कारागारमा कैदीले आत्महत्या गरेको घटना रहस्यमय बन्दै

घटनाबारे अनुसन्धान हुँदै

बाँके । बाँके जिल्लाको नेपालगन्ज स्थित कारागार भित्रै एक कैदीले आत्महत्या गरेको घटना रहस्यमय बन्दै गएको छ ।

नेपालगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका एक कैदीले कारागार मै झुण्डिएर आत्महत्या गरेका छन् ।

जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन कि कसैले सुनियोजित तरिकाले गराएको हो, त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता तथा मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले बिहीबार सवा पाँच बजेतिर प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको र प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।