‘भन्सार तिर्ने टाट पल्टिंदै, भन्सार छल्ने मालामाल’

भन्सार नतिरेका ब्याट्री तथा पाटर्स खुल्ला रुपमा विक्रि

बाँके । भारतसँगको खुला सिमानाका कारण नेपालगन्ज लगायतका आसपासका क्षेत्रमा भन्सार छलेर व्यापार व्यवसाय गर्ने दैनिक रुपमा मालामाल हुँदै गएको एक तथ्यांकले जनाएको छ ।

बाँके जिल्लामा ई–रिक्सा कत्तिको संख्यामा संचालनमा छन् भन्ने विषयमा अहिलेसम्म कुनै पनि सरकारी निकायका कार्यालयलाई जानकारी नभएपनि करिब ९ हजारको हाराहारीमा ई–रिक्सा संचालनमा आएका छन् ।

कडा प्रतिस्पर्धाको कारण ई–रिक्साको मूल्य दिनप्रति दिन घट्दो रहेको भएपनि नेपालगन्जमा ई–रिक्सा निर्माण गर्ने केही उद्योगले भने भन्सार छलेर ई–रिक्साको किट भित्र्याई सस्तो दररेटमा बिक्री वितरण गर्ने गरिएको पाइएको छ ।

नेपालगञ्जमा चिनबाट सिधा सम्पर्क राखी बैंकबाट टिटि मार्फत रकम पठाई भन्सार बुझाई ल्याउने केही कम्पनीहरु स्थानिय स्तरमा निर्माण हुने कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेको छ ।

जबकी नेपालगन्जमा निर्माण हुने रिक्साका अधिकांश पाटर्सहरु चिनमा निर्मित भएपनि भारतबाट भन्सार छलेर ल्याउने गरेको भेटिएको छ ।

बाँके जिल्लामा रहेका करिब ९ हजार हाराहारीको रिक्सामा लाग्ने गरेको ब्याट्री र अन्य पाटर्सहरु भारतबाट भन्सार छलेर ल्याउने गरेकोले पनि चिनबाट मगाई भन्सार गरेर ल्याउने कम्पनीहरुलाई दैनिकी घाटा ब्यहोर्नु परेको बताइएको छ ।

ई–रिक्सामा प्रयोग हुने प्राय ब्याट्रीहरुको भन्सार तिरेको हुँदैन तर पनि नेपालगन्जमा खुलेआम बिक्री वितरण भइरहेको छ । केही ई–रिक्सा बिक्री गर्ने कम्पनीहरुले भारतबाट भन्सार तिरेर ल्याएको ब्याट्री महँगो हुने भएकोले बिक्री नहुने गरेको गुनासो गरेका छन् ।

बाँके जिल्लामा ई–रिक्सा मर्मत हुने अधिकांश पसलहरुमा भन्सार छलेर ल्याइएको ई–रिक्सा ब्याट्री तथा पाटर्स हुने गरेको पाइएको छ । तर यस विषयमा आन्तरिक राजस्व कार्यालयले भने अहिलेसम्म यस्ता भन्सार छल्ने पसलमा अनुगमन समेत गरेको छैन ।

ई–रिक्सा बिक्री गर्ने एक कम्पनीले भने–‘ई–रिक्सामा प्रयोग हुने ब्याट्रीको विषयमा छानबिन गरियो भने स्वतः प्रमाणित हुन्छ । तर अनुगमनमा जाने तथा चेकजाँच गर्ने अधिकारी इमान्दार हुन जरुरी छ ।’

यस विषयमा भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरिक्षक चित्राङ्ग दहाल भन्छन्–‘रुपैडिहाबाट आउने गरेको ब्याट्रीको विषयमा हामीले चेकजाँच गर्ने क्रममा केही बरामद गरिएको छ । तर केही ब्याट्रीको भ्याट विल समेत देखाउने गरेको पाइएको छ । त्यस्तो भ्याट विल भएको विषयमा सुक्ष्म अनुसन्धान गरिने हो भने त्यस्ता पसलले भारतबाट नेपाल भित्र्याउने क्रममा भन्सारको प्रज्ञापन पत्र समेत चेकजाँच गर्दा स्पष्टका साथ थाह हुने विषय हो । यो सबै चेकजाँच गर्ने निकायले अनुगमन गर्यो भने भन्सार छलेर ल्याउने कार्य बन्द हुने थियो की ।’

भारतको दिल्लीबाट ल्याई आफु खुशी बिक्री वितरण गर्दा आम ई–रिक्सा मालिकहरु घाटामा पर्ने गरिएको गुनासो पनि रहेको पाइएको छ । भारतको दिल्लीमा १००० वाटको मोटरलाई भारु ३ हजार पर्छ भने भन्सार छलेर नेपालगन्ज भित्र्याइएको त्यो मोटर रु ९ हजारमा बिक्री गरिने गरेको पाइएको छ । त्यस्तै ब्याट्री चार्जरको भारु २ देखि दुई हजार पाँच सय पर्नेलाई नेपालगन्जमा रु ६ देखि ६ हजार पाँचसयमा बिक्री गर्ने गरिएको पाइएको छ ।