतदान कार्यमा ३४ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार कम्तीमा ७१ प्रतिशत मतदान भएको छ । काठमाडौं उपत्यकासहित ३४ वटै जिल्लाका शहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रहरूमा मतदाताहरू बिहान ७ बज्नुअघिदेखि नैमतदान केन्द्रअघि पङ्क्तिबद्ध भएर बस्नु भएको थियो । मतदानमा युवा पुस्तादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकैउत्सुकतापूर्वक सहभागिता जनाउनुभएको थियो । यस सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउने छ भन्ने विश्वास आयोगलेलिएको छ

३. मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको छ । हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्नका लागि आयोगले हेलिकप्टरको व्यवस्था गरेको जानकारी सम्बद्ध सबैलाई गराउन चाहन्छु । मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिकाहरू सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने छ । मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्नु हुने छ । आफ्नो तयारी पूरा भएपछि उहाँहरुले आजै राति वा भोलिबिहानबाट मतगणना सुरु गर्नु हुने छ र मतपरिणाम सहज तरिकाले सार्वजनिक गर्नुहुने छ ।

४. गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसंख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोग हर्षित छ । आयोगको आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न भएन र सहज ढंगले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको छ । मतदान कार्यमा
अत्यन्तै कठिन परिश्रम गरी अहोरात्र खटेर मतदान कार्य सफल बनाउन जुट्नुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिृकत र अन्य कर्मचारी तथा सुरक्षाकर्मीलगायत सवै धन्यवादका पात्र हुनुहुन्छ । आदरणीय महानुभावहरू

५. राजनीतिक दलका प्रतिनिधिहरुको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्ग्रहीत भएको छ । निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न, मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल, उम्मेदवारहरुसँग निर्वाचन आयोग हार्दिक अपिल पनि गर्दछ । साथै मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिवद्धतालाई पुनः अभिव्यक्त गर्न आयोग सबै सरोकारवालासँग अनुरोध गर्दछ ।

६. आयोगले नचाहँदा नचाहँदै पनि तीनवटा मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र र कालिकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान कार्य स्थगित भएको र दोलखा जिल्लाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षार्थ सुरक्षाकर्मीको कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोग दुःख व्यक्त गर्दछ । सो केन्द्रको मतदान कार्य पनि स्थगित भएको छ । ती मतदान केन्द्रहरुमा आयोगले तोकेको मिति र समयमा पुनः मतदान कार्य हुने जानकारी गराउँछु ।

७. मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगलाई सहयोग पुगेको छ । मतपत्र ठूलो हुनु, छोटो समयमा तयारी गर्नु मतदाता शिक्षा प्रदान गर्न समय कम हुनु, बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योलबीच भएकोतयारीप्रति आयोग सन्तोष व्यक्त गर्दछ ।

८. मतदान कार्यलाई सफल बनाउन सहयोग पु¥याउने नेपाल सरकार, मित्र राष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावप्रति आयोग पुनः धन्यवाद दिन चाहन्छ । आदरणीय पत्रकार मित्रहरु

९. आज सम्पन्न भएको मतदान कार्यलाई सफल बनाउन आम सञ्चार जगत्ले खेलेको भूमिकाप्रति आयोग हृदयदेखि नै धन्यवाद दिन चाहन्छ । मतदान कार्य भइरहँदा कतिपय सञ्चार माध्यमले हिंसालाई मात्र प्रोत्साहन पुग्ने गरी समाचार दिने कार्य भएको पनि आयोगलाई जानकारीमा आएको छ । समग्रमा, सञ्चारकर्मी मित्रहरुले देखाउनु भएको जाँगर, उत्साह र लगनशीलताको आयोग प्रशंसा नगरी रहन सक्दैन । विभिन्न ठाउँबाट प्रत्यक्ष प्रशारणमार्फत मतदातालाई सुसूचित पार्ने कार्यमा तपाईहरु दिनभर खट्नु भएको छ । धेरै असुविधा भोगेर पनि तपाईहरुले पु¥याउनु भएको योगदानको आयोग उच्च सम्मान गर्दछ । धन्यवाद