प्रधानमन्त्री, दलका नेता र आयोग पदाधिकारीबीच छलफल

दलहरुबीच सहमति कायम गर्ने प्रयास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका बारेमा केन्द्रित रहेर सत्ताधारी दलका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज विहान भइरहेको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमको निकासस्वरुप दोस्रो चरणको निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरुबीच सहमति कायम गर्न भइरहेका प्रयास र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउने विषयमा केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ ।

सो छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र अरू आयुक्तहरु सहभागी थिए ।

छलफलमा दलका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरु कृष्ण सिटौला र विमलेन्द्र निधि तथा गृहमन्त्री जनार्दन शर्मासमेत सहभागी थिए । रासस