ठूला संगठनहरु पत्रकार महासंघको चुनावमा लाखौं रकम खर्च गरेर भएपनि चुनाव जित्ने दाउमा छनः अध्यक्ष राउत (भिडियोसहित)

‘हामी पत्रकार महासंघमा सुद्धिकरणको मुद्धा लिएर निर्वाचनमा जान्छौं ।’

(पत्रकार महासंघकको २५ औ महाधिवेशनको मिति नजिकिदै गर्दा विभिन्न पदमा उम्मेदवारी दिन चाहेका पत्रकारहरुले आ आफ्नो प्रचार प्रसारको कामलाई पनि ब्यापकता पारेको देखिन्छ । यसअघि हामीले अध्यक्ष पदका लागि प्रेस सेन्टर, प्रेस युनियन लगायतको तर्फबाट साँझा उम्मेदवार गोबिन्द गौतम र प्रेस चौतारी र अन्य संगठनहरुको तर्फबाट अध्यक्षका उम्मेदवार तीर्थ कोइरालासँग उनका एजेन्डा र चुनावी तयारीको विषयमा संवाद गरिसकेका छौ । आज नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द रावतसँग कुराकानी गरेका छौ । अध्यक्ष पदका उम्मेदवार राउतले श्रमजीवि पत्रकारको हक, हित र अधिकारको लागि निर्वाचनमा भाग लिएको बताएका छन । उनले संसदवादी पार्टीहरु र त्यो निकटको पत्रकार संगठनहरुले निर्वाचनमा लाखौं खर्चेर चुनाव जित्ने योजना बनाएको दाबी गरेका छन । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी– )

  • तपाईको उम्मेदवारी नै किन, यो विषयमा प्रष्ट पारिदिनुस ?

-क्रान्तिकारी पत्रकार महासंघ जहिले पनि श्रमजिवि पत्रकारहरुको मुद्दालाई उठाउँदै आएको छ, हामीले नै यसले यो मुद्दालाई प्रमुख रुपमा उठाएको छ । अहिले आएर निर्वाचनका लागि खासगरि दुई वटा एलाइन्स देखिएको छ, त्यो दूइवटै एलाइन्सले हामीले उठाएका मुद्दाहरुको नेतृत्व गर्ने काम गर्न सकेनन । हामीले एलाइन्सको प्रयास पनि गर्यौ, एलाइन्सको प्रयास गर्दै जाँदाखेरि दुबैतिरबाट दुबै संगठन, दुबै एलाइन्स जो अहिले छ । खास गरि ठूला तीन संगठनहरु मध्ये युनियन र सेन्टरको एउटा एलाइन्स बनेको छ भने चौतारी लगाएतको अर्को एलाइन्स बनेको छ । दुबैतिर हामीले हाम्रा मुद्दाहरुको विषयमा यदि सहमति बन्छ भने हामी एलाइन्स भन्दा बाहिर जाँदैनौँ, तर मुद्दा मिल्दैन भने हामी एलाइन्समा जाँदैनौँ बरु हामी आफ्नै ढंगले अगाडि बढ्छौ भन्ने विषयमा हामीले छलफल गर्दै जाँदाखेरी हाम्रो संगठनले उठाएको जुन नीति कार्यक्रम हो, हामीले उठाएका जुन शुद्धिकरणका मुद्दा छन, श्रमजिवि पत्रकारका मुद्दा छन, साना लगानिका मिडियाहरुको संरचना सम्बद्र्धन लगाएतका मुद्दाहरु छन । ति मुद्दाहरुसँग हामीले सहकार्य हुने वातावरण देखेनौँ र ति संगठनहरु जो आफुलाई ठूला भन्ने भन्ने गर्छन । तिनका नेतृत्वमा खासगरि निषेधात्मक अलि बढि हावि भएको देखिन्छ । अब साझा संगठन भनेर भन्ने अरु संगठनको अस्तित्वलाई नस्विकार्ने जुन प्रवृत्ति हामीले देख्यौँ त्यो प्रवृत्तिका विरुद्ध पनि मैले उम्मेदवारी दिएको हो ।

LOADING...
  • अरु संगठनले तपाईहरुको शक्तिको अबमूल्यान गरेको नै हो त ? तपाईहरुको आरोप यही हो ?

-त्यो मात्र पनि होइन, हामी के चाहान्थ्यौ भने नेपाल पत्रकार महासंघ भनेको त्यो एउटा छाता संगठन हो, त्यसको चरित्र भनेको साझा हुन्छ । साझा चरित्र भैसकेपछि त्यो छातामा त्यसको संरचना हुने भैसकेपछि सबै स्टेक होल्डरहरु जति संगठनहरु छन । सबैको प्रतिनिधित्व र सबैको चाहि आत्मसम्मान कायम हुनेगरि, सबैको अस्तित्व, सबै संगठनहरुको प्रतिनिधित्व हुने गरि हामीले सोच्ने हो भने एलाइन्समा जान सकिन्छ भन्ने हाम्रो एउटा प्रयास रह्यो, अर्को सँगसँगै हामीले उठाएको मुद्दा के थियो भने हामीले हाम्रो संगठन स्थापनाकालदेखि नै उठाएको जुन मुद्दा हो, त्यो मुद्दा भनेको अहिले जुन नेपाल पत्रकार महासंघ छ, यो वास्तविक श्रमजिवि पत्रकारहरुको साझा संगठन हुन सकेको छैन । निश्चित जो जो नेतृत्वमा गए, जो जो पार्टी निकटका पत्रकार संगठनहरु त्यसको नेतृत्वमा गए उनीहरुले चाहि आफु निकटका संगठनहरुको भर्ति केन्द्र बनाउने खालको भयो । त्यस्तो हुनुहुदैन, यो संस्था भनेको श्रमजिवि पत्रकारहरुको साझा थलो हुनुपर्छ र सबै स्टेक होल्डर संगठनहरको चाहि साझा आवाजहरु, साझा एजेण्डाहरु त्यो संस्थागत रुप लिने ठाउँ पाउनुपर्छ । अनि मात्रै यसको साझा चरित्र जोगिन सक्छ, होइन भने एकाध संगठनको त्यहाँ बर्चस्व लाग्ने गरि हामीले यो अभ्यास गर्छौ भने त्यसको एउटा लोकतान्त्रिक चरित्रको अभ्यास पनि भएन । यसको जुन विधानले एउटा परिकलपना गरिएको छ, महासंघ कस्तो बनाउने भन्ने कुरा, त्यो चाहि परिकलपना गरे भन्दा विपरित छ । अहिले अभ्यास भैरहेको छ, त्यहाँ त्यो भएको हुनाले एकाध संगठनको बर्चस्व लाग्ने गरि होइन, सबैको अस्तित्व स्विकार्ने गरि र वास्तवमा त्यो श्रमजिवि पत्रकारहरुको छाता र साँझा थलो हुने गरि यसलाई अभ्यास गर्दै जानुपर्छ भन्ने हो । हामीले खास गरि जो वास्तविक श्रमजिवि पत्रकारहरु हुन उनीहरुको त्यहाँ प्रतिनिधित्व हुनुपर्छ । तर पत्रकारको नाममा गैरपत्रकारहरु हावि हुने चाहि अभ्यास गर्नुहुन्न । त्यो गर्दाखेरी हामीले हाम्रा मुद्दाहरुलाई केन्द्रमा राखेको हो । मुद्दा र सह अस्तित्व र सहकार्य त्यो दुईवटैमा हामीले अभ्यास गर्न खोज्यौ र अर्को उनीहरुमा निषेधात्मक चरित्र ।

  • तपाईले पहिले ज्ञापन पत्र बुझाउने क्रममा पत्रकार महासंघको अध्यक्ष डा. बिष्टलाई हामी समानान्तर कमिटि गराएर अगाडि बढ्ने अवस्था आउन सक्छ भनेर चेतावनी पनि दिनु भएको थियो नि ?

-जब जिल्ला अधिवेशनहरको समय नजिकिदै थियो, त्यतिखेर हामीले के देख्यौ भने गैरपत्रकारहरु ठाउँ–ठाउँमा भर्ति गरेको देख्यौ र नेपाल पत्रकार महासंघभित्र अपारदर्शि क्रियाकलापहरु धेरै बढेकोे छ । र त्यहाँको केन्द्रिय सदस्यसमेतलाई यस्ता खालका गतिविधिहरु थाहा नहुने रहेछ, उनीहरुलाई थाहा नदिने खालको अभ्यास पनि त्यहाँ भयो , त्यो हामीले देख्यौ । त्यो लगाएत हामीले श्रमजिवि पत्रकारहरुका मुद्दाहरु, साना लगानीका मिडियाहरुका मुद्दाहरु लगाएत सबै विषयहरुलाई समेटेर यि मागहरु पुरा गरियोस, एउटा वातावरण निर्माण गरियोस, यदि यो साझा थलो हो भने सबै साझा चरित्रमा अभ्यास गर्ने त्यो खालको , एकाध संगठनहरुले मनमर्जि गर्ने, तीन दलिय सिन्डीकेट लाद्ने खालको कामहरु नगरियोस भनेर हामीले खबरदारी पनी गर्यौ ।

LOADING...
  • अहिलेको एलाइन्स हेर्ने हो भने सत्ता पक्ष र प्रतिपक्षमा भएका घटकहरुको, चाहि एउटा खालको मोर्चा बनेको छ, अर्को प्रतिपक्षमा बस्ने पार्टीको केहि साना टिमहरुलाई लिएर एउटा खालको टिम निर्माण भएको छ, तपाईहरु दुईवटै टिममा अट्नु भएन यसलाई कसरी बुझ्नु भएको छ ?

-यो कुराको अघि पनि मैले भनिसकेको छु । हामी दुईवटै टिममा किन अटाउन सकेनौँ भने पहिलो कुरा हामीले उठाएका मुद्दाहरु हुन । तपाईलाई म एउटा उदाहरण दिन्छु दिपेन्द्र कुँवर जो अहिलेको केन्द्रीय समिति सदस्य हुनुहुन्छ । उहाँले पटक,पटक सुद्धिकरणको मुद्दा उठाउनु भयो तर उहाँलाई त्यहि मुद्दा उठाएको बापत चाहि अब अहिले पत्रकारको महासंघको सुद्धिकरण, श्रमजिवि पत्रकारका मुद्दाहरुलाई स्थापित गर्ने सवालहरुमा त्यो मुद्दाहरुमा लडि राखेको जो पात्र हो । उहाँलाई ससम्मानसहित निर्विरोध रुपमा अगाडि बनाउनु पर्दछ । तर एलाइन्समा हामीले उहाँको बारेमा अलिकति प्रयास गर्दाखेरी पनि साथिहरुले दुबैतिरबाट ढोका बन्द गर्ने प्रयास गर्नु भयो । किन भने उहाँहरुको लाइन नै के छ भनेदेखि उस्तै, उस्तै लाइन भएका साथिहरु जाने मिलिजुलि खाने खालको मात्रै लाइन भयो ।

LOADING...
  • खासगरि पत्रकार महासंघको उम्मेदवारी भनेको पत्रकारको हकहितका लागि र एजेण्डा स्थापित गर्नका लागि हो ?

-एकदमै बिसुद्ध त्यसैको लागि हो । हामी पत्रकार महासंघमा गएर अरु केहि उद्देश्य छैन, मात्रै आम श्रमजिवि पत्रकारहरुको मुद्दा जो छ, उनीहरुको हकहित र अधिकारको लागि हामी महासंघमा जाने भनेका हौ । हाम्रो उम्मेदवारी पनि त्यसैको लागि हो । हामीले श्रमजिवि पत्रकारको मुद्दालाई सुरुका दिनदेखि नै उठाउँदै आएका छौ, र अहिले निर्वाचनमा पनि त्यही मुद्धालाई घोषणापत्रमा समेटेर जादैँ छौ ।

  • पत्रकार महासंघमा राजनीतिले प्रभावीत पारेको भन्ने धेरै ठाउँबाट पत्रकारहरुमा असन्तुष्टि आइरहेका छन, यदि तपाईहरुले चुनावमा जित्नुभयो भने त्यो समस्या रहन्छ कि रहदैँन ?

-यो विषयमा हामी अरुको जस्तो पाखन्डी कुरा गर्दैनौं, पत्रकार महासंघको विधान जो छ, त्यसलाई शिरमा राखेर त्यहाँ जाने र पूर्णतया कार्यान्वयन गर्ने काम हामीबाट हुन्छ । मानिस राजनीतिक प्राणालि हो, राजनीतिक आस्था बिनाको मानिस पाउँन गाह्रो हुन्छ, त्यसो भएको हुनाले हामी पनि कुनै राजनीतिक दल निकट होला, तर महासंघको आफ्नो गरिमा र महत्वलाई मेटाउँने गरी हामी कुनै काम गर्नेछैनौ । हामी श्रमजिवि पत्रकारको पक्षमा काम गर्छौ, महासंघलाई बिशुद्ध पत्रकारहरुको साझाँ संगठन बनाउँन चाहन्छौँ ।

  • निर्वाचनमा जाँदैहुनुहुन्छ, तयारीको अवस्था के कस्तो छ ?

-हाम्रो संगठन आर्थिक हिसाबले कमजोर छ, तर बैचारिक, राजनैतीक र पेशागत मुद्धा उठाउने हिसाबले हामी सबृद्ध छौ,त्यो दाबी साथ भन्न पनि सक्छौँ । अन्य संगठनहरु साम,दाम दण्ड जे जसरी प्रयोग गरेर भएपनि निर्वाचन जित्नु पर्छ भन्ने ढंगले लाग्नु भएकोछ, उहाँहरुले स्थानीय निर्वाचनमा जस्तै लाखौँ रकम अहिलेको निर्वाचनमा खर्चेर चुनाव जित्ने सोच्दैहुनुहुन्छ, तर हाम्रो अवस्था त्यस्तो छैन । हामीले प्रचारका सामाग्रीहरु छाप्नको लागि पनि आर्थिक अभावका कारण साथिहरुबाटै संकलन गर्नु परेको अवस्था छ । पत्रकार साथीहरु आफैमा बिद्धवान हुनुहुन्छ यस्तो विषयमा ख्याल गर्नु आवश्यक मैलें देखेको छु ।

  • हिजको राजनीतिक पृष्ठभूमि एउटै छ, धेरै मुद्धाहरु पनि मिल्छन तर तपाईहरु निर्वाचनमा भने सँगै जान सकेको देखिएन, किन ? नयाँ शक्ति, विप्लव लगायतका संगठनहरुबीचको तालमेल किन सम्भव भएन ?

-हामीले अहिले होइन, जिल्ला अधिवेशनहरु हुदैँगर्दाको अवस्थामा पनि आकारमा साना देखिएका तर मुद्धा मिल्ने सबै संगठनहरु मिलेर जाऔँ भन्ने खालको छलफल गरेका थियौं । एकहदसम्म हामी त्यसमा सहमत पनि भएका हौँ तर ठूला भनिने केही संगठनहरुले त्यसमा फुटाउन खोजेका कारण त्यो सम्भव भएन । उहाँहरु ठूलो संगठनले जे जे दिन्छ त्यो लिएर चुपचाप बाटो मोड्नुभो । उहाँहरुले महासंघमा जसरी हुन्छ प्रतीनिधित्व गर्ने कुरालाई मुख्य मान्नुभयो तर हामीले मुद्धालाई मुख्य कुरा ठान्यौं र त्यो कुरा महाधिवेशनमा पत्रकार साथीहरुको बीचमा लिएर जाने निर्णयमा पुगेका छौं ।

  • तपाईको ख्यालमा महासंघको निर्वाचनमा पत्रकारका संगठनहरुले कतिसम्मको रकम खर्च गर्लान ? बाहिरबाट कस्तो देख्नुभएको छ ?

-अहिलेका राजनीतिक दलहरु र त्यो निकटका पत्रकारका संगठनहरुको संस्कार, पद्धति, राजनीतिक अभ्यास ति सबै एकै प्रकारको देखिन्छ, त्यो अलग हुदैँन । उहाँहरुको एउटै मात्र कुरा छ, जसरी पनि निर्वाचन जित्ने, र त्यसको लागि जे पनि गर्न तयार हुन्छन । त्यो कल्चर हाम्रो लागि अलिकति अनौठो लागेपनि उहाँहरुको लागि त्यो सामान्य देखिन्छ ।

  • अन्तिममा देशैभरीबाट महाधिवेशनको लागि राजधानी पुगेका पत्रकार साथीहरुसँग केहि भन्न वा मत माग्नुपर्ने छ भने तपाई माग्न सक्नुहुन्छ ?

-पत्रकारिता आफैमा बिद्धवान वर्गको प्रतिनिधित्व हुने पेशा हो, हामी पत्रकार र सबै पार्शद साथीहरुलाई सही नीति र सही नेतृत्वको पहिचान गर्नका लागि अनुरोध गर्दछौ । साथीहरुले श्रमजिवि पत्रकारको पक्षमा ओकालत गर्दै आएको संगठन, प्यानल र नेतृत्वलाई ख्याल गर्नुहोला भन्न चाहन्छु । तपाईहरुको साथ, सहयोग र समर्थनको अपेक्षा पनि गर्दछु ।

LOADING...