प्यालेस्टाइनलाई ट्रम्पको चेतावनीः शान्ति प्रकृयामा सहभागी नभए सहायता रकम रोक्ने

पक्षबीचको वार्ताका लागि जेरुसलेमको मुद्दा पेचिलो बन्दै

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासमा सहभागी हुन सहमति नजनाएसम्म प्यालेस्टाइनलाई सहयता रकम उपलब्ध नगराउने बताएका छन्।

ट्रम्पले प्यालेस्टिनिहरू वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने कुनै थप काम आफ्नो प्रशासनसँग नहुने बताए। अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टाइनलाई उपलब्ध गराउन लागिएको सबै सहायताका बारेमा पुनर्विचार भइरहेको जनाएका छन्।

प्यालेस्टाइनका पूर्व वार्ताकार साइब अरेकातले ट्रम्पलाई अन्तर्राष्ट्रिय कानूनलाई बेवास्ता गरेको र मध्यपूर्वलाई भाँडभैलोतर्फ उन्मुख गराएको आरोप लगाएका छन्। डाभोसमा इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पनि उपस्थित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले पछिल्लो धारणा राखेका हुन्।

उनले भने, उनीहरूले वार्ता गर्ने सबै भन्दा पेचिलो मुद्दा जेरुसलेम थियो, हामीले जेरुसलेमलाई टेबलबाट हटाइदियौँ, अब त्यसबारे कुरा गरिरहनु परेन, कुनै पनि वार्ता हुँदा लेनदेन हुन्छ कसैले केही पाउँछ केही छाड्छ।

उनले थपे, मलाई थाहा छैन अब फेरि वार्ता हुन्छ कि हुँदैन। तर उनीहरूले यो प्रक्रियालाई सम्मान गर्नैपर्छ र अमेरिकाले उनीहरूलाई निकै धेरै मद्दत गरेको स्वीकार गर्नुपर्छ।

अमेरिकी विदेश मन्त्रालयका एकजना अधिकारीले अधिकांश अमेरिकी रकम आर्थिक सहयोगमा केन्द्रित रहेको र थौरै सुरक्षाकर्मीको तालिमका लागि छुट्याइएको बताएका छन्।

उनले अहिलेसम्म के के कटौती गर्ने र कहिलेसम्म कटौती गरिसक्ने भन्नेबारे निर्णय भइ नसकेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले पत्रकारहरूलाई अवरुद्ध वार्तासँग यो विषय जोडिँदा त्यसले केही परिणाम दिनसक्ने बताएकी छन्।

उनका अनुसार अहिलेको निर्णयले सबै पक्षलाई वार्ताको टेबलमा फर्कन प्रोत्साहन गर्न सक्छ। राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिए यता प्यालेस्टाइनले ट्रम्प प्रशासन सम्मिलित कुनै पनि वार्तामा भाग लिन अस्वीकार गरेको छ।

जेरुसलेम दुई पक्षबीचको वार्ताको एउटा पेचिलो मुद्दा रहेको छ। प्यालेस्टीनीहरूले उक्त शहरको पूर्वी भागलाई आफ्नो देशको राजधानी बनाउन चाहन्छन्।

यसअघि नै ट्रम्प प्रशासनले राष्ट्रसंघीय सहायता निकाय यूएनआरडब्लुएलाई उपलब्ध गराउँदै आएको सहायता रकमको केही प्रतिशत रोक्का गरिसकेको छ।

त्यसक्रममा उसले अरू देशले पनि उक्त आर्थिक दायित्व बहन गरेको हेर्न चाहेको र राष्ट्रसंघीय निकायको सुधार हुनुपर्ने बताएको थियो।

तर अमेरिकी विदेशमन्त्रालयकी प्रवक्ताले प्यालेस्टाइनको शान्ति वार्तामा सहभागिताको विषयसँग राष्ट्रसंघीय निकायलाई अमेरिकाले दिने गरेको सहयोगको कुनै सम्बन्ध नहुने बताएकी छन्। बीबीसीबाट