महोत्तरीमा देजमोको अभियान टोलीद्धारा पत्रकारहरुसँग भेटघाट (भिडियोसहित)

रुपान्तरका पक्षमा कलम चलाउनु पर्नेमा जोड

महोत्तरी । देशव्यापी मेची महाकाली अभिनयाको क्रममा रहेको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको हिजो साँझ धनुषाबाट महोत्तरी पुगेको टोलीले जलेश्वरमा आज पत्रकारहरुसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

देशभक्त जनगणतान्त्रीक मोर्चा नेलालले महोत्तरीको जलेश्वर स्थित नेपाल पत्रकार महासंघको सभाहलमा उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सरकार राष्ट्रघात, जनघातको दिशामा अघि बढेको बताए ।

मोर्चाका अध्यक्ष गजुरेलले मुलुकमा बढ्दो मंहगी, कर, सामाजिक अपराध र भ्रष्टाचारका घटनाहरुले उसको वास्तविकता राम्ररी प्रदर्शन गरेको उनको भनाई थियो । उनले सरकार भष्टाचारीहरुको संरक्षणमा देखिएको समेत बताए ।

त्यस्तै उनले सीमा क्षेत्रमा भारतीय पक्षबाट अतिक्रमण भैरहेको र त्यहाँ देखिएको समस्यामा राज्य मौन देखिएको भन्दै राष्ट्रियता खतरामा रहेको तर्क गरे । उनले संघीयताको नाममा ल्याइएको लोकतान्त्रीक गणतन्त्र नेपाली नागरिकको माग नभएको बताए ।

उनले भने–‘हामीले जनयुद्ध र जनआन्दोलनमा जनताको हक, हित र अधिकारको सुनिश्चितता हुने गणतन्त्र मागेका थियौं, जनताले त्यहि मागेका थिए, तर अहिले जनघात गर्ने व्यवस्था आएको छ, यो नक्कली गणतन्त्र हो , हाम्रो माग संघीय जनगणतन्त्र हो । त्यसकै लागि हामी संघर्षमा छौ ।’

उनले मधेशवादी दलहरु पनि अन्त्यमा मधेसका आम जनताको विरुद्धमा बोल्ने र हेपाहा प्रकृतिको ओली सरकारलाई भित्रबाट र बाहिरबाट सघाउादै आएको भन्दै उनीहरुबाट जनताको मुक्तिको अपेक्षा पुरा गर्न नसक्ने ठोकुवा गरें ।

उनले ओली सरकार र वर्तमान संसदीय व्यवस्था प्रति जनताको आक्रोस बढ्दै गएको बताए । उनले आफ्नो पार्टीको लडाई व्यवस्था परिवर्तको लागि भएकाले अब व्यवस्थाबाट आजित बनेका जनताको साथ, समर्थन बटुल्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि सडक आन्दोलन गर्ने उनले उद्घोष गरे ।

उक्त कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । पत्रकारहरुकाले सोधेका विभिन्न प्रश्नको उत्तर दिदैँ नेता गजुरेले नेपालमा तत्कालीन अवस्थामा चीनमा आएको जनगणतन्त्रको मोडेको व्यवस्था आवश्यक रहेको बताए । उनले जनगणतन्त्रबाट मात्र जनताका हक, अधिकारको सुनिश्चितता गर्दै मुलुकको विकास र सवृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

पत्रकारहरुले तराईमा आन्दोलनरत विभिन्न समूहहरुले चलाएको आन्दोलनलाई हर्ने दृष्टिकोणको विषयमा समेत जिज्ञासा राखेका थिए ।

नेता गजुरेलले डा सीको राउतले उठाएको राष्ट्रिय विखडनको मुद्धामा आफुहरु असहत रहेको बताए । तर जनताको हक, अधिकारको लागि अन्य समूहले गर्ने राजनीतिक चरित्रका जायज मुद्धामा भने समर्थन हुने बताए ।

आफ्नो पार्टीले मालेमावादी विचारको बोकेको र त्यो विचार, सिद्धान्त बोक्ने अहिले नेपालमा आफ्नो पार्टी मात्र रहेको उनले पत्रकारहरुसँगको सवाल जवाफमा बताए । उनले आफ्नो पार्टी सानो भएपनि जनतामा समस्या र मुद्धामा रहेकाले त्यो ठूलो हुने विश्वास व्यक्त गरे ।

उनले पत्रकारहरु परिवर्तनका पक्षधर हुने भन्दै परिवर्तन र रुपान्तरणका लागि कलम चलाउन आग्रह गरें । उनले चैत्र २४ गते काठमाडौंमा आयोजना हुन लागेको तेश्रो जनआन्दोनमा मिडियाकर्मिहरुले समेत आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टि प्रवकता हरीभक्त कडेंल प्रतिक, पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर दुईका सेक्रेटरी कृष्णसिंह दनुवार, पोलिट व्यूरो तथा देजमो प्रदेश नम्बर दुईका संयोजक कमल चौधरी, मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष विरेन्द्र यादव लगाएतको उपस्थिति रहेको थियो ।