विप्लवलाई चुनौती दिदै नेकपा छाडेका जीवनले खोले नयाँ पार्टी

समृद्धी र सुशासन मुख्य नारा

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अघिसारेको एकिकृत जनक्रान्तिको कार्यदिशा गलत भएको र त्यसबाट जनताको मुक्तिगामि क्रान्ति हुन नहुने भन्दै सम्बन्ध बिच्छेद गरेका नेता कार्यकर्ताहरुको एक समूहले आज राजधानीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी नामको नयाँ पार्टी घोषणा गरेको छ ।

नेकपाबाट राजिनामा गरेका पूर्व केन्द्रीय समितिका नेतादेखी जिल्ला इन्चार्ज र भातृ संगठनका सचिव, जिल्ला स्तरका नेताहरुको राजधानीमा सम्पन्न भेलाले आज नेकपा माओवादी नामको पार्टी घोषणा गरेको हो ।

नयाँ घोषणा भएको पार्टी नेकपा माओवादीका संयोजक जीवन खड्का माओवादीले सञ्चालन गरेको जनयुद्धमा संम्मिलित नेता हुन ।

उनले विप्लव नेतृत्वको नेकपाको भेरी ब्युरो इन्चार्जको पदबाट राजिनामा दिएर नयाँ पार्टी गठन गरेका हुन । नयाँ गठित पार्टी ३५ सदस्यीय केन्द्रीय समिति सदस्य गठन भएको र त्यसको संयोजकमा जीवन खड्का रहेको बताइएको छ ।

नेकपाले भने उनलाई पार्टीबाट कारवाही गरिएको भन्दै यसअघि नै विज्ञप्ति निकालेको थियो तर उनले भने पार्टीमा गलत संस्कारको विकास भएको र त्यहा सुधारहुने सम्भावना आफुले नदेखेकाले बाहिरिएर रुपान्तरण सहितको माओवादी आन्दोलको एकता गर्ने योजना अनुसार पार्टी घोषणा गरेको तर्क गरेका छन ।

पार्टी घोषणापछि नेकपा माओवादीका संयोजक खड्काले हरपल नेपाल डट कमसँग कुराकानी गर्दै जनताको हक, हित र अधिकारको लागि लड्ने पार्टी नभएकाले त्यसको पूर्ति गर्न आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन भएको दाबी गरेका छन । उनले समृद्धी र सुशासन मुल नारा बनाएर पार्टी अगाडि बढ्ने विश्वास ब्यक्त गरें ।

खड्काले भनेका छन–‘राजनितिक वैचारिक तहमा देखिएका गैर सर्वहारावादी प्रवृत्तिहरुलाई उजागर गर्दै, त्यसले पार्टी संगठन निर्माण र संघर्षमा देखिएको दिशा हिनताको समस्यालाई प्रष्ट गर्न, रुपान्तरण सहितको बृहत माओवदी एकताका गर्नका नयाँ पार्टीको जन्म भएको छ ।’