यि तीन क्रान्तिकारी पत्रकार- जसले दिए प्रतिस्पर्धी उम्मेदवारलाई ठाडो चुनौती

संसदीय व्यवस्थाको भण्डाफोर: जनवादी क्रान्तिको तयारी

बर्दिया । संसदीय व्यवस्थाको भण्डाफोरको नीति सहित आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालबाट उम्मेदवार बनेका क्राान्तिकारी पत्रकार महासंघका नेताहरु अहिले चर्चामा रहेका छन ।
क्रान्तिकारी पत्रकार महासंघका ३ नेताहरु अहिलेको निर्वाचनमा देजमोको निर्वाचन चिन्ह मुठ्ठी लिएर चुनावी मैदानमा सहभागी भएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघका नेताहरुको उम्मेदवारी भएका क्षेत्रमा प्रतिस्पधी बीच बढी चर्चा भएको छ ।

क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष नरायण पंगेनी, कार्यालय सदस्य एवं पाँच नम्बर प्रदेश संयोजक लोकराज जैसी “लोकेश” र बांके जिल्ला अध्यक्ष दीनेश श्रीवास्तव “त्यागी” क्रमस नवलपुर, बर्दिया र बांकेबाट चुनावी प्रतिस्पर्धामा सहभागी रहेका छन ।

पत्रकार पंगेनीको उम्मेदवारी: प्रतिस्पर्धीलाई तनाव

क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष पंगेनी नवलपुर–२ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार भएका छन ।

उनी बामगठबन्धनका तिलक महत र लोकतान्त्रिक गठबन्धनका विष्णु कार्कीसंग चुनावी प्रतिस्पर्धा गर्दै छन ।

पंगेनीको उम्मेदवारी यतिबेला ठूलादलका नेताहरुको लागि निकै चुनौतीपूर्ण बनेको छ । स्थानीय पत्रकारहरुका अनुसार पगेनीको उम्मेदवारीले प्रतिस्पर्धी नेताहरुकालाई निकै गाह्को पारेको छ ।

को हुन पंगेनी ?

राष्ट्रिय मूलधारका दर्जनौं मिडियामा काम गरिसकेका पत्रकार पंगेनीको उम्मेदवारीले नवलपुर २ मा चुनावी माहौल गर्माएको छ ।

जनयुद्धकालदेखि निरन्तर पत्रकारिता गर्दै आएका पत्रकार पंगेनीले जनादेश,रेडियो पश्चिामाञ्चल,जनदिशा दैनिक,अनलाइनखबर,राटोपाटी, बुटबल दैनिक, बुटबल टुडे, खबर डवली, जनता टेलिभिजनलगायत दर्जनौं मिडियामा काम गरी सकेका छन ।

पत्रकार पंगेनीले ठेकेदार,तस्कर,गुण्डा नाइकेहरुले करोडौं खर्च गरेर चुनाव जित्ने र भ्रटचार गर्ने थलोको रुपमा प्रयोग गर्दै आएको संसदीय व्यवस्थालाई ध्वत गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए ।

पत्रकार जैसीको उम्मेदवारीः बामदेव र संञ्जयलाई ठाडो चुनौती

क्रान्तिकारी पत्रकार महासंघको कार्यालय सदस्य एवं ५ नं. प्रदेश संयोजक समेत रहेका जुझारु युवा नेता लोकराज जैसी प्रतिनिधीसभा सदस्यका लागि बर्दियाको क्षेत्र नं.१ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका छन ।

जैसी बाम गठन्धनका उम्मेदवार तथा एमाले नेता बामदेव गौतम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता संजय गौतमसंग चुनावी प्रतिस्पर्धामा होमिएका छन ।
जैसीका प्रतिस्पधी बामदेव पूर्वगृहमन्त्री हुन भने संजय सिचाई मन्त्री रहेका छन ।

ठूलोपार्टीबाट सरकारमा पुगिसकेका नेताहरुसंग आफुले चुनावी प्रतिस्पर्धा गरि रहदा प्रतिस्पधीहरुको मुटुकापेको उनको भनाई छ ।

जैसीले भने-“पटक पटक जनतालाई आस भरोसा र झुट्टो विकासको नारा भजाउदै सत्ताको स्वाद लिने नेताहरुको बास्तविकता चुनावको क्रान्तिकारी उपयोग मार्फत जनता माझ लिएर गएका छौ । स्थानीय जनताहरुले दलाल संसदीय व्यवस्था र त्यका एजेन्टहरु लाई यस पटक राम्ररी नाङ्गेझार पार्ने छन ।”

उनले भने “मुलुकमा गरिखाने श्रमजीवि जनताको लागि परिवर्तन आएको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको वास्तविक समस्याको समाधानका लागि नयां जनवादी क्रान्तिको बांकी कार्यभार पूरा गर्दै मुलुकमा जनताको वास्तविक गणतन्त्रको स्थापनाका लागि जाग्नु पर्ने बेला आएको छ । त्यसकालागि वर्तमान दलाल संसदीय व्यवस्था, सत्ता र संविधानलाई ध्वस्त पार्न जरुरी छ, म यो देशको सचेत नागरिकका हिसावले यी तमाम बिषयहरु जनतामा चुनावी सन्देशका रुपमा लिएर गएको छु ।”

जैसीको उम्मेदवारीले प्रतिस्पर्धीहरु बीच चुनौती थपिएको स्थानीय पत्रकारहरुको आंकलन छ । आफ्नो उम्मेदवारीले ठूलादलका नेताहरु हैरान परेको र भण्डाफार अभियानले जनताबिच अविस्वास पैदा गरेको उनले दावी गरेका छन ।

जैसीले भने-“दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै जनवादी क्रान्तिको तयारीकालागि जनतालाई संगठित गर्ने उदेश्य अनुसार जीत निश्चीत छ । हामीलाई दशबर्षे जनयुद्धका शहिद,बेपत्ता,अपाङ्ग परिवारका साथै माओवादी नेता कार्यकर्ता र अधिकांश श्रमजीवी बर्गका जनताको अपार मत आउछ ।”

पार्टी बिभाजनका कारण अहिले जुनसुकै पार्टीमा भएपनि क्रान्तिको अगुवाई गर्ने नेता,बिचार,नीति,सिद्धान्त र जनयुद्धका एजेन्डा क्रान्तिकारी माओवादी पार्टीले बोकेको हुनले यस पटक आफ्नो अमुल्य मतदान मुठ्ठी चिन्हमा गर्ने बिश्वास जनताले घरदैलो कार्यक्रमका क्रममा आफुलाई दिलाएको जैसीले बताएका छन ।

उनले आफ्नो जित्ने आधार पार्टीको निती र सिद्धान्त भएको भन्दै जनवादी क्रान्तिका लागि सम्पुर्ण उत्पीडीत बर्ग,समुदाय,लिंग,क्षेत्रका साथै दलाल संसदीय व्यस्थाका कारण हेपिएका आम जनताहरुको आफुलाई समर्थन रहेको दावी गरे ।

बामदेवसँग टक्कर गर्ने जैसी को हुन ?

बर्दियाको हाल ठाकुर बाबा नगरपालिका २ जन्मेका ३१ बर्षे जैसी राष्टिय स्तरमा नाम कहलिएका नेताहरुसंग चुनावी प्रतिस्पर्धा मात्रै होइन चुनौती खडा गर्दैछन ।

बर्दियामा जन्मेर यही हुर्केका उनी जनतालाई जहिले पनि भ्रमको राजनीति गरेर आफ्नो व्यस्थापन गर्ने भ्रष्टाचार गरेर अकुत सम्पत्ति थुपार्ने र चुनावको बेला मात्र गाउमा फर्कने नेताहरुका बिरुद्ध व्यापक रुपमा भण्डाफोर गर्ने नीति सहित उम्मेदवारका रुपमा आएको बताउँछन ।

पेशाले पत्रकार, अध्ययनका हिसावले कानूनक बिद्यार्थी र निरन्तर समाज सेवामा जोडिएका जैसी मुठ्ठी भरका समान्तबर्गको राज्य व्यस्था पल्टाउनका लागि मुठ्ठी चुनाव चिन्ह लिएर निर्वाचनमा उभिएको बताउन्छन ।

उनले ग्रमिण विकासमा स्नातक गरेका छन । उनी राजनीति शास्त्रमा स्नाकोत्तर, कानून मा अधिवक्ता, कम्प्यूटरमा डिप्लोमा, र आधारभूत पत्रकारिता बिषयका बिद्यार्थी हुन ।

उनले सत्यपत्र दैनिक, रेडियो जनआवाज बांके, नेपाल समाचारपत्र, नेपाली एक्प्रेस राष्ट्रिय दैनिक, दैनिक नेपालगंज, रातोपाटी अनलाईन, खबरडबली अनलाईन, अनुगमन मासिक, हरपल नेपाल डटकम लगायतका दर्जनौ मिडियाहरुमा काम गरी दक्षता हासिल गरेका छन ।

मधेशी समुदायबीच लोकप्रिय पत्रकार श्रीवास्तव – “भन्छन जीत निश्चित छ”

क्रान्तिकारी पत्रकार महासंघ बांकेका अध्यक्ष दिनेश श्रीवास्तव बांकेको प्रदेश नं.२ ख बाट प्रदेश सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन ।

उनले बिगतमा बिभिन्न पार्टीका नेताहरुले जनतालाई बिकासको नारा भजाउदै भोटिङ्ग बैकका रुपमा प्रयोग गरेको र चुनाव जितेर व्यक्तिगत जीवन सुधार्नमा मात्र ध्यान दिएको हुनाले ती पार्टीका उम्मेदवारका बिरुद्धमा आफुले उम्मेदवारी दिएको बताएका छन ।

आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचार प्रसार तिव्र्र पारेको बताउदै उनले भने-“यस पटक सम्पुर्ण श्रमजीवी वर्ग,व्यापारी,बुद्धीजीवी,मधेशी,मुस्लिम,महिला लगायत सबैले बर्गिय मुक्तिका लागि मुठ्ठी चिन्हमा मतदान गर्ने बिश्वास दिलाएका छन । हाम्रो जीत निश्चित छ ।”

उनले भने- “विदेशीहरुकोे नक्कल गरेर संसदवादीहरुले मुलुकमा दुई दलीय निरंकुशता लाद्न खोजेका छन् र उनीहरु क्रान्तिकारी शक्तिमाथि जहिले पनि दमनमा उत्रिन खोजि रहेका छन,त्यसको प्रतिरोध गर्न र नयां जनवादी क्रान्ति सम्पन्न गर्नकालागि चुनावको क्राान्तिकारी उपयोगको नितीमार्फत जनताका घरदैलोमा हामी पुगेका छौ ।”

को हुन श्रीवास्तव ?

श्रीवास्तव क्रान्तिकारी पत्रकार महासंघ बांकेका अध्यक्ष हुन । उनी पेशाले पत्रकार हुन् ।

करिव २० बर्ष अघि देखी निरन्तर पत्रकारिता पेशामा क्रियाशिल श्रीवास्तव आफुले जानेबुझेका कुरालाई देश विकासमा लगाउने उदेश्य सहित यस पटक निर्वाचनमा राजनीतिककर्मिको रुपमा उत्रेका छन ।

मधेश आन्दोलनमा खरो रुपमा उत्रेका श्रीवास्तव यस क्षेत्रका जनताहरु बीच अत्यन्त लोकप्रिय रहेका छन ।

समाजसेवामा जोडिएर बिभिन्न समयमा महत्वपुर्ण योगदान गरेका उनी दर्जन बढी संघ संस्थाहरुसंग जोडिएर काम गरेका छन ।

हुने खाने बर्ग र नहुंदा भोकै बस्ने बर्ग बिचको अन्तरलाई हटाउनकालागि राजनीतिमा होमिएका उनी समाजवादी क्रान्ति आवश्यक रहेको बताउँछन ।