टिकट नपाएपछि दल फेर्न थाले उम्मेदवारका दावेदार

रौतहट । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटमा दल बदल्नेहरुको होडबाजी जस्तै भएको छ। लामो समय एउटै पार्टीमा रहेर काम गर्नेहरु टिकट नपाउने भएपछि धमाधम पार्टी बदल्न थालेका छन्।

नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसवादी सबै दलमा पार्टी छाड्ने र प्रवेश गर्नेको होडबाजी देखिएको हो।

नेकपा एमालेमा दशकौं राजनीति गरेकी महिला नेतृ देवकी नेपाललाई पार्टीमा टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेपाललाई माओवादीको तर्फबाट चन्द्रपुरको उपमेयरको उम्मेदवार बनाइएको छ।

राजदेवी नगरपालिकाको मेयर पदका लागि राजपाबाट टिकट पाउने आशा रहेका रामेश्वर राय यादव र पूर्व सभासद रम्भादेवी यादवलाई पार्टीले टिकट नदिएपछि संघीय समाजवादी फोरम नेपालमा फर्केका छन् ।

पहिले फोरमले नै समानुपातिकबाट यादवलाई सभासद बनाएको थियो र आन्तरिक असन्तुष्टि बढेपछि राजेन्द्र महतो नेतृत्वको तत्कालीन सदभावनामा प्रवेश गरेकी थिइन्।

राजपा नेपाल रौतहटको अध्यक्ष मण्डलका सदस्य शेख नुरुल होदाले पनि पार्टी परित्याग गरेका छन् । पार्टीले टिकट नदिएपछि होदा असन्तुष्ट बन्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टीले कुनै नीति र सिद्धान्त नअपनाएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसको टिकटको घोषणा नहुँदै गरुडा नगरपालिकाका अधिकांश पुराना कार्यकर्ताहरुले सामाजिक संजालमा असन्तुष्टि पोख्न थालेका छन् ।

रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति राम भरोस राय यादवले पार्टीले सही मूल्यांकन गर्न नसकेको कारण विकल्पको खोजीमा रहेको बताएका छन् ।

नेपाली काँग्रेसको निकट रहेर लामो समय राजनीति तथा उद्योग व्यापारको राजनीति गरेका कन्थमुनिप्रसाद जयसवाल माओवादी केन्द्रमा प्रवेश गरेका थिए। जयसवालले माओवादी केन्द्रबाट गरुडा नगरपालिकाको लागि मेयरको टिकट पाउने निश्चित भएसँगै केही कार्यकर्तामा असन्तुष्टि बढेको छ ।

मधेस आन्दोलनमा अग्रपंक्तिमा रहेर संघर्ष गरेका राजपाका केन्द्रीय सदस्य राजकुमार दास तत्माले पनि आफ्नो पार्टी राजपाले टिकट नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसले पुराना र समर्पित कार्यकर्तालाई कटहरिया नगरपालिकाको मेयर पदमा उम्मेदवार नबनाएको भन्दै क्षेत्रीय सचिव संजयकुमार मिश्रसहित दर्जनौँ कार्यकर्ता आइतबार माओवादीमा प्रवेश गरेका छन्।

विभिन्न राजनीतिक दलमा पार्टीको नीति, सिद्धान्त र त्यागभन्दा निर्वाचनको मुखमा आएर पार्टीको आधिकारिक टिकटको विषयलाई नै प्रतिष्ठाको विषय बनाएर दल बदल्ने क्रम जारी रहेको छ ।

कतिपय स्थानमा असन्तुष्ट कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवार बनाएर पार्टी विरुद्ध विद्रोह गर्ने सम्भावना पनि बढेको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।