खर काट्न गएका महिलामाथी गैंडा आक्रमणः चार घाईते, एकको अवस्था गम्भीर

घाईतेलाई उपचारको लागि धनगढी रिफर

कञ्चनपुर । कञ्चनपुर जिल्ला अन्तर्गतपर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको बेला गैंडाले आक्रमण गर्दा बेलडाँडी गाउँपालिकाका ४ जना महिलाहरु घाइते भएका छन ।

राष्ट्रिय निकुञ्जले शुक्रवारदेखि आइतवारसम्म खरकाट्नेहरुका लागि खुला जंगल खुल्ला गरेको अवस्थामा ति महिलाहरुमाथी गैडाले आक्रमण गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले प्रत्येक बर्ष खर काट्ने अनुमती दिने गरेको छ ।

गैडाको आक्रमणबाट बेलडाँडी गाउँपालिका २ बस्ने ३७ बर्षीय सिता उपाध्याय, ६० बर्षीय दुर्गा देवी उपाध्याय, ३८ बर्षीय सरस्वती सावद र ३३ बर्षीय सुशिला उपाध्याय घाईते भएका हुन ।

स्थानीय बेलडाँडी गाउँपालिका कालिकिच वन उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर थापाका अनुसार घाईतेहरुको अहिले बेलडाँडी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।घाईते मध्ये सरस्वती सावदको अवस्था गम्भिर रहेको बताइएको छ ।

निकुञ्ज भित्र आगो लगाएको हुँदा र जनमानसको कोलाहले आत्तिएर भाग्न लागेको गैडाले भाग्ने क्रममा आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।