बर्दियामा युवकको हत्या: हत्यारालाई राजनीतिक संरक्षण दिन खोजेको पीडित परिवारको आरोप

प्रहरीले सुरक्षा ग्यारेन्टी दिनुपर्ने माग

बर्दिया । ठाकुरबाबा नगरपालिकाका २ पेरहनीका १७ बर्षिय युवा बालकृष्ण आचार्य बुधबार मृत अवस्थामा फेला परेका छन् ।

गोप्य श्रोतले दिएको सूचनाका आधारमा ति युवाको शव पेरहनीस्थित खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

गत सोमबार छिमेकी गाउँमा विवाह हेर्न साथीसँगै घरबाट निस्केका आचार्य दुई दिनसम्म घर नफर्केपछि हिजो प्रहरीमा जाहेरी दिएका थिए ।

पारिवारीक श्रोतका अनुसार मृतक बालकृष्णले कुनै प्रकारको नसालु पदार्थ सेवन नगर्ने र व्यक्तिगत रूपमा कसैसँग दुस्मनी समेत नभएको बुझिएको छ ।

मृतक बालकृष्णका बुवा देवीराम आचार्य नेकपा क्रान्तिकारी माओवादी बर्दिया जिल्ला सदस्य हुन् । आचार्य देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट भर्खरै सम्पन्न प्रदेशसभा निर्वाचनमा समानुपातिकका उम्मेदवार थिए ।

आचार्यले हरपल नेपालसँग छोराको मृत्युबारे दुख सुनाउँदै त्यो घटना राजनीतिक आडका आधारमा भएको हुनसक्ने बताए । उनले निर्वाचनको समयमा समेत आफुलाई बिभिन्न रूपमा धम्कि आएको र छोराको हत्याले आफुलाई धेरै खाले शंका उत्पन्न गराएको बताए ।

उनले भने-‘यो घटना नियोजित हो, गाउँमा गुण्डागिरी बढेको थाहा हुदाहुदै पनि प्रहरीले कार्वाही नगरेकाले यस्ता घटनाहरू घटिरहेका छन । हामीलाई न्याय चाहियो ।’

पारिवारीक श्रोतका अनुसार स्थानीय केही युवाहरूले मृतकलाई घाईते बनाएको फोटोहरू खुल्लम खुल्ला देखाउदै त्रसित गराएका थिए, उनीलाई राजनीतिक संरक्षण दिइएको उनीहरूको आरोप छ ।

प्रहरीले भन्छ अपराधिलाई कार्वाही गर्छौ

मृतकको शव अनुसन्धानका लागि उठाउने विषयमा मृतकका आफन्त र प्रहरीका बीचमा हिजोसाझँ केहीबेर भनाभनको अवस्था समेत उत्पन्न भएको थियो ।

पीडित परिवारजनले अपराधिहरूले दिउसै हतियार प्रहार गरी ज्यान मार्ने काम गरेर ठाडो रूपमा सुरक्षा चुनौती दिदा पनि प्रहरी सजग नभएकाले स्थानीय प्रशासनले भविष्यमा त्यस्ता घटना रोक्ने प्रतिवद्धता गर्नुपर्ने माग गरेका थिए ।

उनीहरूले निश्पक्ष रूपमा घटनाको अनुसन्धान गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति, नागरीकलाई सुरक्षाको ग्यारेन्टी र हत्यारालाई कडा कार्वाहीको माग गरेका छन ।

पीडित परिवारसँग कुरा गर्दै अनुसन्धान प्रहरी अधिकृत हेमबहादुर शाहीले अपराधी प्रहरीबाट भाग्न नसक्ने र कडा कार्वाही गरिने भन्दै विश्वास दिलाएका थिए ।

इलाका प्रहरी कार्यालय भुरिगाउका इनिस्पेक्टर प्रेम क्षेत्रीले हरपल नेपालसँग कुरा गर्दै भने-‘हामी अपराधमा संलग्नहरूको अनुसन्धान गरिरहेका छौ । अहिलेसम्म एक दर्जन बढीलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।’