देवनारायणका बाबुछोरा दुबै निर्दोषः राजीखुसी विवाह गरेको भन्दै ज्योति आज वीरपुरस्थित अदालतमा जाने

भन्छिन–‘उहाँहरुलाई षड्यन्त्रमूलक रुपमा फसाइयो, मेरो अपहरण भएको होइन’

सप्तरी । युवा युवति बीचको प्रेम सम्बन्ध झाँगीएपछि राजीखुसी विवाहका लागि तयार भएका एक जोडिलाई भारतीय प्रहरीले षड्यन्त्रमूलक रुपमा अपहरणको मुद्धा लगाएर फसाएको खुल्न आएको छ ।

सप्तरीको तिलाठीका स्थानीयवासी देवनारायण यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीले झुट्टो मुद्धा लगाएको हो ।

उनीहरुलाई भारतीय युवती ज्योतिकुमारी साहको अपहरण गरेको र ज्योति नाबालक समेत भएको अभियोगमा पक्राउ गरेर तीन दिनदेखि भारतीय कारागारमा थुनाम राखेको छ ।

भारतीय प्रहरीले दुवैमाथि कुनौलीकी युवती ज्योतिको अपहरण गरेको भनि लगाएको मुद्दा उनलाई फसाउने सड्यन्त्र भएको ज्यातिले दिएको वयानबाट खुल्न आएको छ ।

घटनाका विषयमा जानकारी लिन नेपालबाट गएको एक टोली समक्ष ज्योतिले आफ्नो अपहरण नभई अजयसँग विवाह गरेको बताएकी छन ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डे सम्मिलित जिल्ला सुरक्षा प्रमुखहरूको टोलीले अपहरण भएको भनिएकी ज्योतिकुमारी साहसँग लिएको बयानबाट उनलाई षड्यन्त्रपूर्वक फसाइएको कुरा सप्तरी प्रहरीले हरपलसँग बताएको हो ।

सप्तरीका प्रजिअ भगीरथ पाण्डे, नेपाल प्रहरीका उपरीक्षक मुकेशकुमार सिंह र सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादवसहितको टोली समक्ष ज्योतिले आफ्नो अपहरण नभएको र उनीहरुलाई षड्यन्त्रपूर्वक थुनामा राखिएको भन्दै छुटाईदिन आग्रह समेत गरिन ।

ज्योतिले भनेकी छन–‘मैले राजीखुसी अजयसँग विवाह गरेकी हुँ । अहिलेको घटनाक्रम षड्यन्त्रमूलक छ, यसमा उहाँहरुको कुनै दोष छैन, मेरो अपहरण गरिएको भन्ने हल्ला निराधार छ । म उहाँहरुलाई छुटाउन अदालतमा वयान दिन जान्छु ।’

उनका अनुसार अजयसँग उनको भागेर विवाह भै सकेको छ । उनले आफ्नो श्रीमान र ससुरालाई बिना आधार प्रक्राउ गरेको प्रति आक्रोश व्यक्त गर्दै आफु बुधबार भारतको वीरपुरस्थित अदालतबाट सबै खुलासा गर्ने आफ्नो तयारी रहेको बताएकी छन ।

नेपालका यादव पक्षलाई प्रतिपक्ष गराइ दिइएको उजुरीमा ज्योतिलाई नाबालक भनिएपनि उनी १८ बर्ष पुगेको समेत खुल्न आएको छ । भारतमै बनेको आधारपत्रमा ज्योतिको जन्म सन् १९९९–०२–०१ देखिन्छ ।

राष्ट्रवादी नागरिको रुपमा सम्मानीत यादवका बाबुछोराको रिहाइ गर्न गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि मंगलबार भारतको सुपौल जिल्लास्थित कुनौली थानासँग औपचारिक जानकारी लिइएको थियो ।

टोली मंगलबारै बिहान तिलाठी गाउँपालिकास्थित देवनारायणको घरमा पुगेर समेत घटनाबारे जानकारी लिएको छ । नेपाल सरकारले समेत यादवको विषयमा चासो दिएपछि अनुमण्डल व्यवहार न्यायालय वीरपुर अदालतले दुवैको रिहाइका लागि कानुनी कारबाही प्रक्रिया अगाडि समेत बताएको छ।

बालिका अपहरणको अभियोगमा लगाउदैँ भारतीय प्रहरीले गत शनिबार साँझ अजयकुमारलाई र आइतबार देवनारायणलाई पक्राउ गरेको थियो । उनीहरुलाई तीन दिनदेखि सुपौल जिल्लाको वीरपुर कारागारमा राखिएको छ ।

एक वर्षअघि भारतीयहरूले खाँडो नदीमा बाँध बाँधेपछि नेपालतर्फको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियासहितका गाविस डुबानमा परेकाले देवनारायण यादवको नेतृत्वमा नेपालीहरूले बाँध भत्काउदा दोहोरो झडपसमेत भएको थियो ।

उक्त झडपमा परी यादब सहित आठ नेपाली घाइते भएका थिए भने केही भारतीय प्रहरी समेत घइते भएका थिए । उक्त घटनापछि चर्चामा रहेका यादवलाई प्रतिरोधको रुपमा भारतीय प्रहरीले झुट्टो आरोपमा फसाएको स्थानीयवासीको आरोप छ ।