बंगलादेशको सयौँ वर्ष पुरानो ऐतिहासिक नगरमा आगलागीः ७८ जनाको मृत्यु

अनुमान: रासायनिक पदार्थ राखिएको भवनबाट आगो सुरू

बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित ऐतिहासिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने र पिडितहरूको उद्धार गर्ने कार्य १५ घण्टापछि अन्त्य भएको अधिकारीहरूले घोषणा गरेका छन्।

ढाकाको चौकबजारस्थित पुरानो इलाकामा भएको आगलागीको घटनामा कम्तीमा ७८ को ज्यान गएको अधिकारीहरूले बताएका छन्।

गएराती उक्त क्षेत्रस्थित एउटा भवनको भुँइतलामा राखिएको प्रज्वलनशील पदार्थका कारण आगलागीको घटना हुन पुगेको अनुमान गरिएको छ।

बुधबार स्थानीय समय अनुसार राती ११ः ४० बजे अधिकांश मानिसहरू सुतिरहेका बेला उक्त भवनमा आगो लागेको थियो।

अधिकारीहरूले आगो रासायनिक पदार्थ राखिएको भवनको भुँइतलाबाट आगो सुरू भएको अनुमान गरेका छन्।त्यसपछि संगैका अन्य तीन वटा भवनमा आगो सल्किएको थियो।

प्रत्यक्षदर्शी र प्रहरीले ग्यास विष्फोट भएपछि आगो झनै फैलिएको बताएका छन्। आगलागीको घटनामा परि ज्यान गुमाउनेहरूमध्ये एउटा विवाह भोजमा सहभागी मानिसहरू पनि रहेको ठानिएको छ।

सयौँ वर्ष पुरानो मानिने ढाकास्थित चोकबजार क्षेत्रमा सडकहरू साँघुरा छन् र त्यहाँ घरहरूपनि एकअर्काको निकै नजिक रहेका छन्।

चोकबजारमा श्रृंगारका सामग्री बेच्ने मोहम्मद फिरोजले उनका २५ जना जति साथी र आफन्तजनहरू हराइरहको बताएका छन्।

उनले बिजुलीको ट्रान्फर्मर पड्किएपछि, त्यसको मुनि पार्किङ गरेर राखिएको एउटा मिनिबसमा आगो लागेको देखेको बताए। उनले त्यसपछि ग्यास सिलिण्डर विष्फोट भएपछि नजिकैको पसलमा आगो सल्किएको बताए।

आगलागीमा परेर ज्यान गुमाएका अधिकांश मानिसहरूको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताइएको छ।
साँघुरो बाटो र पानीको अभावका कारण आगो नियन्त्रणमा लिन अग्नीनियन्त्रकहरूलाई पाँच घण्टाभन्दा बढी समय लागेको थियो।

प्रधानमन्त्री शेख हसिनाले आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन्। उनले मृतकहरूप्रति समवेदना पनि प्रकट गरेकी छन्।

सघन जनसंख्या रहेको बांग्लादेशमा ठूला भवनहरूमा आगलागीका घटनाहरू धेरैजसो भैरहेको देखिन्छ, त्यसकालागि अग्नी सुरक्षा सम्बन्धी नियमहरू फितलो हुनु र भवनहरुको सुरक्षा अवस्था पनि कमजोर हुनु मुख्य कारण हुनसक्ने ठानिन्छ।

हालैका वर्षहरूमा आगलागीका दुर्घटनाहरूमा सयौ मानिसहरूको ज्यान गैसकेको छ। आइतबारमात्रै तटीय शहर चटगाउँको एउटा झुप्रो बस्तीमा लागेको आगोका कारण कम्तीमा नौ जना मानिस मारिएका थिए। बीबीसीबाट