अब मतगणनामा एक जनामात्र प्रतिनिधि

काठमाडौं । निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो ।

यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी प्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, सङ्ख्या तोकिएको थिएन ।

मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना नसकिँदै सरकारले संसद््मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

विधेयकको व्यवस्था अनुसार मतगणनाका क्रममा उम्मेदवारको एकभन्दा बढी प्रतिनिधि मतगणना स्थानमा बस्न पाउने छैनन् । सरकारका तर्फबाट गृह मन्त्रालयले मङ्गलबार संसद्मा दर्ता गरेको विधेयकमा मतगणना स्थलमा निर्वाचन अधिकृतले स्वीकृति दिने व्यक्तिको सङ्ख्या समेत तोकेको छ ।

विधेयक अनुसार मतगणना स्थानमा उम्मेदवार वा उम्मेदवारले तोकेको एक जना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि मात्र जान पाउनेछन् । समानुपातिक तर्फको मतगणनामा पनि दलको निर्वाचन प्रतिनिधि वा मत गणना प्रतिनिधि मात्र जान पाउनेछन् ।

मत गणनाको काममा खटिएका व्यक्ति, आयोगबाट अनुगमनका लागि खटिएका व्यक्ति, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, सुरक्षार्थ खटिएका कर्मचारी र आयोगले खटाएको व्यक्तिमात्र मतगणना स्थानमा जान पाउनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।