महन्त ठाकुर नै बने राजपाको अध्यक्ष

काठमाडौं । राजपा गठनका क्रममा दुई महिनाअघि भएको सहमतिअनुसार ६ सदस्यीय अध्यक्षमण्डलको प्रमुखका रूपमा महन्थ ठाकुरको पदावधि सकिए पनि स्थानीय निर्वाचनसम्म उहाँ नै उक्त पदमा कायम रहने जानकारी पार्टी नेताले दिएका छन् ।

यद्यपि, पार्टीभित्रकै केही नेताले पनि दुई महिनाको अवधि सकिएकाले अब राजेन्द्र महतो अध्यक्ष बन्ने दाबी गरेका छन् ।

राजपाले सबै विषय सहमति र सहकार्यको नीतिमा निर्धारण गरेको उल्लेख गर्दै संविधान संशोधन, स्थानीय निर्वाचन, संसदीय मान्यताका लागि निर्वाचन आयोगमा पार्टी दर्तालगायत मुख्य एजेन्डाको कार्यान्वयनसम्म ठाकुरलाई अध्यक्ष दिइने जानकारी पार्टी नेता राजकिशोर यादवले दिएका हुन ।

यादवले भने–‘असोज २ गते प्रदेश नं‍. २ मा हुने तेस्रो चरणको निर्वाचनमा सहभागिता र संविधान संशोधनजस्तो मुख्य विषय ठाकुरकै नेतृत्वमा सम्पन्न गर्नुपर्छ ।’

पार्टीका अर्का नेता केशव झा भने अध्यक्ष ठाकुरको पदावधि सकिएकाले अब राजेन्द्र महतोले नेतृत्व गर्ने दाबी गर्नुहुन्छ । झाले भने–‘राजपा एकताका क्रममा भएको सहमतिअनुसार पार्टीको आगामी बैठकबाट ठाकुरबाट राजेन्द्र महतोमा नेतृत्व हस्तान्तरण हुनेछ ।  वैशाख ८ गते ६ वटा पार्टी मिलेर राजपा घोषणा भएको थियो ।’

तत्कालीन तमलोपाका अध्यक्ष ठाकुरले वैशाख १९ देखि अध्यक्षमण्डलको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । राजपाको विधानअनुसार अध्यक्षमण्डलका ६ जना चक्रिय प्रणालीबाट पालैपालो प्रमुख तोकिन्छन् । ठाकुरको म्याद असार १९ मा सकिएको हो ।

राजपाका वरिष्ठ नेता नै पार्टी परित्याग गरी कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलमा प्रवेश गरिरहेको सम्बन्धमा अध्यक्षमण्डलका एक सदस्यले एउटा जीवन्त पार्टीमा नेताहरू आउने, जाने क्रम भइरहने बताए ।

उनले भने–‘अन्य पार्टीका जिल्ला, नगर र गाउँस्तरका नेता राजपामा आइरहेका छन् । राजपा मधेस र मधेसीका लागि संघर्षरत पार्टी भएकाले संघर्षभन्दा सत्ता प्यारो ठान्ने सत्तामुखी पार्टीमा जानु कुनै ठूलो कुरा होइन ।’

प्रदेश नं. २ को चुनाव परिणामले राजपा के रहेछ भन्ने स्पष्ट हुने बताउँदै ती नेताले प्रदेश नं. २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभयो । संविधान संशोधन भए आफ्नो पार्टी स्थानीय तहको चुनावमा सहभागी हुने ती नेताको भनाइ छ ।

राजपाले निर्वाचन आयोगसमक्ष बुधबार पार्टीगत मान्यताका लागि ८१५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर, अध्यक्षमण्डलका नेता राजेन्द्र महतो र अनिलकुमार झा पदाधिकारीका नाम लिएर निर्वाचन आयोग जानुभएको हो ।

राजपाका नेता केशव झाका अनुसार ८१५ सदस्यीय केन्द्रीय समितिमा ६ सदस्यीय अध्यक्षमण्डल, सहअध्यक्ष ३, वरिष्ठ उपाध्यक्ष ८, उपाध्यक्ष २४, महासचिव ३१, सहसचिव ३४, सचिव १२, कोषाध्यक्ष ५, सहकोषाध्यक्ष २, प्रवक्ता ६ र सहप्रवक्ता १ छन् ।

१३४ पदाधिकारीमा तमलोपाबाट २५, सद्भावना पार्टी ३३, तमसपार्टी १९, तमसपा १५, नेसपा २८ र फोरम गणतान्त्रिकबाट १४ जना छन् ।

यसैगरी, ८१५ सदस्यीय केन्द्रीय समितिमा तमलोपा २०५, सद्भावना १६८, तमसपा १३१, रामसपा १०१, नेसपा १६० र गणतान्त्रिक ५० जना रहने झाले बताएका छन । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।